PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विदेशबाट एक नेपालीले वार्षिक सवा ५ लाख पठाउँछन्, कहाँ केमा हुन्छ खर्च?



पहिलोपोस्ट

विदेशबाट एक नेपालीले वार्षिक सवा ५ लाख पठाउँछन्, कहाँ केमा हुन्छ खर्च?

काठमाडौं : वैदेशिक रोजगारीमा गएका एक नेपाली नागरिकले वर्षमा कति रकम घर पठाउला?
 
नेपाल राष्ट्र बैंकले गरेको एक अनुसन्धान अनुसार एक कामदारले वार्षिक पाँच लाख ३२ हजार रुपैयाँ नेपाल पठाउने गरेको छ। उसले वर्षमा ६ देखि ७ पटकमा यति रकम नेपाल पठाउने गरेको अनुसन्धानमा देखिएको छ।
 
एक जनाले यति रकम घर पठाउँदा ९ हजार ४४ रुपैयाँ रेमिटेन्स कम्पनीलाई बुझाउने गरेको छ। रोजगारीमा गएका मध्ये ९०.९ प्रतिशतले बैंक तथा वित्तीय संस्था र रेमिटेन्स एजेन्सीबाट नेपाल पैसा पठाउँछन्।
 
५.९ प्रतिशतले अझै पनि हुण्डीबाटै घर पैसा उठाउँछन्। एक प्रतिशतले साथीभाइ तथा आफन्तमार्फत र २.२ प्रतिशतले बैंक तथा हुण्डी दुवैको प्रयोग गर्छन्।
 
वैदेशिक रोजगारीमा गएकाहरुले कमाएको मध्ये २५.३ प्रतिशत रकम ऋण तिर्न प्रयोग गर्छन्। २३.९ प्रतिशत रकम खाना तथा लत्ताकपडामा खर्च हुन्छ। ९.७ प्रतिशत रकम छोराछोरी शिक्षा तथा परिवारको स्वास्थ्य उपचारमा खर्च हुन्छ।
 
कमाएको मध्ये ३.५ प्रतिशत रकम विवाह तथा व्रतवन्त्र लगायतका सामाजिक काममा खर्च हुने गरेको छ। ३ प्रतिशत रकम सम्पति जोड्नका लागि प्रयोग हुन्छ भने २८ प्रतिशत रकम बचत हुने गरेको छ। बचत रकममध्ये १.१ प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ।
 
अहिले पनि वैदेशिक रोजगारीमा जानका लागि बैंकबाट ऋण लिनेको संख्या एकदमै कम छ। स्थानीय स्रोत तथा साहु महाजनबाट ऋण लिएर विदेश जानेको संख्या ५२.१ प्रतिशत छ। जम्मा ६.३ प्रतिशत मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर विदेश गएका छन्। बाँकी परिवारको बचतबाट वैदेशिक रोजगारीमा गएका छन्।
 
वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारमध्ये ६४.१ प्रतिशतको मात्र बैंकमा खाता छ। वैदेशिक रोजगारीमा गएकाहरुको खाता भने एकदमै कम छ। विदेश काम गर्न गएकामध्ये ३६.६ प्रतिशतसँग मात्र आफ्नो नाममा बैंक खाता छ।
 
वैदेशिक रोजगारीमा गएकाहरुमध्ये धेरैजसोले घरखेत किन्नका लागि बचत गर्ने गरेका छन्। बचत गर्दै आएकाहरु मध्ये ४८.८ प्रतिशतले त्यो रकम घरजग्गा खरीदमा प्रयोग गर्ने गरेका छन्। ३६.६ प्रतिशतले घर मर्मत गर्न बचत गरेका हुन्छन्।
 
३४.३ प्रतिशतको उद्देश्य भने छोराछोरीको शिक्षा तथा स्वास्थ्यका लागि बचत गरेका हुन्छन्। ऋण दिनका लागि समेत बचत गर्नेछन्। यस्तो संख्या १५ प्रतिशत छ। व्यापार व्यवसाय गर्नका लागि ८.४ प्रतिशतले बचत गरेका हुन्छन्।
 
वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ९९.४ प्रतिशतले राष्ट्र बैंकले निस्काशन गरेको वैदेशिक रोजगार बचतपत्र किनेका छैनन्। बचतपत्रको बारेमा जानकारी नै नभएको जनसंख्या ७३.६ प्रतिशत छ।
 
नेपाल राष्ट्र बैंकले देशभरका ३२० घरपरिवारको सर्वेक्षणका आधारमा यो निष्कर्ष बाहिर ल्याएको हो। झापा, सुनसरी, तेह्रथुम, खोटाङ, धनुषा, काठमाडौं, चितवन, कास्की, वाग्लुङ, गोरखा, रुपन्देही, दाङ, कालिकोट, बजुरा, कैलाली र बैतडीका घरहरु अध्ययनका लागि छानिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell