PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​डिएफआइडीद्वारा झन्डै साढे चार अर्ब अनुदान सहयोग



रासस

काठमाडौँ : संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न रु चार अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ।
 
सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित डिएफआइडीका प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरे।
 
कार्यक्रमअन्तर्गत प्राविधिक एवम् प्रत्यक्ष वित्तीय सहायता उपलब्ध गराई सीप विकासमा खर्च गरिनेछ।
 
विशेष गरी महिला तथा पीडित वर्गको सीप विकासमा खर्च गरिने उक्त कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले कार्यान्वयन गर्नेछ।
 
नेपाल सरकारले लागू गरेको वैदेशिक सहायता नीतिअनुरुप प्राप्त हुने उक्त अनुदान खासगरी भूकम्पपछिको पुनःनिर्माण एवम् उत्कृष्ट निर्माणमा केन्द्रित रहनेछ । उक्त कार्यक्रमका निम्ति सात हजारभन्दा बढी डकर्मीलाई तालिम दिइनेछ।
 
कार्यक्रममा सहसचिव अर्यालले २०० वर्षदेखिको नेपाल–संयुक्त अधिराज्य सम्बन्ध पारस्परिक विकासमा सहयोगी रहेको चर्चा गर्दै भविष्यमा पनि नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहायता प्राप्त हुने विश्वास व्यक्त गरे।
 
डिएफआइडीका प्रमुख गेलले बर्सेनि चार लाख श्रमिक श्रम बजारमा आउने गरेका तथ्याङ्क प्रस्तुत गर्दै उनीहरुलाई स्वदेशमै सीप सिकाउने कार्यक्रमको लक्ष्य रहेको बताए।
 
विदेश जान चाहने कामदारका लागि पनि सीप विकास कार्यक्रम फलदायी हुने विश्वास उनले व्यक्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell