PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एउटी विवश आमाको कथा : जसले छोरी जन्मिएको खबर श्रीमानलाई सुनाउनै पाएकी छैनन्



स्वेच्छा राउत

एउटी विवश आमाको कथा : जसले छोरी जन्मिएको खबर श्रीमानलाई सुनाउनै पाएकी छैनन्

काठमाडौं : गर्भवती अवस्थामा माया र सहयोग गर्ने श्रीमान् नै नभए कुनै महिलालाई त्यो क्षणको पीडा कस्तो होला? 

उदयपुरकी सिर्जना खत्रीले गर्भवती हुँदाका बेला श्रीमानको अभावलाई नमिठो गरी भोगेकी छिन्। 

अहिले त उनी आमा बनिसकिन्। सानी नानी आँखामा टुलुटुलु हेरेर मुसुक्क हाँसेझैं गर्छे तर सिर्जना खुलेर हाँस्नै सक्दिनन्। थाहा छैन श्रीमान् कहाँ होलान्, के गरिरहेका होलान्?


***
कक्षा १२ मा पढ्दै थिइन् सिर्जना। कक्षा ११ मा राम्रै अंक ल्याएकोले उनी बाँकी पढाइलाई पनि राम्री सकाउन चाहन्थिन्। तर परिवारले बिहेको कुरा छिनिदिए। मागीविवाह भएकाले अभिभावकको निर्णयलाई स्वीकार्न उनी बाध्य भइन्। पढाइको सपना टुट्यो।

बिहे भएर उनी सिन्धुलीबाट नयाँ घर बसाउन पुगिन्, उदयपुरको त्रियुगा। नयाँ घरमा पनि समय निकालेर पढ्ने धोको त थियो उनमा तर मिलाउनै सकिनन्।

गर्भवती भएपछि भने उनका लागि पढ्ने विषय नै टाढाको बन्न पुग्यो।

पेटमा बच्चा बढ्दै थियो तर सिर्जनाको व्यवहारमा भने अचानक परिवर्तन देखापर्‍यो। बच्चा जन्माएर उसैको हेरचाह गर्नुपर्ने अवस्था नजिकिँदै गर्दा उनमा नै बच्चाको झैं असामान्य व्यवहार देखिएपछि परिवारका सदस्य अचम्ममा परे।

सुरु सुरुमा त श्रीमान् र परिवारले सामान्य समस्या ठानिरहेका थिए। वास्ता गरेनन्। यसकारण पनि उनी दिनभर घरमा एक्लै रहन्थिन्। गर्भवती अवस्थामा परिवारको माया, साथ र सहयोग पाउनुको साटो उनमा तनाव बढ्दै जान थाल्यो। 

पाटन अस्पताल पनि पुर्‍याइयो उनलाई तर बिराम ठिक भएन।
 
उनको समस्या बढ्दै गएपछि भने परिवारले आर्थिक अवस्थाका कारण उपचारमा ध्यान पुर्‍याउन सकेनन्। बरु सिर्जनाकै श्रीमान् उनको मानसिक अवस्था सम्हाल्न नसकेर घर छाडेर हिँडे।

उनका सासू ससुराका अनुसार घरको आर्थिक अवस्था कमजोर छ। सिर्जनाको उपचार गराउन सक्ने आर्थिक हैसियत नभएकै कारण श्रीमानले घर छाडेको गाउँलेहरु अनुमान गर्छन्।

श्रीमानले नै छाडेर गएपछि उनी झनै एक्लो भइन्। घरमा वृद्ध सासू ससुराबाहेक कोही रहेनन्।
 
उनमा आशा थियो, श्रीमान् फर्किएलान्। तर न उनी फर्किए न त माइतीहरु नै उनलाई भेट्न आए। 

सासू ससुरासँग एउटै विकल्प थियो- सिर्जनाको व्यवहारका कारण बच्चालाई असर नगरोस्। यही सोचेर बाँधेर राख्ने निर्णय गरे।

सिर्जनाको बेहोसीमै कुरा गर्थिन्, यतिसम्म कि म आमा बन्दैछु भन्नेसम्म उनलाई ज्ञान हुन छाडिसकेको थियो। उनका लागि बाँधिएरै बिहान बेलुकीको दुई छाक खाना खानु कहरिलो दैनिकी बन्न थाल्यो। 

सिर्जनाको यो घटनाबारे छ महिनापछि मात्रै एबिसीका टेलिभिजनका स्थानीय पत्रकार विदुर कटुवालले थाहा पाए र समाचार लेखे।

सिर्जनाको कारुणिक कथामाथिको समाचार एबिसीको अनलाइनमा पनि छापियो। 

यही समाचार देखेकी पत्रकार दिव्यज्योति बिष्टको दिमागमा क्लिक गरिहाल्यो- तत्काल उद्धार गरी उपचारको व्यवस्था मिलाउने।
उनले यो घटनाबारे आफ्नो सामाजिक संस्था लोक जननीका साथीहरुलाई भनिन्। संस्थाकी अध्यक्ष लगायत अन्य सहकर्मीहरु पनि सिर्जनाको उद्धार र उपचारका लागि सहयोग गर्न राजी भए।
‘त्यो सिर्जनाको मात्र समस्या थिएन,' लोकजननीकी कोषाध्यक्ष समेत रहेकी दिव्यज्योतिले भनिन्, 'त्यहाँ त पेटभित्र बच्चा पनि थियो। त्यसले पनि मलाई बढी छोयो र उद्धार गर्ने सोच बन्यो।' 

लोकजननी टोलीले उदयपुरको त्रियुगामा रहेकी सिर्जनाबारे बुझ्न सम्पर्क गर्योम। उद्धार र उपचारका लागि परिवारले सहमति जनाएपछि उनीहरुले तयारी थाले।

पत्रकार विदुर कटुवाल लगायतको टोलीले सिर्जनालाई हेटौंडास्थित अस्पतालमा भर्ना गरे। 
लोकजननीले हेटौंडामा सामान्य उपचारपछि अरु थप उपचारका लागि काठमाडौं ल्याउने योजना बनाएको थियो। गर्भावस्थामा मानसिक रोगको औषधि खान नमिल्ने भएके मानव विकास सेवा आश्रममा राखिएको दिव्यज्योति बताउँछिन्। 

सो आश्रमले मानसिक सन्तुलन गुमाएकाहरुलाई राख्दै आएको छ। सिर्जनाको लागि भने सम्पूर्ण जिम्मेवारी लोकजननीले नै लिने घोषणा गर्‍यो।
 
समाचार सार्वजनिक भएको दुई सातापछि यही साउन ३१ मा लोकजननी टोली सिर्जनाको अवस्था बुझ्न र उनको नाममा सहयोग भएको रकम हस्तान्तरण गर्न हेटौंडा पुग्यो। 
'सिर्जनालाई भेट्दा र उनीसँग कुरा गर्दा हामी त अचम्ममा पर्‍यौं,' दिव्यज्योति भन्छिन्, 'त्यति राम्रो नाच्ने र गाउने गर्दिरहिछिन्। कसरी मानसिक सन्तुलन गुमाइन् होला?

खुसीको कुरा त सिर्जनाले गएको भदौ ६ गते छोरीलाई जन्म दिइन्।

लोकजननी टोली अब केही महिना सिर्जनाको बच्चासँगको सम्बन्ध, निकटता र उसको मानसिक स्थितिको परिवर्तन हेर्न चाहन्छ। उनलाई ठिक नभए काठमाडौं ल्याएर उपचार गर्ने तयारी पनि छ संस्थाको।

मानव विकास सेवा आश्रममा रहुन्जेल लोकजननीले मासिक २५ हजार नगद सहयोग गर्ने भएको छ। 'उनले औषधि खान मिल्ने अवस्था भएपछि मानसिक रोगको उपचारका लागि हामीले काम गर्नेछौं,' दीपज्योतिले भनिन्। उनको संस्था बच्चाको रेखादेखमा पनि लागिरहेको छ। बच्चाको स्वास्थ्य अहिले सामान्य नै रहेको उनले बताइन्।

असामान्य अवस्था देखिएपछि अत्तालिएका सिर्जनाका परिवार अहिले निकै खुसी छन्।

'बुहारीको उद्धार र उपचार गर्ने संस्थादेखि हामी निकै खुसी छौं,' ससुरा भीमबहादुरले भने, 'यो खबर सुनेर अब त छोरो पनि फर्किएला नि।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell