PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पर्साका लक्षुमणले हराए दुई भारतीय पहलमान



राधेश्याम पटेल

पर्साका लक्षुमणले हराए दुई भारतीय पहलमान

वीरगन्ज : कुस्ती निकै नै पुरानो र लोकप्रिय खेल हो। तराई मधेसमा यो खेलको रौनक र आकर्षण बेजोड छ। चाडपर्व तथा स्थानीय मेलाहरुमा कुस्ती खेल आायोजना भएन भने मेला भर्न आउनेकै संख्यामा कमी आउँछ।

यस्तै, मेला विजया दशमीको अवसर पारी मंगलबार पर्साको महुवनमा लाग्यो। र मेलामा भब्य कुस्ती प्रतियोगिता पनि। प्रतियोगिताको उद्घाटन संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवले गरे।

प्रतियोगितामा पर्साका पहलमानले दुई जना नामुद भारतीय पहलमानलाई पराजित गरे। भारत, विहार, पश्चिमी चम्पारण, सहोदराका रमेश यादव तथा वगहाका सुरेन्द्र यादवलाई पर्सा, मिर्जापुर गाविसका लक्षुमण यादव पहलमानले उनीहरुलाई पट्केका थिए।

कुस्ती प्रतियगोगिता उद्घाटन गर्दै उनले जोडदार भाषण पनि गरे। भाषणमा उनले नेपालमा खेलहरुको अवस्था पीडादायी भएको जिकिर गरे। राज्यको उपेक्षाको कारण देशमा खेल र खेलाडीहरुको अवस्था चिन्ताजनक बन्दै गएको उनले बताए।

लोकप्रिय भए पनि राज्यको उपेक्षाका कारण यो खेल समाप्त हुन लागेको छ। यसको खेलाडीहरु लेबर मजदुरको रुपमा भारत तथा विदेशिन थालेका छन्। आजको समयमा स्थानीयहरु छोरालाई पहलमान बनाउन चाहँदैनन्। कुस्तीको भविष्य ठीक छैन भनी उनीहरुले हाल कुस्ती खेलीरहेका खेलाडीहरुलाई अर्को पेशामा लाग्न सल्लाह दिन्छन्। 'खेलप्रति सरकारको रवैया नै ठीक भएन,' पर्सा गर्दौलका पहलमान सुनिल साहले भने।

सुनिल देश/विदेशमा कुस्ती खेल्न पुगेका छन् तर सफलता हात परेका छैन। उनले भने अनुसार अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न र विदेशमा खेल जित्न नेपाली कुस्तीवाजहरुलाई अहिले धेरै गर्न बाँकी रहेको उनको भनाइ छ।

नेता यादवले बारा, पर्साका कुस्ती खेलाडीहरु सार्क स्तरमा राम्रो प्रदर्शन गरे तापनि खेल र खेलाडीहरुको भविष्यको लागि सरकारी नीति ठीक नहुँदा धेरै खेल र खेलाडी हराइसकेको बताउँछन्। 'खेल भन्नेको राष्ट्रको गहना भएकाले खेल र खेलाडीलाई पहिलो प्राथमिकतामा राखी यसको जगेर्ना गर्नुपर्ने खेलाडीहरु बताउँछन्।

प्रतियोगिताको विशिष्ठ अतिथि एवम् जगदम्बा ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवालले विश्वमै प्रशिद्ध रहेको कुस्ती खेललाई सरकार तथा स्थानीय स्तरबाट जगेर्ना गर्नु आवश्यक रहेको घारणा राखेका थिए।

विजयी पहलमान लक्षुमणलाई प्रतियोगिताका प्रमुख अतिथि प्रदीप यादव र विशिष्ट अतिथि राजेश अग्रवालले पुरस्कृत गरेका थिए। महुवान मेला समितिले आयोजना गरेको कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका ३ दर्जन भन्दा बढी खेलाडीहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell