PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महिला मैत्रीपूर्ण भलिबल : नेपाल भारतसँग सोझो सेटले पराजित



गोविन्दराज नेपाल

महिला मैत्रीपूर्ण भलिबल : नेपाल भारतसँग सोझो सेटले पराजित

काठमाडौं : मैत्रीपूर्ण महिला भलिबलमा नेपाली टोली भारतीय टोलीसँग सोझो सेटमा पराजित भएको छ।
 
अन्तर्राष्ट्रिय भलिबल संघ (फिभ्ब) ले उपलब्ध गराएको नयाँ म्याटको उद्घाटनमा घरेलु कोर्टमा खेलाइएको पहिलो खेलमै नेपाल पराजित हुन पुग्यो। प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीमा कोच र कप्तानले भारतलाई हराउने उद्देश्य रहेको बताए पनि नेपाली टोली र दर्शकको चाहना पूरा हुन सकेन।
 
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भएको हो। भारत २५-२० २५-१९ र २७-२५ को सेटमा विजयी भएको हो।
 
नेपाल भलिबल संघको निमन्त्रणामा दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको भारतीय टोली घरेलु टोलीमाथि पूर्ण रुपमा हाबी रह्यो। तीन वटै सेटको खेल प्रतिस्पर्धात्मक बन्यो भने अन्त्यतिर नेपाली टोलीको कमजोरी दोहोरिँदा भारतीय टोली विजयी भयो।
 
कभर्ड हलमा उपस्थित हजारौं दर्शकको हुटिङ र समर्थन पाए पनि नेपाली टोलीले त्यसलाई सदुपयोग गर्न सकेन। नेपालका लागि युवा स्पाइकर प्रतिभा मालीबाहेक खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
 
नेपाली टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गरेको बताए। 'हामीले आफ्नो स्तर अनुसार राम्रो खेलेको हौ,' उनले भने, 'भारती टोलीको जम्प रिच र स्पाइक राम्रो थियो। तर मेरो टोली अनुभवमा कमजोर देखियो।’
 
भारतीय महिला टोलीकी प्रशिक्षक बैशाली फडतरेले नेपालले आज राम्रो खेल खेलेको प्रतिक्रया दिइन्। ‘ विगतमा भन्दा नेपालले राम्रो खेले पनि उनीहरुमा अनुभवको कमी छ,'  उनले भनिन्, 'आजको खेलमा नेपालको डिफेन्स र ब्लक कमजोर थियो। तर उनीहरुले अझै सुधार गर्न सक्छन्।’
 
तीन वटै सेटमा प्रतिभाले नेपालका लागि सर्वाधिक अंक जोडे पनि रिसिभ, ब्लक र स्पाइकमा नेपालको कमजोरी भारतविरुद्ध प्रस्ट देखियो।
पहिलो सेटमा ४-० ले पछि परे पनि पुनरागमन गरेको नेपालले अन्त्यतिर निराशाजनक प्रदर्शन गर्दा २०-२५ ले सेट गुमायो।

दोस्रो सेटमा पनि ४-० ले नै पछि परेको नेपाल कुनै पनि बेला खेलमा फर्कन नसक्दा भारत २५-१९ ले विजयी भयो।

सुरुवाती दुई सेटमा हारेको नेपालले तेस्रो सेटको सुरुमै अंक जोड्दै राम्रो छनक देखाए पनि पुरानै कमजोरी दोहोरियो।

१०-१० को बराबरीपछि नेपालले १५-११ को अग्रता बनायो तर भारतले लगातार ४ अंक जोड्दै बराबरी गरेपछि नेपाली टोली दबाबमा पर्‍यो।
तेस्रो सेटको अन्तिमसम्म भारतविरुद्ध लिड गरेको नेपालले २४-२२ को अग्रता कायम गरेको थियो। जित नजिक पुगेको बेला लगातार ३ अंक गुमाएपछि नर्भस देखिएको नेपाली टोली अन्तत: २७-२५ ले पराजित भयो।

नेपालको तर्फबाट तीन वटै सेटमा गरी प्रतिभा मालीले सर्वाधिक १९ अंक जोडिन् तर अन्य खेलाडीले राम्रो साथ दिन नसक्दा भारतलाई हराउने नेपालको सपना पूरा हुन सकेन।

दुवै टोलीमा बाह्रौं साग गेम्स खेलेका खेलाडीहरुको बाहुल्य थियो। भारतीय टोलीबाट कप्तान पूर्णिमा एमएस, रेखा एस, निर्मला, स्मिसा केएस र निशा जोसेफको प्रदर्शन उत्कृष्ट रह्यो।
 
नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेल शुक्रबार दिउँसो कभर्ड हलमै हुनेछ।

फोटो : राखेप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell