PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पुरुषोत्तम दाहालको उपन्यास 'शान्ता'माथि रिडर्स क्लबमा बहस



पहिलोपोस्ट

पुरुषोत्तम दाहालको उपन्यास 'शान्ता'माथि रिडर्स क्लबमा बहस

काठमाडौं : रिडर्स क्लबमा आज वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको नारीप्रधान उपन्यास 'शान्ता'माथि बहस भएको छ।
 
बहसमा सहप्राध्यापक डा. गणेश घिमिरे र उपप्राध्यापक डा. विमला शर्माले समीक्षा गरेका थिए। उपन्यासलाई घिमिरेले दाहालको रुखो राजनीतिक विश्लेषकबाट कोमल भावनातर्फको ल्यान्डिङ भएको बताए। 'दाहालको भावयत्री प्रतिभाबाट कारयत्री प्रतिभातर्फको ल्यान्डिङ हो,' उनले भने, 'उहाँ रुखो राजनीतिक विश्लेषणबाट भावनाको यो उछालसम्म आइपुग्नुभएको छ।' उपन्यासमा मानवीयतालाई पुनर्जीवन दिएको बताए।

उपप्राध्यापक शर्माले पुरुष लेखकबाटै महिलाको कोमल मनोभाव उतारेको भन्दै प्रशंसा गरिन्। 'आफ्नो विषयमा आफैं कठोर निर्णय लिने र त्यसमा अडान लिने पात्रको रुपमा शान्ता आएकी छिन्,' उनले भनिन्, 'लेखकले जस्तै अरु पुरुषले पनि नारीलाई केन्द्रमा राखेर यस्ता सिर्जना गर्ने हो भने महिलाहरुले यतिसारो अधिकारका कुरा उठाउन आवश्यक छैन।' उनले शान्तालाई ‘रियलिस्टिक फिक्सन' भन्दै उपन्यासभरि यथार्थ पात्रहरु घुमेको बताइन्।

उपन्यासले मानवीयताको महत्व दर्शाउँदै अंगदानलाई महादानका रुपमा स्थापित गरेको उनको भनाइ थियो। कार्यक्रममा महाकवि कलानिधि दाहालले उपन्यासको कथा सत्यकथा भएको बताउँदै ३५/३६ वर्षकी शान्ताले ७० वर्षको वृद्धलाई अंगदान गरेर बचाएको घटना प्रेरणाको स्रोत भएको चर्चा गरे। कवि तीर्थ अधिकारीले उपन्यासकार दाहाल भावनामा विक्षिप्त भएपछि शान्ता उपन्यासको जन्म भएको बताए।
 
कार्यक्रममा मधुपर्कका सम्पादक तुलसीहरि कोइराला, हिमालाय टाइम्सका सम्पादक गोविन्द लुइँटेलले लगायतले दाहालको व्यक्तित्वका कारण पनि उपन्यासको धेरै प्रशंसा भएको भन्दै उनका आलोचक वा टाढाबाट चिन्नेहरुबाट मात्र समीक्षा गराउन रिडर्स क्लबलाई आग्रह गरे। 

विराज रिडर्स क्लब भर्खरै गठन भएको संस्था हो। पत्रकार हरि दाहालको नेतृत्वमा गठन भएको क्लबले पहिलो बहस नै उपन्यास 'शान्ता'माथि गराएको हो। पढ्ने बानिको विकास गर्ने, र पढेका कुरामा बहस गराउनका लागि क्लबले 'अ वे अफ इन्लाइटेनमेन्ट' नारा बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell