PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सिड्नीमा साहित्यकार बुद्धिसागर र पहिलोपोस्ट सम्पादकको अन्तर्क्रिया



पहिलोपोस्ट

सिड्नीमा साहित्यकार बुद्धिसागर र पहिलोपोस्ट सम्पादकको अन्तर्क्रिया

सिड्नी : प्रवासमा साहित्य सृजना र पत्रकारिताका विषयमा सिड्नीको दक्षिण कोग्रामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। 

अष्ट्रेलियाबाट प्रकाशन हुँदै आएको पाक्षिक पत्रिका 'नेपालीपत्र' र साहित्यिक अनलाइन 'साताको साहित्य'को संयुक्त आयोजनामा यो अन्तर्क्रिया कोग्रा स्कुल अफ आर्टमा आइतबार मध्यान्ह १२ देखि अपरान्ह ३ बजेसम्म चलेको थियो।

कार्यक्रमको मुख्य वक्ताको रुपमा उपन्यासकार यवं युवा साहित्यकार बुद्धिसागर र पहिलोपोस्टका सम्पादक उमेश श्रेष्ठ सहभागी थिए।
कार्यक्रममा साहित्यकार बुद्धिसागरले साहित्य सृजनाका क्रममा आफूले भोगेका अनुभवको साथै हलमा उपस्थित दर्शकले उपन्यास कर्णाली ब्लुज र फिरफिरेमाथि राखेका जिज्ञासाको जवाफ दिएका थिए। उनले रचना गर्भ, पात्र छनौट, आख्यानको विषय जस्ता विभिन्न प्रसंगहरूमा आफ्ना भनाईहरु राखेका थिए। अस्ट्रेलियामा सक्रिय साहित्यकार निस्प्रभ सजीले सहजिकरण गरेको अन्तरक्रियामा सहित्यकार बुद्धिसागरले कविता वाचन पनि गरेका थिए।

यसैगरी कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको इतिहासका विषयमा पत्रकार उमेश श्रेष्ठले प्रस्तुति दिएका थिए। उक्त अवसरमा पत्रकार श्रेष्ठले फेसबुक, युट्युब र ट्विटरभन्दा अघि शुरु भएको माइसंसारको उदाहरण दिँदै नेपालमा पत्रकारिता क्षेत्रको चुनौतिका बारेमा भनाइहरु राखेका थिए।

डायलअप इन्टरनेटमा रातभर खटेर अडियो तथा भिडियो ब्लगसमेत राखी पत्रकारितामा नयाँ प्रयोगको थालनी गरेका श्रेष्ठको भनाई थियो, 'धेरै कमाउन र पाउन नसके पनि मनभरी सन्तुष्टि कमाएको छु।  व्यवसायी सञ्जीव पाण्डेले पत्रकार श्रेष्ठसँगको अन्तर्क्रियालाई सहजिकरण गरेका थिए। 

कार्यक्रममा अमित श्रेष्ठले नेपालमा गएको विनाशकारी भूकम्पको सेरोफेरोमा लेखेको पुस्तक 'द फल्ट'को पनि विमोचन गरिएको थियो। नेपाली समुदायका अग्रज ब्यक्तित्वहरु पदम शाक्य, हर्ष गौतम, साहित्यकार बुद्धिसागर र पत्रकार उमेश श्रेष्ठले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका थिए।

अमेरिकाको बालबोआ पब्लिकेसनले प्रकाशन गरेको 'द फल्ट' उपन्यास विश्वका प्रचलित सबै अनलाइन आउटलेटहरुमा उपलब्ध रहेको कार्यक्रममा जानकारी दिइयो। कार्यक्रममा सिड्नीमा उपस्थित साहित्य र पत्रकारितामा रुचिराख्नेहरुको बाक्लो उपस्थिति थियो।  







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell