PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्याङ्जाबाट १३ वर्षमै भागेका आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश



स्याङ्जाबाट १३ वर्षमै भागेका आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश

काठमाडौँ : १३ वर्षको उमेरमै स्याङ्जास्थित बाबुआमाको घरबाट भागेका आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश भएका छन्। उनी अहिले पतन्जली आयुर्वेदका प्रमोटर तथा योग गुरु बाबा रामदेवका सबैभन्दा विश्वासपात्र हुन्। 

बालकृष्णलाई हुरुन इन्डिया रिच लिस्ट २०१६ को २५ औँ स्थानमा राखिएको छ। उनको कूल सम्पति २५,६०० करोड भारु बताइएको छ। 

अरु मल्टिनेसनल कम्पनीहरुको मार्केट सेयरलाई कम गर्दै गइरहेको पतन्जलीको रजिस्टर्ड टर्न ओभर नै ५ हजार करोड छ। सन् २०१७ सम्ममा यो १० हजार करोड हुने अपेक्षा गरिएको छ। 

उनी पतञ्जली आयुर्वेदका मालिक मात्रै होइनन्, यो कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक पनि हुन्।

बालकृष्णकै इसारामा यो कम्पनी सञ्चालन हुन्छ। उनले नै कम्पनीको व्यवस्थापनदेखि नयाँ उत्पादनको निर्णय र वित्तिय व्यवस्था सञ्चालन गर्छन्। उनी पतञ्जली आयुर्वेदका मालिक मात्रै होइनन्, बाबा रामदेवको आवरणमा सञ्चालन भैरहेका अरु थुप्रै कम्पनीका असली मालिक पनि हुन्।

इकोनोमिक टाइम्सका अनुसार दश रुपैयाँ अङ्कित मूल्य भएको पतञ्जली आयुर्वेद लिमिटेडमा तीन करोड ४७ लाख कित्ता सेयर छ। त्यो सेयरमध्य तीन करोड दश लाख कित्ता (तीन अर्ब दश करोड भारु बराबर) सेयर एक्लै आचार्य बालकृष्णसँग छ। यो कम्पनीको ९२ प्रतिशत सेयर हिस्सा हो।

त्यसबाहेक बाबा रामदेवको योगालार्इ प्रचार गर्न आस्था च्यानल सञ्चालनमा छ। यो च्यानलको प्यारेन्ट कम्पनी हो, वैदिक ब्रोडकास्टिङ लिमिटेड। यो कम्पनीमा बालकृष्णको आठ लाख कित्ता सेयरमध्ये सात लाख ९९ हजार २५० कित्ता अर्थात ९९.९ प्रतिशत सेयर हिस्सा छ।

त्यसैगरी बालकृष्णको स्वामित्वमा दिव्य फार्मेसी पनि छ। भने रामदेव, बालकृष्णको स्वामित्वमा चार ट्रष्ट पनि सञ्चालनमा छन्। चार ट्रष्टमध्ये सबैभन्दा ठूलो ट्रष्ट दिव्य योग मन्दिर ट्रष्ट हो। त्यसैगरी पतञ्जली योगपिठ ट्रष्ट, भारत स्वाभिमान र आचार्यकुल शिक्षा सदन छन्। ट्रष्टको वित्तीय विवरणहरु कमै सार्वजिनक हुन्छन्।

सन् २०११ मा सार्वजनिक भएको एउटा विवरणअनुसार यी चार ट्रष्टले त्यो वर्ष चार अर्व २६ करोड भारुको कारोबार गरेका थिए। त्यसैगरी यी चार ट्रष्टबाट सात अर्ब ८५ करोड भारु खर्च गरिएको थियो।

भारत सरकारले सन् २००८ मा मेगा फुड पार्कको योजना सार्वजनिक गर्यो। यो योजनाअनुसार स्थापना हुने फुड पार्कका लागि भारत सरकारले ५० करोड अनुदान दिने निर्णय गरेको थियो। यही योजनाअनुसार पतञ्जली आयुर्वेदले दुर्इ वटा फुड पार्कमा लगानी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हरिद्वारमा स्थापना गरिएको फुडपार्कमा पतञ्जली आयुर्वेदको ४९ प्रतिशत सेयर छ भने झारखण्डमा स्थापना गरिएको अर्को फुडपार्कमा कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व छ। हरिद्वारको फुडपार्क सञ्चालमा आइसकेको छ र त्यो कम्पनीको पनि प्रवन्ध निर्देशक हुन्, आचार्य बालकृष्ण। यो कम्पनीमा पनि पतञ्जलीले ५० करोड भारु लगानी गरेको बालकृष्णले जानकारी दिए।

सैगरी त्यहाँ स्थापना भएका पतञ्जलीका प्लान्टमा पाँच अर्ब भारु लगानी भएको पनि बालकृष्णले जानकारी दिएका छन्। यो पार्कमा ४० युनिट सञ्चालनमा छन्, त्यसमध्य २८ वटा युनिट पतञ्जलीका हुन्। आचार्य बालकृष्णले यो संख्या ६५ सम्म पुग्ने जानकारी दिए। आचार्य बालकृष्णले फुडपार्क पूर्ण सञ्चालनमा आए त्यसको कारोवार ४५ अर्ब भारु पुग्ने जानकारी दिए।

बालकृष्णको जन्म २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा भएको थियो। जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको हो। बालकृष्ण जन्मिएको तीन महिनापछि उनीहरु बच्चा लिएर स्याङ्जा फर्किएका थिए।

त्यसपछि १३ बर्षको उमेरसम्म गाउँमै बसेका बालकृष्णले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए। १३ बर्षको उमेरमा बालकृष्ण घरबाट भागे। उनी सुरुमा नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगे। पछि उनले हरिद्वारमा अध्ययन गरे।

आयुर्वेदमा विज्ञता हासिल गरेपछि बालकृष्ण सुवेदी आयुर्वेद शिरोमणि आचार्य बालकृष्णका रुपमा चिनिन थालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell