PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जर्मनीमा बस्दै आएका एक नेपालीले भूकम्पपीडितलाई घर बनाउन दिए २१ लाख



पहिलोपोस्ट

रत्ननगर (चितवन) : गोरखा भूकम्पले क्षति पुर्‍याएको चितवनको पहाडी गाविस कविलासका ७० परिवार भूकम्पपीडितलाई घर बनाउन एक व्यक्तिले आर्थिक सङ्कलन गरेर रु २१ लाख सहयोग गरेका छन्।
 
चितवन शुक्रनगर स्थायी घर भई जर्मनीमा बस्दै आएका चितवन समाज जर्मनीका अध्यक्ष यज्ञराज सुवेदीमार्फत यहाँका ७० घर भूकम्पपीडितलाई रु २१ लाख रुपैयाँ सहयोग प्राप्त भएको गाविसका सचिव प्रद्युम्न खड्काले जानकारी दिए।
 
सरकारबाट उपलब्ध भएको प्रतिपरिवार रु १५ हजार रकम र सुवेदीमार्फत आएको सहयोगबाट ट्रस्ट खडा गरेर यहाँका ७० भूकम्पपीडितको घर निर्माण गरिएको खड्काले बताए। 'प्रतिघर रु ४५ हजार सहयोग गरिए पनि बनाउन सक्नेले रु तीन लाखदेखि चार लाख लगानी गरेका छन्,' खड्काले भने, 'नसक्नेले सामान्य बारबेर गरेरै भए पनि नयाँ घर बनाएका छन्।'
 
उक्त गाविसमा भूकम्पका कारण १३५ घर पूर्ण क्षति भएका थिए। चितवनमा भूकम्पका कारण तीन हजार सात सय घर क्षति भएको तथ्याङ्क छ। सरकारले दिने भनेको अन्य रकम भने विभिन्न जिल्लामा वितरण हुँदा पनि चितवनमा कुनै प्रक्रिया सुरु हुन सकेको छैन।
 
सुवेदीले सङ्कलन गरेको प्रतिपरिवार रु ३० हजार र सरकारका तर्फबाट प्रतिपरिवार रु १५ हजारका दरले आएको रकमबाट घर निर्माण भएको हो। भूकम्पपीडितलाई अहिले ती घर हस्तान्तरणसमेत भइरहेको कविलास गाविसले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell