PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'नेतालाई किन गुण्डाहरुको मामा बनायौ?'



'नेतालाई किन गुण्डाहरुको मामा बनायौ?'

गाईजात्रा विशेषः हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ईश्वरलाई आरती गर्न नयाँ भजन बनाएका छन्। मह जोडी भजन गाउँदा 'रघुपति राघव राजाराम' जस्तो गुणगानमात्र हैन, त्योसँगै थोरै गुनासो पनि गर्न थालेका छन्। भन्छन्, 'ईश्वर तिमीले सुन बनायौ, चाँदी बनायौ, तामा बनायौ, तर नेपालको नेतालाई किन गुण्डाहरुको मामा बनायौ ?' 

नेता नभएर नेपाल गरीब भएको र दाजुभाइ अरबमा जानु परेकोमा महजोडीले ईश्वरलाई यसरी गुनासो गरेका छन्- नेपालमै काम पाए, अरबमा को पो जान्थ्यो। आमाबाउको काखमै बसी, हाँसी हाँसी खान्थ्यो। एउटा राम्रो नेता द्या भए, तिम्रो के पो जान्थ्यो ?

 

ईश्वर तिमीले जगत बनायौ
चन्द्र बनायौ,सूर्य बनायौ
यति सुन्दर पृथ्वी बनायौ
पृथ्वीमै राम्रो नेपाल बनायौ
यही नेपालमा हिमाल खन्यायौ 
पहाड खन्यायौ, तराई खन्यायौ
एउटा राम्रो नेता दिनलाई 
किन तिमीले टाउको कन्यायौ ?

एउटा राम्रो नेता दिएको भए
नेपाल राम्रो हुन्थ्यो
नेपाल धनी भा भए हाम्रो
नाकै कत्रो हुन्थ्यो
काँक्रो जत्रो हुन्थ्यो
लौका जत्रो हुन्थ्यो
नेपालमै काम पाए
अरबमा को पो जान्थ्यो 
आमाबाउको काखमै बसी
हाँसी हाँसी खान्थ्यो 
एउटा राम्रो नेता द्या भए
तिम्रो के पो जान्थ्यो ?

ईश्वर तिमीले सुन बनायौ
चाँदी बनायौ, तामा बनायौ
तर नेपालको नेतालाई किन
गुण्डाहरुको मामा बनायौ ?
भात खानलाई चामल बनायौ
रोटी खान गहुँ
एउटा राम्रो नेता खोज्ने
तीन करोड हामी छौँ
ढिँडो खान मकै बनायौ
तेल पेल्नलाई तोरी
देश बिग्रेर रोइरहेका छौँ
तिम्रा छोराछोरी

ईश्वर तिमीले आगो बनायौ
हावा बनायौ, पानी बनायौ
नेपालका ब्युरोक्रेट्सलाई
किन घुस खाने बनायौ ?
उसिनेर खान आलु बनायौ
भुटेर खान भटमास बनायौ
नेपाल हाँक्ने ड्राइभरहरुलाई 
किन तिमीले बदमास बनायौ ?

ईश्वर तिमीले रगत बनायौ
मासु बनायौ हड्डी बनायौ
नेपालको राजनीतिलाई
किन तिमीले रद्दी बनायौ ?

ईश्वर तिमीले रुख बनायौ
हाङ्गा बनायौ डाँठ बनायौ
नेपालको टाउकेहरुलाई
किन तिमीले स्वाँठ बनायौ ?

ईश्वर तिमीले नाक बनायौ
निधार बनायौ खप्पर बनायौ
नेपालका टाउकेहरुको
खप्परमा किन गोबर खन्यायौ ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell