PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गाँठोकी नम्रता श्रेष्ठ : परिचित नामकी 'अपरिचित' हिरोइन



स्वेच्छा राउत

गाँठोकी नम्रता श्रेष्ठ : परिचित नामकी 'अपरिचित' हिरोइन

सानैदेखिको सपना हिरोइन बन्ने। टिभीमा देखिने। राम्री बन्ने। अनि नाच्ने। पहिलेपहिले उनलाई कसैले हिरोइन हौ? भनेर सोध्दा फुरुङ्ग हुन्थिन्। सोध्नुको कारण उनको नाचगानप्रतिको लगाव मात्र होइन नाम रहेछ।
 
नेपाली फिल्म क्षेत्रमा स्थापित हिरोइन नम्रता श्रेष्ठ। अनि हिरोइन बन्ने सपना बोकेकी नम्रताको नाम जुध्नु कुनैबेला उनका लागि रमाइलो प्रसङ्ग हुन्थ्यो। अहिले नम्रताको हिरोइन बन्ने सपना पूरा भयो। उनको फिल्मको पहिलो गाँठो फिल्म 'गाँठो' बाटै सुरु भयो। समस्या के भयो भने प्रमोसनको समय धेरैले उनलाई पुरानी नम्रता सम्झे। अर्थात् मेरो एउटा साथी छ, छड्के, नोभेम्बर रेन, क्लासिककी नम्रता।
 
अफ्ठ्यारो के भयो भने गाँठोको प्रचारमा हिड्दा कति दर्शकले मुख बिगार्दै भने - अर्कै नम्रता पो!

 
नम्रताले केही मलिन हुँदै भनिन्, 'पहिले त हिरोइनसँग नाम जुध्नु रमाइलो थियो। तर अहिले आफू नयाँ नम्रता श्रेष्ठ हुँ भनेर प्रष्ट्याउनु पर्दा अलि नराम्रो लाग्छ।'
 
सानैदेखि चुलबुले नम्रता टिभीमा हिरोइनहरु नाचेको देख्दा दङ्ग पर्थिन्। आफैलाई टिभीको स्क्रिनमा कल्पिएर रमाएको क्षण उनी थोरै धकाउँदै सुनाउँछिन्। भन्छिन्, 'म नक्कली थिएँ बच्चैदेखि। मेकअप गर्न पर्ने, लुगामा धेरै ध्यान दिन पर्ने। टिभीमा देखिन त्यस्तै बन्न पर्छ भन्ने थियो।'
 
परिवारमा कोही पनि फिल्म लाइनमा थिएनन्। अलि बुझ्ने भएपछि उनमा डर थियो कतै परिवारले आफ्नो सानैदेखि टिभीमा देखिने सपनालाई अस्वीकार गर्ने हुन् कि भन्ने। तर परिणाम उनले सोचेभन्दा ठीक उल्टो भयो। उनको बाबाआमा अनि तीन दिदीहरुले नम्रतालाई खुब सघाए। आमा अमेरिकामा तर छोरीलाई हिरोइन बनाउने होडले उनलाई पनि छोयो। त्यसैले फिल्म क्षेत्रमै काम गर्ने आफ्नी साथीलाई छोरीको फोटो पठाएर हिरोइन बनाइदिन आग्रह गरिन्।
 
आमाले आफ्नो फोटो पठाउने समयसम्म उनले धेरै हिन्दी नेपाली चलचित्र हेर्थिन्। केही हिरोइनहरुबाट प्रभावित पनि थिइन्। त्यसैले नम्रतालाई आफ्नो क्षमताबारे थाहा थियो। कति गर्न सक्छु भन्ने।

उनले आफूले सिक्न बाँकी भएको जनाउ दिँदै आमालाई भनिन्, 'मामु म अझै सिकेर आफै केही गर्न चाहान्छु।'
 
प्लस टुको पढाइ सक्किएपछि भने उनले सपनाको गाडीलाई कुदाउने अठोट गरिन्। त्यसैले हान्निइन् काठमाडौं। वीरगञ्जबाट हिरोइन बन्न आएकी उनले विभिन्न वर्कसप गरिन्। प्रतिस्पर्धाहरुमा भाग लिइन्। र, पहिलो पटक कलाकारका रुपमा मोडलिङ सुरु गरिन्। र्‍याम्पमा हुँदा र म्युजिक भिडियोमा देखिँदासम्म उनलाई नामका कारण कुनै समस्या भएन। उनी मोडलिङलाई निरन्तरता दिन चाहन्थिन्। हुन पनि साढे तीन वर्ष अथकरुपमा मोडलिङमै लागि रहिन्। त्यतै प्रसंसा र एउटा तहको चर्चा बटुलेकी उसलाई होस्टल रिटर्नस, मौन जस्ता सफल चलचित्र निर्देशक सुरज भूसालले फिल्म अफर गरे - गाँठोका लागि। उनलाई मोडलिङ गरेर पुगेको थिएन। सुनाइन्, 'तर मौका गुमाउने मन भएन। र फिल्म खेल्न राजी भएँ।'

 
फिल्म इन्डस्ट्रीमा पाइला टेक्ने निश्चित भएपछि भने उनलाई थोरै डर हुन थाल्यो। कतै आफ्नो नामका कारण पहिचान पो धरापमा पर्ने हो कि? उनले फिल्म साइन गर्नुअघि नाम फेर्नेबारे नसोचेकी पनि होइन। उनलाई लाग्यो- जुन नाम चिनाउन हिरोइन बन्नु थियो त्यही परिवर्तन गरेर के काम? आत्मविश्वाससहित भनिन्, 'बाबा ममीले दिनुभएको नामलाई नै चर्चा दिनु थियो। मेरो आफ्नो पहिचान फेर्दा आफैलाई सन्तुष्टि नमिल्ने मैले बुझेँ।'
 
त्यसपछि उनको डेब्यु हुने भयो गाँठो मार्फत्। पोस्टरमा देखिइन्। ट्रेलरमा देखिइन्। नेपाली दर्शकका लागि नाम पुरानो अनुहार नयाँ। फिल्म रिलिज भएपछि भने उनको अभिनयको सकारात्मक प्रतिक्रिया आयो। धेरैले 'डेब्यु जस्तो नै लागेन' भन्दा उनी निकै खुशी लाग्ने अनुभव सुनाउछिन्। फिल्मले व्यवसायिक सफलता हात पारेन तर आफूलाई धेरै फिल्मको स्क्रिप्ट आएको उनको दाबी छ।
 
हिरोइन बन्ने सपनाले एउटा गति लियो। अब नम्रताको अर्को सपना छ आफ्नो नामलाई दर्शकमाँझ चिनाउने। आफू त्यसको लागि तयार गर्दै गरेको सुनाउछिन्, 'अब त एउटा इख जस्तै मनमा आइसक्यो। राम्रो काम गरेरै आफूलाई स्थापित गराउने।'

 

उनी नायिका नम्रता श्रेष्ठबाट निकै प्रभावित र आकर्षित छिन्। उनीसँग नाम जुध्नु स्वभाविक मान्छिन् पनि। उनीबाट धेरै कुरा सिक्न सकिन्छ भन्ने विश्वास पनि गर्छिन्। आजसम्म नम्रतालाई नभेटेको बताउँने नयाँ नम्रता भन्छिन्, 'भेटेँ भने सुरुमै नामको कुरा गर्छु अनि मात्र अभिनयको।'
 
नाम जुध्नुलाई सामान्य रुपमा लिनुपर्छ ठान्छिन् उनी। नाम स्थापित गर्न गाह्रो छ तर असम्भव होइन। सबैले आफ्नो संघर्ष आफै गर्ने हो। मिहिनेत आफ्नो दुःख आफ्नो, सफलता, असफलता अनि नाम पनि आफ्नै बन्छ। यही ठम्याइ छ उनको। नम्रतालाई हिरोइन हुनु नै सफल हुनु हो जस्तो भने लाग्दैन। त्यसैले भन्छिन्, 'अहिले नामको पछि लाग्नु भन्दा पनि राम्रो काम गर्नु छ।'
फोटोहरु : नम्रताको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell