PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वर्षको झन्डै २ अर्बको विदेशी रक्सी पिउँछन् नेपाली



पहिलोपोस्ट

वर्षको झन्डै २ अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

  • अमर बढुवाल-
काठमाडौं : गत वर्ष पौने दुर्इ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ।  भन्सार विभागका अनुसार गत वर्ष १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको हो।
 
स्वदेशमै राम्रा र गुणस्तरीय मदिरा उत्पादन भए पनि विदेशी मदिराको पारखी नघटेको विभागको तथ्यांकले देखाउँछ। विदेशबाट १ करोड २३ लाख लिटर बराबरको विदेशी मदिरा मुलुक भित्रिएको छ। विभागका अनुसार मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मात्रै ३९ करोड २७ लाख रुपैयाँ बराबरको मुलुकमा भित्रिएको छ। कच्चा पदार्थ र मदिरा गरेर विदेशबाट २ अर्ब २० करोड रुपैयाँ बराबर मुलुक भित्रिएको विभागले जनाएको छ। स्वदेशमा रहेका मदिरा उद्योगले मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट भित्र्याउने गर्छन्।
 
विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल, वाइन, ह्विस्की, माल्ट वियर, गुलियो रक्सी,जिन/भोड्का र रम विदेशबाट आयात हुन्छ। विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल ७७ करोड ९५ लाख , वाइन २५ करोड ५२ लाख, ह्विस्की ६७ करोड, माल्ट वियर २ करोड २० लाख, गुलियो रक्सी ३ करोड ७६ लाख, जीन/भोड्का ३ करोड ५६ लाख, रम १८ लाख १५ हजार रुपैयाँ र अन्य ५८ लाख ४० हजार रुपैयाँ बराबरको मुलुक भित्रिएको विभागले जनाएको छ।
 
सबैभन्दा बढी मदिरा बेलायतबाट आयात हुने गरेको विभागले जनाएको छ। विभागका अनुसार नेपालमा आउने मदिरा भारत, बेलायत, फ्रान्स, अष्ट्रेलिया, स्पेन, इटाली,सिंगापुर, नेदरल्याण्ड, चीन, मेक्सिको, क्युवा, आयरल्याण्ड, अमेरिका, बेल्जियम र स्विडेनबाट आयात हुन्छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell