PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लोकमानलाई महाभियोग नलगाइए लोकतन्त्रका लागि विषवृक्ष



लोकमानलाई महाभियोग नलगाइए लोकतन्त्रका लागि विषवृक्ष

  • डा. गोविन्द केसी -
नेपाल सरकारले हामीसग गरेका सम्झौताहरुको बारेमा तपाईहरुलाई अबगतै छ । प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने बित्तिकै तत्कालीन सरकारले हामीसग गरेका सम्झौताहरु तत्कालै कार्यान्वयन गर्ने वाचा दिइएको थियो । तर पनि नयाँ सरकार बनेको झन्डै ३ हप्ता बितिसक्दा सरकारको तर्फबाट समझौता कार्यान्वयनप्रति उदासीनता देखिएको छ । यसले कतै विगतमा झैँ छलछाम गरेर राज्यले नागरिकहरुलाई ढाँट्ने हो कि भन्ने गंभीर आशंका उत्पन्न भएको छ। 

विगतका सत्याग्रहहरुमा सामान्यतया अनसन तोडेपछि हामीले गरेका सझौताहरु सरकार तथा नीति निर्माण तहमा रहने राजनीतिक नेतृत्व तहकै विश्वासमा छाडदै आएका थियौ तर सरकारी तवरबाट हरेक पटक हामीलाई विश्वासघात हुदै आइरहेको छ । त्यसैले आठौ अनसन पछाडि नखाई मात्र होइन, खाएर पनि चिकित्सा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सुधारको लागि हाम्रो लडाईलाई जारी राख्ने प्रतिबद्दता अनुरुप आज तपाइहरुलाई थप अन्तरकृयाको लागि मैले निमन्त्रणा गरेको हो । 

हामी इतिहासको एउटा जटिल अनि दुखद घडीमा उभिएका छौ । महाभूकम्प, मधेश आन्दोलन, नाकाबन्दी हुदै भर्खरै तराई मधेश तथा बिभिन्न पहाडी भूभागहरुमा गएको बाढी पहिरोको ठुलो मानवीय तथा भौतिक क्षतिबाट हामी बामे सर्न खोज्दै छौ । यो संबेदनशील समयमा हामीलाई जिम्मेवार अनि जनमुखी नेतृत्वको सबैभन्दा ठुलो आबस्यकता छ । अहिलेको राजनितिक नेतृत्वलाई त्यस्तो भूमिका खेल्ने स्वर्ण अवसर हामीले दिइरहेका छौं तर त्यसको सदुपयोग नहुने संभावना बढ्दै गइरहेको हामीलाई महसूस भएको छ।  

चिकित्सा शिक्षा र स्वास्थ्य जस्तो मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण क्षेत्रमा जनमुखी नीतिनिर्माण गर्नका लागि किन नेतृत्व तहले आलटाल गर्दै छन् ?  संसद्जस्तो नीतिनिर्माण गर्ने गरिमामय स्थानमा जनताले भोट दिएर पठाएका कतिपय  प्रतिनिधिहरु नै अनुचित निहित स्वार्थ र प्रलोभनबाट प्रभावित हुनु त्यसको महत्वपूर्ण कारण भएको बुझिन्छ।  फलस्वरूप दिनप्रतिदिन स्वास्थ्य शिक्षा र सेवा जनताको सहज पहुचबाट टाढा पुगिरहेका छन् । नेपालको जुनसुकै भूभागमा रहे पनि हरेक नागरिकलाई स्तरीय र सुलभ स्वास्थ्य सेवा पुर्याउनु राज्यको कर्तब्य हो । तर यस्तो संवेदनशील क्षेत्रलाई व्यापार र विशुद्ध अर्थोपार्जनको सहज माध्यम बनाइएकाले महंगो, गुणस्तरहीन र शहरकेन्द्रित सेवा लिन नागरिकहरु बाध्य छन् ।

नेपालमा संस्थागत बन्दै गैरहेको बेथितिको जालो राजनीतिक दलका नेताहरु, ब्यापारीहरु अनि कर्मचारी तन्त्रको बीचमा जेलिएको छ । यो जालोले सबै क्षेत्रका राम्रा र ईमानदार मान्छेहरुको लागि अगाडी बढ्ने बाटो बन्द गरिदिएको छ । देशमा भ्रस्टाचार न्यूनीकरण गर्दै सुशासन स्थापना गर्ने प्रयासको नेतृत्व गर्नु पर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त्त लोकमान सिंह कार्की नै सबै भन्दा भ्रस्ट तथा माफियातन्त्रको बलियो संरक्षकको रुपमा उभिनु हामी र हाम्रो आउने पुस्ताका लागि सबैभन्दा ठूलो चिन्ता अनि हिनताबोधको बिषय हो । जबसम्म लोकमान जस्ता भ्रस्ट प्रवृतिलाई खुलेर चुनौती दिने मनोबल तथा संस्कारको विकास हामीले गर्दैनौ, तबसम्म हामी यस्तै प्रवृतिको दास बन्न विवश बन्ने छौ । 

उनले अभ्यास गरिरहेको समानान्तर सत्ता र आफुलाई कानुन भन्दा माथि राखेर गरिरहेको कुकृत्यहरुको लागि उनीविरुद्ध महाअभियोग लगाउनका लागि संसद अगाडि बढ्नु पर्दछ । उनले गरेका कुकृत्यहरु सार्बजनिक बहसमा आएर उनिविरुद्ध यति ठूलो जनमत बनिसक्दा पनि, संसद उनलाई महाअभियोग लगाउन अगाडि सरेन भने, त्यसले दण्डहीनतालाई थप संस्थागत गर्नेछ।  त्यति मात्र होइन लोकमान पछि आउने जो सुकै ब्यक्त्तिले पनि उनी जस्तै आफूलाई कानुन भन्दा माथि राखेर अगाडि बढ्ने ढोका खुला रही रहन्छ। यो संस्कार लोकतन्त्रका लागि नै बिष वृक्ष  बन्ने छ । 

कति जनाले अहिले यथार्थलाई बंग्याउँदै भन्छन् हाम्रो अभियानले अदुअआलाई कमजोर बनाउँछ। तर हाम्रो अभियान अख्तियार संस्थाको बिरुद्द होइन । हाम्रो लडाई अख्तियार जस्तो संस्थामा लोकमान सिंह जस्ता भ्रस्ट ब्यक्ति र प्रवृतिलाई छेउ छाउमा पनि पर्न दिनु हुदैन भनेर हो । खराब ब्यक्तिहरु असल संस्थाको नेतृत्वमा पुगे भने त्यसले सम्पूर्ण समाजलाई नै धराशायी बनाउन सक्छ। जसको कारण ईमानदार नागरिकहरुले  दुख पाउछन, कि त पलायन हुन्छन, कि समाजमा हिनताबोधको जीवन बाच्न विवस हुन्छन । लोकमान सिंह कार्कीलाई नियुक्तिको परिणाम हामीले भोग्न थालिसकेका छौ । लोकमान सिंहको स्वास्थ्य क्षेत्रमा जोडिएको व्यापारिक  स्वार्थका कारण हामीले बिभिन्न चरणमा उठाएका मागहरु पुरा नभएका हुन् जसले हरेक नागरिकको जीवनमा अर्थ राख्छ । पछिल्लो समयमा बाहिर आएका प्रमाणहरुले निसंकोच के प्रमाणित गर्छन् भने, उनी आफै यो देशको सबैभन्दा ठूलो भ्रस्ट र माफिया हुन् । उनले समाजका असल वा कम खराब मान्छेलाई भ्रस्टाचारको आरोपमा दुख दिएर ठुला भ्रस्ट र माफियालाई संरक्षण दिन्छन्। उनलाई अख्तियार जस्तो पबित्र र महत्वपूर्ण संस्थाबाट बाहिर ल्याई  कानुनी कारबाही सुरु नगरेसम्म हामीलाई हाम्रो लोकतन्त्रले गिज्याई रहने छ । 

प्रिय मित्रहरु, म यसै कार्यक्रम मार्फत वर्तमान प्रधानमन्त्री प्रचण्ड ज्युलाइ हार्दिक अनुरोध गर्दछु म सग नेपाल सरकारले गरेका सम्झौताहरु अबिलम्ब कार्यान्वयन गरियोस्। ठूलो उथलपुथल र हिंसापछि देशको सर्बोच्च स्थानमा पुग्नु भएका प्रचण्ड ज्युले लोकमान जस्तो खराब चरित्रको अगाडी खुट्टा कमाएर लोकतन्त्र कै बलि चढाउनुहुनेछैन भन्ने हामीलाई विस्वास छ । यो मौका गुमाउनु भयो भने उहाँ  त जीवनभर पछुताउनु हुनेछ नै, एउटा सिंगो पुस्ताको भबिश्य पनि उहाँको कारण अन्योलमा पर्ने छ । त्यसो हुन नदिन जे गर्नु आवश्यक पर्छ, त्यो गर्न हामी तयार छौं।  

म प्रतिबद्ध छु, मेरा मागहरु पुरा नभए सम्म म अविचलित रुपमा खाएर वा भोकै लडिरहने छु । मैले उठाएका मुद्दाहरुमा अपनत्व महसुस गर्दै यो अभियानमा “सोलिडारिटी फर डा केसी अलायन्स” को रुपमा आबद्द सम्पूर्ण सहयात्री साथीहरुलाई म हार्दिक आभार ब्यक्त गर्दैछु । अन्तमा यो शनिबार, भाद्र ४ गते,  दिनको ११ बजे बालुवाटार प्रधानमन्त्री निवास अगाडी उपस्थित भएर हाम्रो सडक संघर्षमा साथ दिनु हुन् सबैलाई निमन्त्रणा गर्दछु । त्यसलगत्तै देशव्यापी रुपमा सशक्त रुपमा चलाइने सुशासन अभियानमा तमाम नागरिकहरुको तर्फबाट सक्रिय सहभागिताको अपेक्षा गर्दछु।  

(डा. केसीले शिक्षण अस्पताल, महाराजगंजमा २०७३ भदौ १ गते गरेको पत्रकार सम्मेलन)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell