PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​महाभियोगका प्रस्तावकलाई आयो लोकमानलाई सेफ ल्यान्डिङ खोजिदिन प्रस्ताव



मनोज सत्याल

​महाभियोगका प्रस्तावकलाई आयो लोकमानलाई सेफ ल्यान्डिङ खोजिदिन प्रस्ताव

काठमाडौँ : गएको बुधबार कार्यालय समय सकिनु १५ मिनेट अघि गुपचुप दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रस्तावका प्रस्तावक हुन् माओवादी सांसद महेन्द्रबहादुर शाही।

आफ्नै पार्टीका अध्यक्षलाई समेत थाहा नदिई छापामार शैलिमा दर्ता गरिएको प्रस्तावबारे संसद् परिसरमा सञ्चारकर्मीहरुसँग शाहीले आइतबार प्रष्ट पारे।  

आजकै बैठकमा उनले यो प्रस्तावको सूचना पेश गरेपछि सभामुखले आगामी मंगलबारबाट यसमा सैद्धान्तिक छलफल हुने मिति तोकिसकेकी छिन्। 

किन अपनाइयो त छापामार शैलि? शाही भन्छन्, ‘यसरी अचानक गर्दा त सहमति जुटाउन यत्रो गाह्रो भइरहेको छ। दबाबका बावजुद कांग्रेसले निर्णय गर्न सकिरहेको छैन।‘ 

अध्यक्षलाई नै जानकारी नदिई किन गर्नुभयो त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘अध्यक्षको सबैलाई सहमतिमा ल्याएर गर्नुपर्ने धारणा थियो जुन सम्भव थिएन।‘

सहमति खोज्ने प्रयास गरेको भए महाभियोग प्रस्ताव ल्याउनै नसकिने उनको जिकिर छ। 

आजको संसद बैठकपछि बाहिरिँदै प्रधानमन्त्री। 

कतिको दबाब भोग्नु परिरहेको छ त उनले? ज्यानको धम्की त आएको छैन? सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘मार्ने धम्की त नआउने कुरा हैन। ९ गतेसम्म मारे भने अर्कै हो।' बरु सेफ ल्यान्डिङ छ भने खोजिदिनुपर्यो भनेर आएका छन्।‘

‘मैले मान्दैन भनेर कतिले भन्न आउने आँट पनि गरेका छैनन्,’ उनको भनाई थियो। 

माओवादी लडाकुको शिविरमा भएको आर्थिक घोटालाको छानबिन अख्तियारले थालेको भएर महाभियोग प्रस्ताव नल्याएको उनको जिकिर थियो।  ‘लडाकु शिविरको छानबिनमात्रै हैन महाभियोग लगाउने आधार’, उनले भने, ‘तर यहाँ लडाकु शिविरको छानबिन मात्रै कारण हो भन्ने भ्रम छ जसलाई हामीले चिर्न सकेका छैनौँ।‘

लोकमानले मुख्य मुख्य नेताहरुलाई मात्र अभियोग लगाएर जेल हाल्ने र उथलपुथल गराउने सम्भावना देखिएको उनले बताए।

सांसदहरुलाई झुक्याएर हस्ताक्षर गरेको भन्ने आरोपबारे उनले भने, ‘केका लागि हस्ताक्षर गरिएको भनेर त एमालेले पनि जानकारी दिएको थिएन नि। दिएको भए रोकिन्थ्यो।‘  

‘यो टेन्डर हालेको जस्तो हो’, उनले अगाडि भने। 

महाभियोग प्रस्ताव पारित नभए के हुन्छ त? उनले सहज उत्तर दिए ‘ठीक नभए बहुमतबाट खारेज हुन्छ। यो प्रस्ताव दबाबका लागि थियो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell