PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यी हुन् कपाल काट्ने महिला, जो समाजमा उदाहरणीय बनिरहेकी छिन्



पहिलोपोस्ट

यी हुन् कपाल काट्ने महिला, जो समाजमा उदाहरणीय बनिरहेकी छिन्

  • गोपालप्रसाद पोखरेल 
पथरी (मोरङ) : कपाल काट्ने सैलुन कसले चलाउँछ? वा सैलुनमा कसले कपाल काट्छ? भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ- पुरुषले। 

तर त्यो प्रश्नको उत्तर अब गलत हुन सक्छ। मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय सुरु गरेपछि उनी उदाहरणीय बनेकी छिन्।

मोरङको उर्लाबारीस्थित आइतबारे चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिरहेकी हेमन्ता आफ्नो व्यवसायबाट सन्तुष्ट छिन्। 'जीविकोपार्जनका लागि यो पेसा सहज छ। सामाजिक काममा पनि सकेको दान गर्दै आएकी छु,' उनी भन्छिन्। 

पुरुषको दाह्रीजुँगा र कपाल काट्ने काम महिलाका लागि सुहाउँदैन भनेर आफूलाई जिस्क्याउने र हेयको दृष्टिले हेर्ने महिला फेला पर्ने गरे पनि आफूले त्यस्ता भनाइको वास्ता नगरी व्यवसाय गर्नमा कुनै हीनताबोध नभएको उनको भनाइ छ। चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाकुरले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय काम बन्न पुगेको छ। पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने? भन्ने प्रश्न गर्दै उनले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव पनि सुनाइन्।

'नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु, धनीमानी र फुर्सदिलाहरुले छिः यस्तो के काम गरेको होला भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्यिाउन खोज्थे,' हेमन्ता भन्छिन्, 'आजभोलि यसै पेसामा स्वावलम्बी भएपछि उनीहरुको बोली नै बन्द भएको छ।'
 
पहिलोपटक आफूले कपाल काटेको देख्नेहरु भने अचम्ममा पर्ने गरेको उनी सम्झिन्छिन्। कपाल/दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम गर्छिन् उनी। 'कपाल र दाह्री काट्न आउने कतिपय सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछन् भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जान्छन्,' उनले सुनाइन्।

कतिपयले त 'बहिनी पैसा फिर्ता दिनु पर्दैन' भन्दै उनलाई हौसला पनि दिन्छन्। त्यस बेला उनी भावुक त हुन्छिन् नै आफ्नो पेसाप्रति त्यसो भन्दिँदा गौरव लाग्ने गरेको उनी सुनाउँछिन्। उनको कर्मले लिङ्गभेदकै कारण आफूले जानेको सीपलाई दबाएर राख्न नहुने दलिल पेस गरेको स्थानीय महिला नेतृ गोमा नेपालको भनाइ छ। 

सुरुसुरुमा केटा मान्छेको कपाल, दाह्री काट्दा असजिलो लागेको पनि हेमन्ताले स्मरण गर्न भ्याइन्। उर्लाबारीमा सैलुन चलाउँदै आएका श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि उनले श्रीमानको ‘बिँडो’थाम्दै आइन्। श्रीमानकै सहयोगमा कपाल र दाह्री काट्ने सिप सिकेको पनि उनको भनाइ छ। 

'आफ्नो कमाइले घरखर्च चलेको छ,' उनी भन्छिन्, 'श्रीमानले पठाएको ‘रेमिट्यान्स’बचत गरेको छु।' आफूले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको हेमन्ताको भनाइ छ। 

उर्लाबारी बहुमुखी क्याम्पसका उपप्राध्यापक भीष्मा रेग्मी भट्टराई सामाजिक विभेद अन्त्यका लागि पनि उनले अँगालेको अभियानलाई सम्मान गरिनुपर्ने बताउँछिन्। 'चुलोचौकामा सीमित महिलाले हेमन्तीबाट पाठ सिक्नुपर्छ,' उनले भने, 'कपाल नै काट्नुपर्छ भन्ने छैन।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell