PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विमानस्थल सुधार लगायत परियोजनालाई जापानद्वारा दुई अर्ब अनुदान सहयोग



पहिलोपोस्ट

विमानस्थल सुधार लगायत परियोजनालाई जापानद्वारा दुई अर्ब अनुदान सहयोग

काठमाडौं : जापान सरकारले दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
 
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर जापानले यस्तो सहयोग दिन लागेको हो।
 
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
 
अर्थ मन्त्रालयमा आज आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।
 
सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठ वटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले एक अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउनेछ।
 
त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ। उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गरे।
 

काठमाडौं-नौबिसे सुरुङ मार्गलाई १८ बिलियन

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसाइबीच भेट भएको छ।
 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको र नेपालको दुःख सुखमा सधै जापानको साथ रहेको भन्दै दुई देशको सम्बन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन प्रयत्नशील रहने बताए।
 
राज्यमन्त्री नोबु किसाइले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनर्निर्माण र समृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताएका थिए।
 
भेटका अवसरमा राज्यमन्त्री किसाइले काठमाडौं-नौबिसे सुरुङ मार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीले राखेको प्रस्तावप्रति समर्थन जनाए। उनले जापानको तर्फबाट १८ बिलियन नेपाली रुपैयाँ बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell