PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​वान डे क्रिकेटमा इंगल्याण्डले बनायो एकै खेलमा सर्वाधिक रन



पहिलोपोस्ट

​वान डे क्रिकेटमा इंगल्याण्डले बनायो एकै खेलमा सर्वाधिक रन

वान डे क्रिकेटको इतिहासमा इंगल्याण्डले एकै खेलमा सर्वाधिक रन बनाउने रेकर्ड आफ्नो नाममा लेखाएको छ। पाकिस्तानविरुद्ध ४४४ रन बनाउँदै इंगल्याण्डले उक्त रेकर्ड कायम गरेको हो।

पाकिस्तान विरुद्धको तेस्रो एक दिवसीयमा इंगल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्‍यो। ४९ ओभरसम्म इंगल्याण्डले ३ विकेट गुमाएर ३३८ रन बनाएको थियो। एकै खेलमा सर्वाधिक रनको रेकर्ड तोड्न इंगल्याण्डलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो। 

क्रिजमा थिए, कप्तान इयान मोर्गन र जोस बटलर। र अन्तिम ओभर बलिङ गर्दै थिए पाकिस्तानका हसन अली।


बटलरले पहिलो बलमा १ रन लिए। दोस्रो बलमा मोर्गनले रन बनाउन सकेनन् र तेस्रो बलमा एक रन बाई पाउँदै मोर्गनले बटलरलाई स्ट्राइक दिए। बटलरले चौथो र पाँचौ बलमा कुनै रन प्रहार गर्न सकेनन्।  इंगल्याण्डले अन्तिम बल बाँकी छँदा ४४० रन बनायो। रेकर्ड तोड्नका लागि अन्तिम बलमा चौका प्रहार गर्नुपर्ने भयो। र अन्तिम बलमा उनै बटलरले चौका प्रहार गर्दै इंगल्याण्डको स्कोर ४४४ पुर्‍याए।

यससँगै इंगल्याण्डले श्रीलंकाले १० वर्षअघि बनाएको सर्वाधिक रनको रेकर्ड तोड्यो। श्रीलंकाले सन् २००६ मा नेदरल्याण्ड्सविरुद्ध ४४३ रन बनाउँदै रेकर्ड राखेको थियो।

इंगल्याण्डले रेकर्ड ब्रेकिङ स्कोर खडा गर्ने क्रममा एलेक्स हाल्सले सर्वाधिक १७१ रन बनाए। १२२ बल खेल्ने क्रममा हाल्सले २२ चौका र ४ छक्का समेत प्रहार गरे।


हाल्स वान डे क्रिकेटमा इंगल्याण्डको लागि एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन्। यसअघि इंगल्याण्डका रोविन स्मिथले सन् १९३३ मा अष्ट्रेलिया विरुद्ध १६७ रन बनाएका थिए।

ओपनर ज्यासन रोए १५ रनमै आउट भएपनि हाल्सले दोस्रो विकेटका लागि जोए रुटसँग २४८ रनको साझेदारी गरे।


८६ बल खेलेका रुटले ४ चौकाको मद्धतमा ८५ रन बनाए। यस्तै चौथो र पाँचौ नम्वरमा ब्याटिङ गरेका मोर्गन र बटलरले पनि बिष्फोटक ब्याटिङ गरे। चौथो विकेटका लागि मोर्गन र बटलरले नटआउट रहँदै १६१ रनको साझेदारी गरे। 

बटलरले ५१ बलमा ७ चौका र ७ छक्काको मद्धतमा ९० रन जोडे भने २७ बल खेलेका मोर्गनले ३ चौका र ५ छक्काको मद्धतमा ५७ रन बनाए।

पाकिस्तानका हसन अली २ तथा मोहम्मद नवाजले १ विकेट लिए। पाकिस्तानका वाहव रियाजले सर्वाधिक ११० रन दिएका थिए। १० ओभर बलिङ गरेका रियाजले कुनै विकेट लिन सकेनन्।

मोहम्मद अमिरले बनाए रेकर्ड
जवाफमा ४४५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २७५ रन मात्र बनाउन सक्यो। १६९ रनको शानदार जित हात पार्दै इंगल्याण्डले ५ खेलको सिरिज ३-० ले आफ्नो पक्षमा समेत पार्यो।

पाकिस्तानका लागि सर्जिल खान र मोहम्मद आमिरले समान ५८ रन बनाए।


आमिरले बनाएको उक्त रन  वान डे क्रिकेटमा ११ औं नम्वरमा ब्याटिङ गरेका खेलाडीले बनाएको सर्वाधिक रन हो। ३६ औं ओभरको दोस्रो बलमा पाकिस्तानको स्कोर १९९ रन हुँदा आमिर क्रिजमा पुगे।

आमिरले यासिर शाहसँग मिलेर दशौं विकेटका लागि ७६ रनको साझेदारी समेत गरे। जुन पाकिस्तानी इनिङको सर्वाधिक साझेदारी समेत बन्यो।
२८ बल खेलेका आमिरले ५ चौका र ४ छक्काको मद्धतमा सर्वाधिक ५८ रन बनाए। उनी वान डे क्रिकेटमा ११ औं नम्वरमा ब्याटिङ गर्दै अर्धशतक पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन्। 

यसअघि सन् २००३ को विश्वकप क्रिकेटमा पाकिस्तानका सोएव अख्तरले इंगल्याण्ड विरुद्ध ४३ रन बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell