PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​साउदीमा रहेका नेपाली कामदार र कम्पनीबीच समझदारी, आन्दोलन रोकियो



​साउदीमा रहेका नेपाली कामदार र कम्पनीबीच समझदारी, आन्दोलन रोकियो

फलेवास (पर्वत): साउदी अरबमा काम गर्ने कम्पनीले तीन महिनादेखि पारिश्रमिक नदिएको भन्दै १४ दिनदेखि आन्दोलनरत नेपाली कामदारको आन्दोलन रोकिएको छ। साउदी अरबको हाप्को कम्पनी र आन्दोलित नेपाली कामदार युवाबीच सहमति भएपछि आन्दोलन रोकिएको हो। 

मङ्गलबार कम्पनी र आन्दोलित युवाको बीचमा निश्चित समयावधि पुगेका युवा घर फर्किने र तोकिएको समय नपुगेका युवा पारिश्रमिक बुझेर काममा फर्किने सहमति भएपछि आन्दोलन रोकिएको आन्दोलित युवा गोपाल पूर्जा मगरले जानकारी दिए। 

झन्डै तीन सय नेपाली युवाले कम्पनीले पारिश्रमिक पनि नदिएको र घर फर्कन पनि नदिएको भन्दै १४ दिनदेखि काम रोकेर आन्दोलन गरेका थिए। सबै नेपाली युवाले पारिश्रमिक बुझेर घर फर्किन पाउनुपर्ने माग राखे पनि कम्पनीले सबै घर फर्किएमा कुनै पनि वैदेशिक रोजगारमा फर्किन नमिल्ने गरी फर्काइदिने चेतावनी दिएपछि काम गरेको दुई वर्ष पुगेका कामदार फर्किने र दुई वर्ष नपुगेका कामदार काममा नै फर्किने सहमति भएको हो। 

यसरी आन्दोलित बनेका झन्डै तीनसय युवामध्ये ४३ जना दुई वर्ष पूरा गरेका नेपाली कामदार युवा पारिश्रमिकसहित घर फर्किने भएका छन् भने १० जना अपरझट बिदामा फर्किने भएका छन्। नेपाली कामदारको राहदानीसहित अकमा आईडी पनि कम्पनीले खोसेर राखेको थियो। 

म्याग्दीको दोवा घर भएका मगरले पर्वत, बागलुङ, म्याग्दीसहित विभिन्न जिल्लाका गरी तीनसय नेपाली कामदार समस्यामा परेको बताए। कम्पनीले विगतमा भएका कमी कमजोरीलाई सच्याएर अघिबढ्ने आश्वासन दिएपछि अन्य युवा कम्पनीमा नै काममा फर्किएको उनले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell