PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

असमका साहित्यकारलाई पोखरामा सांस्कृतिक स्वागत



रासस

असमका साहित्यकारलाई पोखरामा सांस्कृतिक स्वागत

पोखरा : असम-नेपाली साहित्यिक मितेरी कार्यक्रमका लागि भारतको असम राज्यबाट आएका साहित्यकारहरुलाई पोखरामा सांस्कृतिक स्वागत गरिएको छ।
   
हिमाली सांस्कृतिक परिवारको संयोजनमा पोखराका १९ वाङ्मय संस्थाले उनीहरुलाई सांस्कृतिक स्वागत गरेका हुन्।
 
असम नेपाली साहित्य समाजका सभापति डम्बर दाहालको नेतृत्वमा लमजुङ हुँदै पोखरा आइपुगेको २० जना साहित्यकार सहित २२ जनाको स्वागतमा हिमाली सांस्कृतिक परिवार, पोखरेली युवा सांस्कृतिक परिवार, अलिमिया वाङमय प्रतिष्ठान लगायतका संस्था सहभागी भए। उनीहरुले ढाकाटोपी, पछ्यौरा र ढाकाको खादा ओढाई सम्मान व्यक्त गरे। 
 
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका तर्फबाट उनीहरुको स्वागतमा कलाकारले नेपालको मौलिक लोकनृत्य सखिया, छलिया हुर्केउली, थकाली, कर्पुटारे झ्याउरे, नेवारी, मगरको कौरा र गुरुङको रोधी समेत प्रस्तुत गरे।
  
त्यस्तै, झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाले सारङ्गी धुन र गीत, जोजिजु म्युजिक सेन्टरबाट कान्छो ड्रमर उत्प्रेम जोजिजुको प्रस्तुति र विनित जोजिजुको गायन, वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले गीत प्रस्तुति र लेखनाथ साहित्य प्रतिष्ठानका तर्फबाट अध्यक्ष पदमराज ढकालले लोकगीत र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले दोहोरी गीत प्रस्तुत गरेका थिए।
 
असम नेपाली साहित्य सभाका हरि गजुरेल र चन्द्र लुइँटेलले भने गीत प्रस्तुत गरे। 
 
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका प्रमुख संरक्षक, वरिष्ठ स्रष्टा, चलचित्रकर्मी चेतन कार्कीले भाषा, साहित्य र कला राष्ट्रको सम्पत्ति भएकाले नेपाली जहाँ पुगे पनि नेपाली मौलिक राष्ट्रियताको संरक्षण र सम्वर्द्धनमा जुट्नुपर्नेमा जोड दिए। भाषा, साहित्य, सङ्गीत र कलाले विश्वभरका नेपालीलाई एउटै मालामा गाँस्न सक्ने भएकाले साहित्यिक कार्यक्रम अति आवश्यक रहेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell