PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अब वैदेशिक रोजगारमा गएका र घरेलु कामदारले पनि सञ्जय कोषमा रकम जम्मा गर्न पाउने



सुदर्शन सापकोटा

अब वैदेशिक रोजगारमा गएका र घरेलु कामदारले पनि सञ्जय कोषमा रकम जम्मा गर्न पाउने

काठमाडौं : अब वैदेशिक रोजगारीमा गएका, असंगठित क्षेत्र, घरेलु कामदार, कृषि मजदुरहरुले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने भएका छन् । 'संचय कोष ऐन २०१९' संशोधन गर्दै बनेको नयाँ ऐन संसदबाट पारित भएपछि रकम जम्मा गर्ने बाटो खुलेको हो ।
 
'नयाँ ऐनमा सामाजिक सुरक्षाको क्षेत्रलाई बढाएर असंगठित क्षेत्रका घरेलु कामदार, कृषि मजदुरका साथै स्वरोजगार ब्यक्तिहरुले पनि रकम जम्मा गर्न पाउने व्यवस्था नयाँ ऐनमा गरिएको छ' कोषका प्रमुख प्रशसक कृष्ण आचार्यले ऐन पारित भएपछि बिजमाण्डूसँग भने ।
 
अहिलेसम्म प्रोभिडेन्ड फन्डको व्यवस्थाभित्र परेकाहरुले पनि पेन्सन पाउने व्यवस्था नयाँ ऐनमा गरिएको छ ।
 
कोष अब पुँजी बजारमा पनि प्रवेश गर्न पाउने भएको छ । साथै उसले आफ्नै नेतृत्वमा पुर्वाधार क्षेत्रमा लगानी गर्न पाउने बाटो पनि खुलेको छ ।
 
सञ्चकर्ताको रकमबाट सामूहिक लगानी कोषका रुपमा पुँजी बजारमा लगानी गर्ने बाटो पनि खुलेको हो ।
 
नयाँ ऐनमा संस्थागत सुधार पनि गरिएको छ । ऋण चलाएर नतिर्नेहरुलाई कालोसुचीमा राख्ने ब्यवस्था पनि गरिएको छ । यसअघि कोषले कालोसुचीमा राख्नका लागि सिफारिस गर्न सक्दैन थियो । कोषको ऋण नतिर्नेदेखि टेन्डर, खरीदलगायतमा भनेको समयमा काम नगर्नेलाई कारवाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने र उसले कालोसुची वा कारवाही गर्नै पर्ने व्यवस्था नयाँ ऐनमा परेको छ ।
 
कुनै कर्मचारी, श्रमिकबाट पैसा कटाएर कोषमा जम्मा नगर्नेलाई हदैसम्मको कारवाही सिफारिस गर्न सक्ने अधिकार पनि कोषले पाएको छ । साथै कोषले त्यस्ता ब्यक्तिलाई नतिरेको पैसा, त्यसको ब्याज र जरिवानासमेत तिराउन सक्ने भएको छ ।
 
अहिले निजामति सेवा, सेना, प्रहरी, शिक्षक तथा संगठित क्षेत्रमा काम गर्ने १० जनाभन्दा धेरै स्थायी कर्मचारी भएको संस्थाले मात्रै कर्मचारी संचय कोषमा रकम जम्मा गर्न पाउनेमा अबदेखि स्वरोजगारले पनि रकम जम्मा गर्न सक्नेछन् ।
 
नयाँ व्यवस्था अनुसार अब इन्जिनियर, डाक्टर, लेखापरीक्षक लगायतका पेशा गर्ने व्यक्ति र उनीहरुका संस्थामा काम गर्ने कर्मचारी तथा घरेलु कामदार, कृषकलगायतलेसमेत अब रकम जम्मा गर्न सक्नेछन् ।
 
नयाँ व्यवस्था अनुसार अब कोषले नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकर्ति प्राप्त विदेशी वा स्वदेशी संस्थाको ऋणपत्रमा लगानी गर्न सक्नेछ । यस्तै कोषले नेपाल सरकारको जमानतमा कोषको शर्त र ब्याजमा उद्योग वा संगठित संस्थालाईसमेत ऋण दिन सक्ने छ ।
 
ऐन संशोधनसँगै कोषले निवृत्तिभरण, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा कोष आफैंले वा अन्य संस्थासँग मिलेर निवृत्तिभरण कोष, स्वास्थ्य बीमा, वा सामाजिक सुरक्षा कोष स्थापना गरेरसमेत संचालन गर्न सक्ने छ । यस्तै कोष संचालक समितिले तोकेको शर्तमा कर्मचारी वा स्वरोजगारमा संलग्न व्यक्तिलाई सापटी पनि कोषले दिन सक्नेछ ।
 
संचय कोषले अहिले नेपाल सरकारको जमानतमा नेपाल आयल निगम र नेपाल वायुसेवा निगमलाई ठुलो ऋण लगानी गरेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell