PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​के हो ब्याटल अफ मोसुल? फेसबुकमा लाइभ कभरेज भएको पहिलो युद्धबारे जान्नै पर्ने तथ्य



​के हो ब्याटल अफ मोसुल? फेसबुकमा लाइभ कभरेज भएको पहिलो युद्धबारे जान्नै पर्ने तथ्य

अहिले अन्तर्राष्ट्रिय जगतमा मोसुल शहरको धेरै चर्चा भइरहेको छ। अघिल्लो हप्ताको आइतबारदेखि इराकको मोसुल शहरमा ‘ब्याटल अफ मोसुल’ सुरु भएको छ।

दुई वर्षअघि इस्लामिक स्टेट (आईएस)ले कब्जामा लिएको मोसुल शहर आईएसबाट मुक्त गराई पुनः इराकमा फर्काउने तयारीका रुपमा ‘ब्याटल अफ मोसुल’ सुरु भएको हो।

मोसुलबाट इस्लामिक स्टेटलाई हटाउन इराक लागि परेको छ। यसमा लागि इराकले इराकी कुर्दिस र अमेरिकी सुरक्षा फोर्ससँग सहयोग लिएको छ। एकातर्फ तीन पक्ष मिलेको छ भने अर्कोतर्फ आईएस एकल रुपमा भिडिरहेको छ।

सन् २०१४ जुन १० मा यस शहरलाई इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्टले आफ्नो अधिनमा लिएको थियो। त्यसैलाई इराकमा फिर्ता गर्न यी तीन पक्ष एक भएर लागिपरेका हुन्। 

कता छ मोसुल?

इराकको उत्तरी क्षेत्रस्थित निनेभ प्रान्तमा टिग्रिस नदीको किनारमा रहेको शहर हो मोसुल। मोसुल इराकको दोस्रो ठूलो शहर हो जहाँ करिब २० लाख जनसंख्या रहेको छ।

विभिन्न जाति समूहका मानिस बसोबास गर्ने भए पनि सबैभन्दा बढी सुन्नी अरब र कुर्दहरु रहेका छन्। ब्याटल अफ मोसुल सुरु हुनु अघि उक्त शहरमा करिब १० लाख जनसंख्या रहेको अनुमान गरिएको थियो।

मोसुल उत्तरी इराकको मुख्य औद्योगिक शहर हो, जहाँबाट टर्की र सिरियाबाट आएका सामानहरु ट्रान्सपोर्ट गर्ने गरिन्छ।

यस नजिकै महत्वपूर्ण तेल खानीहरु रहेका छन् भने टर्कीमा लैजाने तेल पाइपलाइन पनि नजिकै छ।

आईएसले सन् २०१४ मा इराकी सुरक्षा फौज हटेको केही दिनपछि नै आश्चर्यजनक रुपमा मोसुल शहर कब्जामा लिएको थियो।


कहिलेदेखि सुरु भयो मोसुल ब्याटल ?

मोसुललाई इराकमै फिर्ता गर्ने अभियान सन् २०१६ अक्टोबर १६ देखि सुरु भएको हो। इराक, इराकी कुर्दिस्तान र विभिन्न अन्तर्राष्ट्रिय सैनिक फौज यसमा लागि परेका छन्। उनीहरु आइएससँग भिडिरहेका छन्। यसैलाई ब्याटल अफ मोसुल नाम दिइएको हो।

दुई वर्ष अघि आईएसले मोसुल शहर कब्जा गरेपछि इराकको राजनीतिक स्थिरतामा ठुलो झड्का लागेको थियो। मोसुल आईएसले कब्जामा राखिराखेको इराकको अन्तिम शहर समेत हो।

टर्की र सिरिया जोड्ने मुख्य प्रान्तको रुपमा रहेको मोसुललाई फिर्ता गराउनु इराकको लागि निकै महत्वपूर्ण रहेको छ। यदि इराकले सफलता हात पारेको खण्डमा उत्तरी इराकमा आइएसको दुई वर्षको दबदबा अन्त्य हुनेछ।

इराकी सेनाले विगत दुई वर्षदेखि मोसुल शहर फिर्ता गर्नका लागि आईएससँगको ब्याटललाई महत्वका साथ लिएको थियो।

इराकी प्रधानमन्त्री हैदर अल अबावीले अक्टोबर १६ मा मोसुल शहर फिर्ता गर्नका लागि आईएस विरुद्को आक्रमण सुरु भएको घोषणा गरेका थिए।

त्यसपछि हरेक दिन दुवै पक्षबाट आक्रमण जारी छ। कहिले इराकी पक्षले आईएस पक्ष विद्रोहीलाई मारेका छन् भने कहिले आईएसले इराकी पक्षलाई मारेका छन्। यस्तै आईएस विद्रोहीले केही आत्मघाती आक्रमण समेत गरेको छ।

प्रधानमन्त्री अबावीले गत बिहीबार मोसुल आक्रमण सोचे भन्दा चाँडो अगाडी बढिरहेको बताएका थिए। यस्तै इराकी सेनाले मोसुलबाट १० माइल पूर्वमा रहेको बार्तेला शहर कब्जामा लिइसकेको बताएको छ। 

के छ तयारी ?

दुवै पक्षले मोसुल ब्याटलका लागि आवश्यक सैनिक फोर्स परिचालन गरेका छन्। मोसुलमा आइएससँग भिड्नका लागि अमेरिकी सेनाबाट प्रशिक्षण लिएका इराकी र इराकी कुर्दिसको सेकुरिटी फोर्स करिब २५ हजारको संख्यामा रहेको अनुमान गरिएको छ। अमेरिकी सञ्चार माध्यम सिएनएनले जनाए अनुसार इराकी फोर्ससँग करिब ९४ हजार फोर्स छ।

यस्तै मोसुल शहर इराकमा फिर्ता गर्न करिब ६ हजार इराकी पुलिसलाई समेत तयारी अवस्थामा राखिएको छ।

यस्तै अमेरिकी रक्षा मन्त्रालयले करिब ३ देखि ५ हजारको संख्यामा आइएस लडाकु रहेको उल्लेख गरेको छ।


फेसबुकमा लाइभ कभरेज

अल जजिरा, च्यानल ४ लगायत अन्तर्राष्ट्रिय मिडियाले युद्धको पहिलो दिनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा लाइभ कभरेज गरेका थिए। फेसबुकमा वारको लाइभ कभरेज गरिएको यो पहिलो पटक हो। सद्दाम हुसेनको इराकले कुवेतमा सन् ९० मा आक्रमण गर्दा सिएनएनले टेलिभिजनमा लाइभ कभरेज दिएको थियो। यस पटक भने सामाजिक सञ्जालमा युद्धको लाइभ कभरेज भएको हो।

यस्तै युट्युव र पेरिस्कोभमा समेत लाइभ फुटेजको कभरेज गरिएको छ।

इराकी र कुर्दिस अफिसियलहरु समेत ह्यासट्याग फ्रिमोसुल प्रयोग गर्दै सामाजिक सञ्जालमा जोडिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell