PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा कराते प्रशिक्षक थोकर



पहिलोपोस्ट

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा कराते प्रशिक्षक थोकर

न्युयोर्क : कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले शान्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष चयन भएका छन्।
न्युयोर्क र आसपासमा रहेका दुई सय १६ जना सदस्य सहभागी अधिवेशनले सृजना लामालाई उपाध्यक्ष र अमर तामाङलाई महासचिव चयन गरेको छ। यस्तै छिरिङ योञ्जन सचिव र नाम्गेल लामालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।  बोर्ड सदस्यहरुमा राम तामाङ, प्रविण लामा, सानु कुमारी लामा र मैना लामा निर्वाचित भएका छन्। बाँकी दुई सदस्यको अध्यक्षले मनोनित गर्ने छन्।  


 
निर्वाचित कार्यसमितिलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त ङिमा पाख्रिनले पद तथा गोपनियताको सपथ गराए। यसैबीच नवनिर्वाचित अध्यक्ष शान्त थोकरले आफ्नो कार्य समितिको पहिलो काम न्युर्योकमा संस्थाको कार्यालय सञ्चलन र तामाङ भाषा, धर्म सम्बन्धी शिक्षा कार्यक्रम सुरु गर्नु रहेको जनाए। तामाङ भाषा र धर्म सम्बन्धी शिक्षा कार्यक्रम सञ्चालनका लागि आफ्नो माताहतमा रहेको इन्टरनेसनल मार्शल आर्ट एशोसिएशन न्युयोर्कको (कराते प्रशिक्षण स्थल) हल उपलब्ध गराउने घोषणा गरेका छन्। 

यस्तै शान्तले तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई सन् २०१८ भित्र शिलन्यास गर्ने जनाएका छन्। “स्वदेश तथा विदेशमा रहेका तामाङहरुको स्तरोन्नतीमा सहयोग पुर्‍याउनु र तामाङ सस्कृतिको जगेर्ना गर्नमा नै मेरो ध्यान केन्द्रित रहने छ।” दुई वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका शान्तले उत्तर अमेरिकामा रहेका सबै तामाङबीचमा साझा सञ्जाल बनाउने, तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा विश्व तामाङ सम्मेन आयोजना गर्ने र अन्तर्राष्ट्रिय तामाङ सञ्जाल बनाउने योजना सुनाए । 

तामाङ भाषा अनलाइन कक्षा, तामाङ विद्यार्थी छात्रवृत्ति कोष स्थापना, नेपालमा लोकसेवा आयोग परीक्षाको तयारीमा रहेका तामाङहरुका लागि शैक्षिक छात्रवृत्ति, तामाङ आकास्मिक कोष स्थापना गर्ने लक्ष्य उनले बनाए।

न्युयोर्कमा बहुप्रचारित तामाङ सांस्कृति तथा बौद्ध केन्द्रको लागि अतिरिक्त कोष संकलन गर्न अमेरिका तथा अन्य मुलुकमा तामाङ सस्थाहरु बीचमा समन्वय गर्ने उनको योजना छ। सन् २००८ देखि २०१० सम्म सोसाइटीमा महासचिव जिम्मेवारी निभाएका शान्त थोकर अमेरिकी कराते महासंघबाट दोहोरो ए लाइसेन्स प्राप्त करातेका प्रशिक्षक हुन्। न्युयोर्कमा कराते स्कूल सञ्चालन गर्ने अहिलेसम्म उनी एक्लो नेपाली पनि हुन्। उनले आफ्नो घोषणपत्रमा उल्लेख गरिएका अन्य प्रतिवद्धता क्रमश पूरा गर्दै जाने जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell