PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मेलम्ची पुगेर प्रचण्डले भने- 'म निर्देशित मात्र होइन फलोअप पनि गर्छु'



पहिलोपोस्ट

मेलम्ची पुगेर प्रचण्डले भने- 'म निर्देशित मात्र होइन फलोअप पनि गर्छु'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणस्थल सिन्धुपाल्चोक पुगेर आयोजनालाई छिटो टुङ्ग्याउन निर्देशन दिएका छन्।
 
राष्ट्रिय गौरवको आयोजनाको अनुगमन सुरु गरेका प्रधानमन्त्री प्रचण्डले यस्ता आयोजनाको ढिलासुस्ती, बेथिति र विकृतिले जनतामा निराशा व्याप्त भएको बताए।
 
आयोजनाको गुणस्तरमा ध्यान दिन र तोकिएको भन्दा छिटो समापन गरेर उदाहरण प्रस्तुत गर्न पनि उनले निर्देशन दिएका छन्।
 
‘हामीकहाँ ढिलो गर्ने, नराम्रो गर्ने, सकेसम्म अनियमितता गर्ने ठाउँ पाएसम्म त्यसो गर्ने यो प्रवृति देखापर्‍यो, देखा पर्दै आउने गरेको छ,' प्रचण्डले भने, 'यो आयोजना सन्तोषजक छ भन्ने स्थिति मैले महसुस गरेँ। टनेल र हेडवर्क पूरा गर्ने सन्दर्भमा काम भइरहेको र सुन्दरीजलमा काम गरेको हेर्दा सन्तोषजनक छ।'
 
उनले २०७४ सालको बैसाखमा पानी काठमाडौं झार्ने गरी काम गर्न पनि निर्देशन दिए।
  
‘२०७४ को सुरुतिर यहाँको पानी काठमाडौं जान सम्भव छ। दसैंअगाडि भन्नुभयो मुख्यसचिवले तर नववर्षसम्म पानी आयो भन्ने बनाउन सम्भव छ,' उनले भने।
 
आयोजना कार्यकारी निर्देशक घनश्याम भट्टराईले ७ किलोमिटर सुरुङ निर्माण गर्न बाँकी रहेको, हेडवर्क्समा पहाड काट्ने काम बाँकी रहेकाले काम सक्न अन्दाजी २-३ महिना लाग्न सक्ने जानकारी गराए।

रिजर्ववायर बनाउन समय लागे पाइप लगाएर भए पनि तात्कालिक रुपमा पानी पुर्‍याउन सकिने विकल्प आयोजना प्रमुखले सुनाएका थिए, ‘जे हाम्रो हातमा छ गरौं। तोकिएको समयभन्दा पहिला सक्नेतिर हामी सबैले मिहिनेत गरौं,’ प्रधानमन्त्री प्रचण्डले भने, 'केही महिना अगाडि भए पनि छिटो सकौं भन्ने हो। समयभन्दा अगाडि सके पुरस्कृत हुने र सम्मान हुने अवस्था छ। वार फुटिङमा काम गर्ने हो भने असम्भव छैन।’
 
आयोजना प्रमुख भट्टराईले मेलम्चीको सुरुङ मार्ग आउने बाटोको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले सडकको विषयलाई आफूले गम्भीरताको साथ लिएको उल्लेख गरे।

‘सडकका विषयमा गम्भीर ध्यानाकर्षण भएको छ। काम तदारुकताका साथ होस् म सडक विभागलाई निर्देशित गर्छु’, उनले भने, ‘म निर्देशित मात्र गर्ने होइन फलोअप पनि गर्नेछु। म अनुगमन गर्नेछु।‘

आफू प्रधानमन्त्रीको हैसियतमा मेलम्ची आउँदा खाल्टाखुल्टी पुरिएको देखेको उल्लेख गर्दै प्रचण्डले भने, 'मलाई खाल्टाखुल्टी भए पनि फरक पर्दैनथ्यो। जनतालाई दु:ख हुने थियो। म त एकचोटि आउने र जाने हो।‘
 
प्रचण्डले भूकम्पपीडितलाई ३ लाख अनुदान दिने तयारी भइरहेको र कार्ययोजना निर्माणको काम अगाडि बढेको पनि जानकारी गराए। ‘भनेको मात्रै होइन त्यो कार्ययोजनामा आउँदै छ’, प्रचण्डले उल्लेख गरे। प्रधानमन्त्रीसँगै माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटा, नेपाल सरकारका कामु मुख्य सचिव टंकमणि शर्मा पनि सहभागी थिए।

सिन्धुपाल्चोकमा भूकम्पका कारण सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको थियो। फोटो : प्रचण्डको सचिवालय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell