PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

देउवाले 'एक दिन पख' भनेपछि नेविसंघका अनसनकारी निराश, अब आमरण अनसन



पहिलोपोस्ट

देउवाले 'एक दिन पख' भनेपछि नेविसंघका अनसनकारी निराश, अब आमरण अनसन

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा छ दिनदेखि रिले अनसनमा रहेका नेपाल विद्यार्थी संघका अनसनकारीहरु निराश भएका छन्। उनीहरु रिले अनसनबाट नेतृत्वले आफ्ना मागको सुनुवाइ नगर्ने निष्कर्षसहित आमरण अनसनको तयारीमा जुटेका छन्।
 
नेविसंघका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा पाँच दिनका लागि भन्दै छ दिनअघि सुरु भएको रिले अनसन पार्टी सभापति शेरबहादुर देउवाले 'एक दिन पख' भनेकै कारण थप एक दिन लम्बिएको थियो।
 
नेविसंघको अधिवेशन हुन बाँकी ११ जिल्लामा विधिसम्मत अधिवेशन हुनुपर्ने, दुई वटा अध्यक्ष रहेका थप ११ जिल्लामा विधिसम्मत समाधान खोज्नुपर्ने र नेविसंघका १६ सय प्रतिनिधि विधिबाट नछानिएकाले उनीहरुलाई विधिसम्मत रुपमा चयन गर्नुपर्ने र तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने उनीहरुको माग छ।
 
‘हामीले पाँच दिनका लागि भनेर घोषणै गरेर रिले अनसन सुरु गरेका थियौं तर पाँचौ दिन सभापति शेरबहादुर देउवाले 'एक दिन पख' भन्नुभएको थियो,' अनसनको नेतृत्व गरिरहेका कुन्दनराज काफ्लेले भने, ‘उहाँले समेत हाम्रा माग पूरा गर्ने संकेत नदेखाएपछि अब आमरण अननसनमा जान लागका हौं।’ उनले नेतृत्वले माग पूरा नगर्दैमा आफू निराश भने नभएको बताए।
 
‘हामी आन्तरिक लोकतन्त्रका लागि लडाइँ लड्न पाएकोमा खुसी नै छौं,’ काफ्लेले भने, ‘लोकतान्त्रिक विधि मान्ने हाम्रो पार्टीले नेविसंघलाई लोकतान्त्रिक बनाउन पहल नगरेकाले त्यसमा दबाब दिन आमरण अनसनमै जान लागेका हौं।’ अनसनमा कति जना रहने भन्नेबारे इच्छाअनुसार हुने उनले बताए।
 
काफ्ले नेतृत्वको समूह अनसनमा बसिरहेका बेला अर्को समूह पनि सानेपामै अनसन बसिरहेको छ। त्यो समूहले भने रिले अनसनलाई आमरण अनसनमा लैजाने वा नलैजानेबारे धारणा सार्वजनिक गरिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell