PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​संसदमा दोहोरियो राप्रपाको 'मुसा' काण्ड



​संसदमा दोहोरियो राप्रपाको 'मुसा' काण्ड

काठमाडौँ : २०५४ सालको असोज १८ गते लोकन्द्रबहादुर चन्द संसदको रोष्टमबाट अविश्वासको प्रस्तावमा जवाफ दिदैँ थिए। उनीविरुद्ध कांग्रेसका गिरिजाप्रसाद कोइरालासहित ८६ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 

चन्दको मन्त्रिपरिषदमा रहेका मन्त्री नै रहेका कमल थापा र फत्तेसिंह थारुसहित राप्रपाका केही सांसद अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न उभिएका थिए। दुवै मन्त्रीले अविश्वासको प्रस्ताव राख्ने नेपाली कांग्रेसको समर्थन गरेका थिए।

रोष्टमबाट चन्दले अविश्वासको प्रस्तावमा जवाफ दिँदै भनेका थिए – 'समुन्द्रमा भएको डुङ्गा डुब्दै गएपछि मुसा एउटा डुङ्गा प्वाल पारेर अर्कोमा पुग्छ।'  चन्दले मुसा प्रवृतिको रुपमा कमल थापाको कार्यलाई अंकित गरेका थिए। 

तर ठीक त्यही प्रवृत्ति यतिबेला चन्द अध्यक्ष रहेको पार्टी राप्रपाले देखाएको छ। आफैँ सहभागी रहेको सरकार विरुद्धको अविश्वासको प्रस्तावको समर्थन गर्ने निर्णय राप्रपाले गरेको छ। चन्दका छोरा जयन्त चन्द र दीपक बोहोरा शुक्रबारसम्म मन्त्रीहरुको लाइनमा बसेका थिए। शनिबारबाट उनीहरु प्रतिपक्षीको लाइनमा खडा भएका छन्। 

रोचक संयोग त के परेको छ भने उनले जसलाई १९ वर्षअघि मुसा भन्दै आलोचना गरेका थिए, उही कमल थापा अध्यक्ष रहेको राप्रपा नेपाल यतिबेला सरकारमा उपप्रधानमन्त्री छन् र मुसा प्रवृत्ति देखाएका छन् चन्द अध्यक्ष रहेको पार्टी राप्रपाले। थापा सरकारमा उपप्रधानमन्त्री छन् साथै अविश्वासको प्रस्तावको विपक्षमा। 

राप्रपाको संसदीय समितिको निर्णयमा भनिएको छ – 'वर्तमान केपी ओली नेतृत्वमा रहेको सरकारको समर्थन फिर्ता लिने निर्णय गर्दछ। पार्टीको तर्फबाट वर्तमान सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। साथै संसदमा टेबल भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।'

राप्रपाका सांसद विक्रम पाण्डेले पहिलोपोस्टसित भने – 'हामी अब अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौँ।'

एकता धकेलियो

राप्रपा र राप्रपा नेपालबीच गत असार २६ गते पार्टी एकता गर्ने नीतिगत र संरचनागत विषयमा समझदारी भएको थियो। साथै दुई साताभित्र पार्टी एकता सक्ने घोषणा नै गरेका थिए। २७ गते दुवै पार्टीका शीर्ष नेताहरुले भेला समेत गरेका थिए।  


एकता प्रक्रियालाई लिएर राप्रपाका प्रकाशचन्द्र लोहनी लगायतका केही नेता असन्तुष्ट रहँदै आएका थिए। स्रोतका अनुसार स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा र अर्का सांसद विक्रम पाण्डेको मन्त्री बन्ने चाहनाले एकताको प्रक्रिया समेत धकेलिएको छ। 

वर्तमान सरकारको विपक्षमा मतदान गरेर भावी मन्त्रिपरिषद्मा मन्त्री बन्ने दाउमा दुवै रहेका छन्। पार्टी एकता भएमा सरकारको विपक्षमा रहनुपर्ने अवस्था देखिएकाले उनीहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयका लागि जोडबल गरेका थिए। 

यद्यपि राप्रपाले भने बजेट फेल भएको अवस्थामा सरकारले बहुमत गुमाएकै कारण सरकारमा बसिरहनुको ओचित्य समाप्त भएकाले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell