PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'सावधान इन्डिया' हेरेपछि प्रेमिका अपहरणको नाटक, यसरी गर्‍यो प्रहरीले नाटकको पर्दाफास



सविन ढकाल

'सावधान इन्डिया' हेरेपछि प्रेमिका अपहरणको नाटक, यसरी गर्‍यो प्रहरीले नाटकको पर्दाफास

काठमाडौं : 'आफ्नी छोरी सावित्रीलाई सकुशल हेर्ने मन भए दुई लाख रुपैयाँ लिएर आउनू।'
 
बुधबार बेलुका ६:२७ मा यही व्यहोराको मेसेज सावित्रीकी दिदीको मोबाइलमा आउँछ। अचानक आएको यस्तो धम्कीपूर्ण मेसेजले सिन्धुपाल्चोक कर्थली-४ स्थायी घर भई हाल ललितपुर बस्दै आएको खड्का परिवारमा बेचैनी छाउँछ।
 
आफ्नै २० वर्षिया बहिनीको अपहरण! दिदी अत्तालिन्छिन्। यो खबर परिवारका अन्य सदस्यलाई सुनाएपछि सबैको ओठतालु सुकाउँछ। त्यसपछि सावित्रीका बुवाले मेसेज आएको नम्बरमा तत्काल सम्पर्क गर्छन्। जवाफ आउँछ- 'तपाईंले सम्पर्क गर्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ।'
 
भोकतिर्खा सबै भुलेर मोबाइल अन हुने आशामा उनीहरुले बारम्बार प्रयास गर्छन्। जति पटक प्रयास गरेपछि फोन खुल्दैन। मोबाइल अन नभएपछि उनीहरु  प्रहरीकहाँ जान बाध्य हुन्छन्।
 
बुधबार बेलुका ८ बजे महानगरीय प्रहरी परिसर ललितपुरमा पुगेका उनीहरुले सम्पूर्ण विवरण टिपाउँछन्। सावित्रीको उपहरणको घटना थाहा पाएपछि प्रहरीले खोजीकार्य तीव्र बनाउँछ।
 
उजुरी प्राप्त भएको केही घन्टामै प्रहरीको फन्दामा पर्छन्, सिन्धुपाल्चोक कर्थली-६ घर भएका २२ वर्षीय रामचन्द्र खत्री।
 
***
रामचन्द्र सावित्रीका प्रेमी हुन्। सिन्धुपाल्चोक कर्थलीमा एउटै गाउँमा बस्ने यी दुईबीच कलेज पढ्दादेखि नै प्रेम सम्बन्ध झाँगिएको थियो।
 
प्रहरीसँगको बयानमा रामचन्द्रले 'सावित्रीलाई आफूले बिहान भेटेको तर साथीको जान्छु भन्ने सम्ममात्र थाहा पाएको' बताउँछन्।
 
प्रहरी रातभरि नै सावित्रीलाई अपहरण गरी राखेको ठाउँ पहिचान गर्न र अपहरणकारीको खोजीमा लाग्छ। 'बुधबार रातभर हामीले खोजतलास गर्‍यौं,' महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्की बताउँछन्। 
 
बिहीबार बिहान प्रहरीले सावित्रीलाई चाबहिलको विभोर लजमा सुतिरहेको अवस्थामा फेला पार्छ। उनको अवस्था पत्ता लागेसँगै प्रहरीले थप नयाँ रहस्य फेला पार्छ। सावित्रीलाई कुनै अपहरणकारीले अपहरण गरेको होइन, उनी त आफैं लुकीछिपी बसेकी रहिछन्। जबकि अपहरणमा परेको पहिलो मेसेज उनैको मोबाइलबाट गएको थियो। 
 
किन सावित्रीले यस्तो गरिन्? सबैमा खुलदुली चल्छ। प्रहरी भने अब सावित्रीलाई केरकार गर्न थाल्छ। 
 
'प्रेमीसँग मिलेर नै यस्तो योजना बुनिएको रहेछ,' डिएसपी कार्कीले पहिलोपोस्टसँग भने, 'आफ्नो प्रेमी ऋणमा डुबेकाले फिरौती माग गरी ऋण तिर्ने उनीहरुले योजना बनाएको खुलेको छ।'
 
साथीसँग ऋण लिएर भारतमा गई नेटवर्किङ व्यवसाय गरेका रामचन्द्र उक्त व्यवसायमा डुबेपछि नेपाल फर्किएका हुन्। प्रहरीसँगको बयानमा उनले 'सावधान इन्डिया कार्यक्रम र क्राइमसँग सम्बन्धित केही फिल्म हेरेर यस्तो नाटकीय अपहरणको योजना बनाएको बताएका छन्। उनी पहिलेदेखि नै 'सिआइडी', 'क्राइम पेट्रोल' जस्ता सिलियलमा रुचि राख्दै आएको पनि खुलेको छ। (प्रतीकात्मक तस्बिर idiva.com बाट लिएका हौं।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell