PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​को बन्दैछन् गणेश थापापछि एन्फा अध्यक्ष? यी हुन् चार दावेदार



गोविन्दराज नेपाल

​को बन्दैछन् गणेश थापापछि एन्फा अध्यक्ष? यी हुन् चार दावेदार

काठमाडौ :  नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदका लागि आगामी कात्तिक ८ गते चुनाव हुँदैछ। रिक्त रहेको अध्यक्ष र एक उपाध्यक्ष पदका लागि विशेष साधारण सभामार्फत् चुनाव गर्न लागिएको हो। 

एन्फामा लामो समय राज गरेका तत्कालीन अध्यक्ष गणेश थापालाई २०७२ साल कात्तिक २९ गते फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षका लागि फुटबलसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिबाट निलम्बन गरेपछि अध्यक्ष पदमा पहिलो पटक चुनाव हुन लागेको हो।

उनको स्थानमा तत्कालीन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्थानमा उपाध्यक्ष मनोनयन भएका नरेन्द्र श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्षको हैसियतमा काम चलाइरहेका छन्।

ललितकृष्णको निधन भएपछि नरेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरिएको थियो।

थापालाई निलम्बन गरेपछि फिफाले गत वैशाख २७ गते एन्फालाई पत्र पठाउँदै चार पदाधिकारीको पुनर्बहाली र रिक्त दुई पदका लागि चुनाव गर्न भन्दै निर्देशन दिएको थियो। 

जेठ १० गतेसम्म पुनर्बहाली गरिसक्नुपर्ने निर्देशन फिफाले दिएपनि एन्फाले जेठ १९ मा मात्र पुनर्बहाली गर्‌यो।
   
यस्तै फिफाले पत्र पठाएको करिब ३ महिनापछि मात्र एन्फाले रिक्त रहेको पदको लागि चुनावको मिति घोषणा गरेको हो।

काव अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा गत साउन ३२ गते बसेको बैठकले चुनावको मिति तय गरेको हो। कात्तिक ८ गते अध्यक्ष र एक उपाध्यक्षको लागि चुनाव हुनेछ। अब चुनाव आउन ८ साता अर्थात ५६ दिन बाँकी छ। 

चुनाव हुने ३० दिनअघि अध्यक्ष पदमा उम्मेदवार दिनेहरुले मनोनयन दर्ता गर्नुपर्नेछ। त्यसअघि पदाधिकारी साथीहरुसँग छलफल गरेर सहमतिमै जोड दिने वर्तमान कार्यसमितिका काव अध्यक्ष नरेन्द्र श्रेष्ठले पहिलोपोस्टसँग बताए।

अहिले एन्फामा रहेका कार्यसमितिका केही पदाधिकारी लगायत जिल्लाका पदाधिकारीहरु पनि सकेसम्म सहमतिमै नेतृत्व छान्ने पक्षमा छन्। तर विद्रोही समूहका रुपमा चित्रण गरिएका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा पुनर्बहाली पछि आफू अध्यक्षमा उठ्ने प्रष्ट बताएका छन्। 

यस्तै पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले पनि एन्फा नेतृत्वमा जाने मनसाय व्यक्त गरेका छन्। 

सबै पदाधिकारीले सकेसम्म सहमतिमै जोड दिने, त्यसो हुन नसके चुनावबाटै भए पनि नेतृत्व चुन्ने बताएका छन्।


को को हुन् अध्यक्षका दाबेदार ?

सहमति र चुनाव जे भएपनि अध्यक्ष पदका लागि चार जनाको दावेदारी अहिलेसम्म परेको छ। वर्तमान कार्यसमितिका काव अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा शेर्पा, पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्मा अनि मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष ताशी घले। 

कसको एजेण्डा के ?

एन्फाको अध्यक्ष बन्नका लागि सबै प्रत्यासीले आफ्नो पुरानै एजेण्डा प्रस्तुत गरिरहेका छन्। काव अध्यक्ष नरेन्द्र श्रेष्ठले सहमतिमै जोड दिइरहेका छन्। उनी सबै साथीहरुसँग सल्लाह गरेर सहमतीमै अध्यक्ष चयन गर्नुपर्ने बताउँछन्। 

'बाँकी रहेको कार्यकालको लागि अध्यक्ष हुने हो, जो भएपनि सहमतिमै हुनुपर्छ। जिल्लाका साथीहरुले पनि सहमतीमै जोड दिएका छन्। फुटबल विकासको लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ', उनले भने। 

यदि सहमति नभएको खण्डमा चुनावमा जान सकिने उनले बताए। 'यदि सहमतिमा निकास निस्केन भने प्रजातन्त्रिक पद्दति अनुसार चुनावमा गइन्छ। तर हाम्रो अन्तिम विकल्प भनेको नै सहमती र सहकार्य नै हो। हामी सहमतिमा जे गर्न पनि तयार छौं र सहमति गर्दा नै बाहिर पनि राम्रो सन्देश जान्छ', उनले भने।

यस्तै उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले भने आफूले अध्यक्ष पदका लागि उम्मेदवार दिने प्रष्ट बताउँछन्। 'म अध्यक्षका लागि उम्मेदवारी दिन्छु। मनोनयन दर्ता गर्नु अघि जिल्लामा चुनाव प्रसार गर्नेछु', उनले पहिलोपोस्टसँग भने।

अध्यक्षमा दाबेदारी किन भन्ने प्रश्नमा उनले भने, 'एन्फालाई पारदर्शी बनाउन, फुटबललाई देशका विभिन्न भागमा पुर्‌याउन, नेतृत्वमा सामूहिकता, ग्रासरुट फुटबलको विकास गर्न, क्लब फुटबल र लिगलाई व्यावसायिक बनाउन, आर्थिक पारदर्शिता, संघलाई संगठानात्मक, संस्थालाई संस्थागत बनाउन। 

यदि यी कुराहरु गर्न सके आगामी ५ देखि १० वर्षमा नेपाली फुटबलले फड्को मार्ने उनले दाबी गरे।

यता पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेको नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मा पनि अध्यक्ष पदका आकांक्षी हुन्।

उनको एजेण्डा पनि शेर्पाको जस्तै छ। एन्फालाई व्यविस्थत बनाउनु र नेपाली फुटबलको विकास नै आफ्नो मूल एजेण्डा भएको उनले पहिलोपोस्टसँग बताए।
 
'नेपाली फुटबलको पारदर्शी ढंगमा अगाडि बढाउन अहिले साँच्चै एक जना तटस्थ व्यक्ति चाहिएको छ त्यसैले मैले उम्मेदवारी दिने विचार गरेको छु', उनले भने। 

'स्कूलमा गएर नयाँ खेलाडीको ट्यालेन्ट हण्ट गर्ने, जिल्ला-जिल्लाबाट खेलाडीको सही प्रतिभा छनोट गर्ने, भौतिक पूर्वाधारको मर्मत सम्भार गर्ने र नभएका ठाउँमा स्थानीय परिचालन मार्फत पूर्वाधारको विकास गर्ने मेरो लक्ष्य हो', शर्माले भने।

उनले पूर्व खेलाडी समेत भएकोले आफ्नो बारेमा सबै जना जानकार रहेको र सबै साथीहरुले आफुलाई समर्थन गर्ने दाबी समेत व्यक्त गरे।

यस्तै सोमबार राजधानीमा आयोजित कार्यक्रममा मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष तथा एन्फाका पूर्व महासचिव ताशी घलेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे। 

अध्यक्ष बाहेक उपाध्यक्ष पदमा पनि चुनाव हुनेछ। यसमा पनि सुरुमा सहमतिमै जानेमा सबैले जोड दिएका छन्।

एन्फाकै एक पदाधिकारीका अनुसार रिक्त रहेको उपाध्यक्ष पदका लागि दिपक खाती, पंकज विक्रम नेम्वाङ, गोवद्धनसिंह सम्झना, शिक्षित पराजुली, वीरबहादुर खड्का, मणि कुँवर, किरण राई लगायतका व्यक्ति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell