PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वर्षौंदेखि थन्किएका शव कूटनीतिक पहल गरेर लगियोस् भन्दै सरकारलाई प्रवासी नेपालीको १५ बुँदे माग



पहिलोपोस्ट

वर्षौंदेखि थन्किएका शव कूटनीतिक पहल गरेर लगियोस् भन्दै सरकारलाई प्रवासी नेपालीको १५ बुँदे माग

  • महेश श्रेष्ठ
प्रवासी नेपाली कामदारहरुले भोग्नुपरेको समस्या समाधान र सुरक्षित वैदेशिक रोजगारका लागि नेपाली साझा मञ्चले पूर्व उपप्रधानमन्त्री मार्फत सरकारसमक्ष १५ बुँदे माग राखेको छ।
 
वैदेशिक रोजगारका क्रममा साउदी अरब आएर दुःख पाएका र राष्ट्रकै समस्याको भएको सन्दर्भमा मञ्चले साउदी अरबको श्रम ऐन कानुन कार्यान्वयनमा जोड दिन पनि आग्रह गरेको छ। साथै मञ्चले महिला श्रम सहचारीको व्यवस्था हुनुपर्ने माग गर्दै समस्याको समाधानमुलक सुझाव पेस गरेको छ।
 
साउदी अरबको अनौपचारिक भ्रमण क्रममा जुबैल आएका पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मञ्चले माग पत्र बुझाएको हो।
 
मागपत्र बुझ्दै श्रेष्ठले नेपालीहरुको समस्यालाई गम्भीरतापूर्वक उठाउने र समाधानको दिशातर्फ पहल गर्ने बताए। उनले स्वाभिमान गुमाएर बाध्यता र पीडा सहेर काम गर्नु पर्ने अवस्थाबाट मुक्त गर्न सरकार र सम्पूर्ण राजनीतिक दल लाग्नुपर्नेमा समेत जोड दिए।
 

के छन् मागपत्रमा?

नेपाली साझा मञ्च साउदी अरबले पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठमार्फत सरकार समक्ष राखेको १५ बुँदे माग यस्ता छन्।
 
१. नेपाली कामदारहरुको मागका सम्बन्धमा पूर्वस्वीकृति नेपाल दूतावासबाट मात्रै गराउने अनिवार्य प्रावधान तत्काल लागू गराई भारतीय र फिलिपिन्स दूतावासले कामदारहरुको हितमा बनाएका नीतिहरुलाई अध्ययन गरेर लागू गरियोस्।
 
२. साउदी अरबका प्रवासी नेपालीहरुले भोग्नुपरेको न्यायिक उपचारमा भएको ढिलाइ र कठिनाइलाई छिटो र सहज तुल्याउन उनीहरुको अवस्थाका बारेमा यथार्थ जानकारी लिन एवं उद्धार गर्नका लागि मन्त्रीस्तरीय विशेष कार्यदल गठन गरियोस् र समस्या समाधानार्थ साउदी सरकारसँग तत्काल कूटनीतिक पहल थालियोस्।
 
३. शोषण उत्पीडनका कारण भागेर आएका पुरुष र महिला कामदारहरुका लागि आश्रय दिने नेपाली राजदूतावासको मातहातमा व्यवस्थित शिविरको स्थापना गरियोस्।
 
४. श्रम विभागको लापरबाहीका कारण भएको गल्तीले वैदेशिक रोजगार गुमाएका पीडितहरुलाई उचित क्षतिपूर्ति दिइयोस् र सम्बन्धित कर्मचारीलाई कारबाही गरियोस्।
 
५. जेलबाट छुटिसकेका तर नेपाल फर्कन नपाएका, जेल सजाय अवधि भुक्तान गरिसकेका तर जेलबाट निस्किन नपाएका, जेलबाट छुट्नका लागि कफला गर्न बाँकी रहेका, भाषिक कठिनाइले जेल परेका र कपिलको बेवास्ताका कारण जेलमा रहेका पीडितहरुको उद्धार साथै नेपालमा गरिएको सम्झौता उल्लंघन र साउदी कानुनी प्रावधान विपरीत कार्य गर्नेहरुका विरुद्ध पीडितहरुको पक्षमा आवश्यक कानुनी उपचार गर्न यथाशीघ्र कानुनी सहयोगी र वकिलको व्यवस्था गरियोस्।
 
६. साउदी अरबमा घरेलु र कम्पनीका कामदारका रुपमा आएका महिलाहरुको हकहितका लागि महिला श्रम सहचारीको व्यवस्था गरियोस्।
 
७. साउदी सरकारसँग समन्वय गरेर यथाशीघ्र नेपाली पुरुष तथा महिला कामदारहरुको यथार्थ तथ्यांक सार्वजनिक गरियोस्।
 
८. नेपालमा रहेका मेनपावर मार्फत कुबेत, साउदी अरब लगायतका खाडी मुलुकमा पठाइएका महिलाहरुको अवस्थाका सम्बन्धमा पठाउने मेनपावर र परिवारहरुमार्फत दस वर्षे अवधिको तथ्यांक संकलन गरेर उनीहरुको यथार्थ अवस्थाको खोजी गरियोस्।
 
९. विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको लास वर्षौंदेखि साउदी अरबका लासगृहमा थन्किरहेका छन्। कूटनीतिक पहल गरेर नेपाल लगियोस् र मृतकका परिवारलाई उचित राहत दिइयोस्।
 
१०. प्रधानमन्त्रीज्युले व्यवस्थापिका संसदमा सम्बोधन गरिकाएका विषयहरु तथा सरकारी योजनाहरु यथाशीघ्र कार्यान्वयन गरियोस्।
 
११. वैदेशिक रोजगारसँग सम्बन्धित नीति निर्माण र संसोधनमा लोकतान्त्रिक मूल्य र मान्यता अनुसार सरोकारवालाहरुलाई सहभागि गराइयोस्।
 
१२. प्रवासी कामदारहरुसँग सरोकार राख्ने झिटी गुण्टाको नियम परिवर्तन गरेर प्रवासीहरुको खुसी खोसेको प्रति दुःख व्यक्त गर्दै सो नीति खारेज गर्न र प्रवासी श्रमिक मैत्री नीति ल्याउन माग गर्दछौं।
 
१३. यहाँ भएका कामदारहरुको समस्या समाधान नभएसम्म थप नयाँ कामदार पठाउन स्थगित गरियोस्।
 
१४. नेपालबाट पठाइएका महिला कामदारहरुको अवस्थाका बारेमा नयाँका हकमा हरेक महिना र एक वर्ष बढी भएकाहरुका हकमा भने ६/६ महिनामा उनीहरुको अवस्थाका बारेमा प्रत्यक्षरुपमा सूचना लिने व्यवस्था गरियोस्।
 
१५. समयानुकूल नेपाली कामदारहरुको आधारभूत तलब सुविधालाई समायोजन गरेर यथाशीघ्र श्रम सम्झौता गरियोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell