PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​मस्तिष्कको रहस्य पत्ता लगाउन वैज्ञानिकहरु पुगे नेपालको सगरमाथा क्षेत्रमा



​मस्तिष्कको रहस्य पत्ता लगाउन वैज्ञानिकहरु पुगे नेपालको सगरमाथा क्षेत्रमा

सगरमाथा क्षेत्रको तेङ्बोचे गुम्बा। सँधैभन्दा अलि दृश्य फरक। भिक्षुहरु ध्यानमग्न थिए अरु बेलाजस्तै। तर उनीहरुको टाउकोमा एउटा उपकरण थियो, जुन अघिपछि हुन्न थियो। हेडब्यान्डजस्तो यो उपकरण ती भिक्षुहरुको टाउकोमा बाँधिएको थियो। अनि उनीहरु प्रत्येकको अगाडि एक-एक वटा ल्यापटप पनि थियो। के हो त यो दृश्य?  

****
ओलाभ क्रिगोल्सन केही वर्षअघि स्पेनको एल क्यामिनो डे सान्टियागो ट्रेलमा हाइकिङ गर्दै थिए। अचानक उनको दिमागमा एउटा आइडिया आयो- हाइकिङ गरिरहेका मानिसहरुको मस्तिष्कभित्र नियालेर हेर्न पाए कस्तो होला?

युनिभर्सिटी अफ भिक्टोरियामा न्युरोसाइन्टिस्टका रुपमा काम गरिरहेका क्रिगोल्सन र युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाज ओकानागान क्याम्पसका हेल्थ एन्ड सोसल डेभलपमेन्ट संकायका डिन गोर्डोन बिन्स्टेड लेक लाग्ने (अल्टिच्युड सिकनेस) र मस्तिष्कबारे केही अध्ययन गर्दै थिए। 

त्यही अध्ययनबाटै पदमार्गमा हिँडिरहँदा आएको आइडियाले एउटा ठूलो रुप दियो- बौद्ध भिक्षुहरु आफ्नै गुम्बामा ध्यानमा बस्दा र हाइकिङ गरिरहेका हाइकरहरुको मस्तिष्कको स्थितिको तुलना गर्दा के देखिएला? 

आइडियाले दिमागमा स्ट्राइक गरिसकेपछि यत्तिकै बस्ने कुरा पनि भएन। केही फोन कलहरु भए। त्यसपछि क्रिगोल्सन र अनुसन्धानकर्ताहरुको एउटा समूह गएको मे महिनामा नेपाल उड्यो र सगरमाथा आधार शिविरमा ट्रेक गर्दै शारीरिक क्रियाकलापमा उचाइ (अल्टिच्युड) को असर बारे अध्ययन गर्न थाले। 

बाटोमा उनीहरु नाम्चे बजारमा नाम्चे र तेङबोचे गुम्बामा केही दिन बसे। त्यहाँका २५ जना भिक्षुहरुले उनीहरुलाई उनीहरुको मस्तिष्कबारे अध्ययन गर्न अनुमति दिए।

“उनीहरु यसबारे निकै सकारात्मक थिए। हामीले उनीहरुलाई हाम्रा उपकरणहरु देखायौँ जुन हेडब्यान्ड आकारको थियो। उनीहरु सबै निकै ठट्यौला थिए’, क्रिगोल्सन भन्छन्, ‘ध्यान (मेडिटेसन) बारे निकै अध्ययनहरु भएका छन्, तर भिक्षुहरुबारे निकै कम भएका छन्। किनभने स्याम्पल साइज पाउनैका लागि पनि गाह्रो हुन्छ हामीलाई।‘ 

इलेक्ट्रोएन्सेफालोग्राफी (इइजी) सिस्टम र चार वटा ल्यापटप प्रयोग गरेर भिक्षुहरु अगाडि बस्दै क्रिगोल्सन र बिन्स्टेडले पहिलो दिन तीन घण्टा १५ जना भिक्षुको र त्यही रात १० जना किशोर भिक्षुहरुको तथ्याङ्क लिए। दुई दिनपछि तेङ्बोचे गुम्बाका थप दुई जना भिक्षुको टेस्ट लिइयो। 
अध्ययनका क्रममा भिक्षुहरु सात मिनेटका लागि शान्तपूर्वक बस्थे, यही बेला अध्ययन समूहले उनीहरुको मस्तिष्कको गतिविधि अध्ययन गर्थे। त्यसपछि उनीहरुलाई एउटा सामान्य भिडियो गेम खेल्नका लागि दिइन्थ्यो। 

अगाडिका अध्ययनहरुकै जस्तो प्रारम्भिक नतिजाले के देखायो भने यत्तिकै बस्नुभन्दा ध्यानका क्रममा आराम (रिल्याक्सेसन), फोकस र सिन्क्रोनिसिटीसँग सम्बन्धित मस्तिष्कका गतिविधिमा वृद्धि हुन्छ। जब भिडियो गेम दिइयो, उनीहरुको भिजुअल स्टिमुली फोकस्ड एटेन्सन मेडिटेसनपछि थप वृद्धि भएको पाइयो। यही अध्ययनकर्ताहरुका लागि नयाँ विषय भइदियो। 

बिन्स्टेड भन्छन्- प्रारम्भिक नतिजाले हामीलाई के देखाउँछ भने ध्यान जस्ता इन्टेन्सनल ब्रेन ट्रेनिङ टेक्निकहरुले मस्तिष्कका क्रियाकलापमा दीर्घकालीन असर पार्न सक्छ।

‘यो र पछि हुने अनुसन्धानहरुलाई कसरी उपयोग गर्न सकिन्छ जस्तै शिक्षकहरुले रणनीति बनाउनेदेखि लिएर स्मार्टफोनहरुमा माइन्डफूलनेस एप्सको विकास गर्नेसम्मका विषय हेर्न रमाइलो हुनेछ’, उनी भन्छन्।

क्रिगोल्सन नेपालमा गरिएको अनुसन्धानको अनुभव गज्जबको भएको बयान गर्छन्। 

'मस्तिष्कबारे हामीलाई धेरै कुरा थाहै छैन। कसरी मानिसहरुले सिक्छन् र कसरी निर्णय गर्छन् भन्नेबारे हामीलाई निकै कम थाहा छ। यो अनुसन्धान कुनै दिन मस्तिष्कले कसरी काम गर्छ भन्ने बारे एउटा पूरा चित्र देखाउन गरिएको हो…र अहिले यो कथामा थुप्रै टुक्रा हराएका छन्', उनी भन्छन्।  (भिक्टोरिया न्युजबाट भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell