PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

समानताको स्वर र असमानताको जीवन : सन्दर्भ नारायणगोपाल स्मृति दिवस



पहिलोपोस्ट

समानताको स्वर र असमानताको जीवन : सन्दर्भ नारायणगोपाल स्मृति दिवस

नेपाली सुगम संगीतमा नारायण गोपालले गाउन प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खर दशवर्ष पुगेको थियो।

दशवर्षे रेडियोमा आफ्ना साथी माणिकरत्न स्थापित र प्रेमध्वजको संगीतमा गीत गाएर स्वर परिक्षामा उत्रेका गायक नारायण गोपालले पाँचवर्षभित्र रेडियो नेपालका एक स्तम्भ बन्ने सौभाग्य हासिल गरे। उनी कम समयमा रेडियो नेपालका चर्चित गायक र संगीतकार नै भए। उनले आफ्नो संगीतमा गाएका गीतले नै उनलाई नाप्न नसकिने प्रसिद्धि दियो जसका हकदार उनी स्वयम् थिए। तर उनको ख्यातिको पहिलो अंश उनका गीतकार रत्नशम्सेर थापा, उनका सहगायक र सहगायिका तारादेवी र दिलमायालाई पनि जान्छ।

नारायण गोपालले शुरुमा गायक भएर त्यसपछि नायक भएर र पछिल्लो वा अन्तिम चरणमा सहायक भएर गाउन थालेको इतिहास इन्छ नारायण गोपालको शुरुवती गायन नारायण गोपालले पहिलोपटक त्रिचन्द्र कलेजको चालीसौँ बार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरुका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भो। काठमाडौं किलागलमा जन्मेका गायक नारायण गोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए।

नजिकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानको संगीतमा धेरै हिन्दी गीतमा स्वराभ्यास गरे। तलत महमुद र के एल सहगललाई अति मनपराउने नारायण गोपाल अनि करण देवानलाई मनपराउने माणिकरत्न स्थापित र मन्ना डेको गीत गाएर स्वर परीक्षामा उत्रेको प्रेमध्वज बीच मोतालमेला संगीतकै कारण शुरु भयो र तीनैजना माणिकरत्नको घरमा आएर संगीताभ्यास गर्न थाले।

माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायण गोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे।

प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए।त्यसैले नारायण गोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो। उनले आफ्नै संगीतमा छओटा गीत तयार पारे।ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए। उनले त्यस संकलनमा चारओटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल–बिछोडको पिडा र ए कान्छा ठट्टैमा यो बैंश जान ) गाए। यी गीतका सम्पूर्ण रेकर्डिङभारतको कोलकतामा सम्पन्न भयो। त्यसपछि यी गीतले बिस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे।

राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले बिस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई जंगलभरिका औंलाहरुले चुमुन्’ जस्ता गीत गाए। यी गीतले नारायण गोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासित परिचित गरायो।

उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तनको स्वर ल्याए।उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा आक्कासिँदै गयो।

नेपाली संगीतमाजम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसित स्पर्श गर्दैनारायण गोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसित विचारविमर्श गर्न थाले।

यसै क्रममा उनको भारतको पश्चिम बंगालस्थित पहाडी राज्य दार्जिलिङको भ्रमण भयो।बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जिलिङबाट दुई कुरा पाए-पहिलो, उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रुपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगीतकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए। गोपाल योञ्जनसितको मितेरी साइनोपछि उनको गायनमा स्वतः परिवर्तन आएको कुरा पछि उनका पत्नी पेमाला गुरुवाचार्यले स्वीकारेकी छिन्।

नारायण गोपाललाई मीत लगाइदिने ईश्वरवल्लभको भाषामा नारायण गोपाल त्यसपछि नेपाली हृदयका गायक भए। उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, वियोगका र विरहका गीत गाउन थाले। उनी यस समय साँच्चै नेपाली संगीतमा नायक भएर देखापरे।

बीसको दशकमा नेपाली सुगम संगीत स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो। यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो। यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो। यसलाई जित्न वा छोप्न नेपाली गीतिजगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो।

यही क्रममा नारायण गोपालले गोपाल योञ्जनसित मिलेरअसाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए। बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले गोपाल योञ्जनलाई नयाँ जीवन दियो भने नारायण गोपालले नेपाली सुगम संगीतमा एउटा बिशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे।

उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे। यही समय उनी हरेक संगीतकार प्रिय गायक भए। त्यतिबेला उनले युग बनिसकेका संगीतकार नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे। उनलाई चेतनाका गायक पनि भन्न थालियो।

बीसको दशकमै उनले आफ्ना प्रशंसिका पेमालासित विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो।यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसित र हेटौँडामा गीतकार संगीतकार भीम विरागसित उठबस शुरु भयो। यसको परिणाम उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए।भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए।

प्रेम विवाहपछि नारायण गोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मीतज्यू गोपाल योञ्जनलाई जान्छ। यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन।
नारायण गोपाल परिवर्तनको संघारमा

हेटौँडाको छोटो बसाइपछि नारायण गोपाल काठमाडौंआए र जागिरे भए नाचघरमा- आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले। नाचघर पस्दा उनी वाद्यवादकका रुपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरु गुमाए वा उनले बिस्तारै आफ्ना सहकर्मी, साथीहरुलाई छोड्दै गए। त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धि, सफलता र उनीसित हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो।

उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए। उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरुमाणिकरत्नसित बोलचाल बन्दको अवस्था बन्न पुग्यो। उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसित पनि दुरी बढाए। आफ्ना मीत गोपाल योञ्जनको विवाह पछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन
आयो।

उनी एक्कासि परिवर्तनको नयाँ सँघारमा पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासित भेट भयो। त्यसमध्ये दिव्य खालिङसित उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, विपना नभइजस्ता गीतले उनलाई पुनर्स्थापित हुने मौका दियो। यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकुर्‍यलसित उठबस शुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए।

संगीतकारमा नयाँ पुस्तामा शम्भुजित बास्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे। यस ख्यातिको समय नारायण गोपालको गायनको मूल्याँकन गर्दा उनी यतिबेला संगीतजगतमा स्थापित हुने चाहने नयाँ पुस्ताका सहायक मात्र बन्न पुगेको पनि देखिन्छ। उनले धेरै युवा पुस्तालाई जगदिन कमजोर गीत पनि गाए भन्न सकिन्छ। त्यसमध्ये रञ्जित गजमेरको वीरताको चिनो, पहाडको माथि–माथि जस्ता गीतबाट उनले आफ्नो लागि भन्दा अरुका लागि जग बनाइदिए। यो समय उनी सहायक भएर देखा परेको बुझिन्छ।

अन्ततः नेपाली संगीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व नारायण गोपालले चलचित्रमा परिवर्तनमा भी बलसाराको संगीतमा गाउन शुरु गरेर अन्तिममा चोट चलचित्रमा भूपेन्द्र रायमाझीको संगीतमा विरही माया अधूरो भयो सम्म गाएर आफ्नो सफल यात्रा तय गरे।

कुल मिलाएर अठ्ठाईसवर्षको निरन्तर गायनमा नारायण गोपालले डेढ दर्जन चलचित्रमा गाए भने एकसय ५७ ओटा गीत गाए। उनले आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिकाको गीत बनाए।

सफल गायक मानिने नारायण गोपालको जीवनमा असफलता लश्कर पनि थिए। उनी पहिलोपटक स्वरपरीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए। चलचित्र माइतीघरमा पाश्र्वगायकको रुपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए। चलचित्र कोसेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गाउन छोडिदिए। उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारबाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए। यसको दाग उनलाई जीवनभर लागिरह्यो।

चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायण गोपाल इतिहासका ज्ञाता थिए। फुटबल खेलका पारखी थिए। चेसका खेलाडी थिए। उनी भान्सामा कुशल भान्से थिए। र, शौखिन फोटोग्राफर थिए। उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे। उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स,साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना पूरा खटे। उनले आफैं सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे।

यी सबै इविवृत्त बाहेक नारायण गोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पंक्ति छ, नारायण गोपालको।उनी भन्थे, म गाउँछु केवल जनताको लागि गाउँछु।

लेख सायमीको ब्लगबाट साभार गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell