PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​क्रिकेटमा निलम्बनले अन्तर्राष्ट्रिय क्षेत्रमा हामी कलंकित भएका छौँ



पहिलोपोस्ट

​क्रिकेटमा निलम्बनले अन्तर्राष्ट्रिय क्षेत्रमा हामी कलंकित भएका छौँ

  • केशवकुमार विष्ट, सदस्य सचिव, राखेप 
क्रिकेटको सफलतालाई निरन्तरता दिन र नेपाली क्रिकेटमा थप उचाई हासिल गर्न महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछौं। केही समय अघि सीमित व्यक्तिको भोगविलासका निम्ति, रमाइलोका निम्ति खेलाडीहरुमाथि बज्रपात भयो। अत्यन्त ठूलो घात गरियो निजी स्वार्थका निम्ति। क्रिकेटको नेतृत्व सँधैभरी लिइरहेकाहरुको निम्ति के कसरी छलछाम गरेर हुन्छ क्रिकेटमा बसिरहने दुस्प्रयास गरियो, त्यसैले उत्पन्न्न गरेको परिणाम आज क्यान सस्पेन्ड भयो। हामीलाई दुःख लाग्छ, हाम्रै पालामा, हामीले खेलकुदको नेतृत्व लिएको पालामा।

क्यान सस्पेन्ड गरिँदाखेरी सिंगो क्रिकेट जगतलाई अबको भविष्य के हुने हो, क्रिकेटमा लागेका खेलाडीहरुलाई अब हाम्रो भविष्य के हुने हो भनेर चिन्ता छाएको छ। क्यान सस्पेन्ड हुनुमा राखेपको वा तपाईहरुको कुनै दोष छैन।

केही मुठ्ठीभरका मान्छेहरुले क्रिकेटलाई आफ्नो स्वार्थसिद्ध गर्नेहरुका कारणले गर्दा आज यो अवस्था आएको छ। तर अब त्यस्तो अवस्था आयो, यस्तो दुर्घटना भयो भनेर हामी चुप लागेर बस्ने, निराश हुने बेला छैन। कहिलेकाँही के हुन्छ भने नयाँ परिवर्तन आउने बेला, देश वा समाजले विकास गर्ने, नयाँ फड्को मार्ने बेला कहिलेकाँही यस्तो घटना, समस्या आउँछ। रात पर्योे, अँध्यारो भयो भन्दैमा निराश हुनु पदैन। भोलि बिहान अवश्य उज्यालो हुन्छ भन्ने आशा गरौ।

क्रिकेट अहिले जुन कालो बादलले छाएको छ, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने याद गरौं। यही चिजलाई, यही अभावलाई, यही समस्यालाई मुक्त गराउनको निम्ति क्रिकेटको भविष्य उज्यालो छ र क्रिकेटको भविष्यलाई हामी अझै चम्काउँछौं, क्रिकेटको यात्रालाई अझै अगाडि बढाउँछौं र क्रिकेटमा लागेको खेलाडीहरुको भविष्य हामीले उज्ज्वल बनाउँछौं भन्ने दृढ संकल्पका साथ राखेपले यस्ता खालको चुनौतीको सामना गर्न यो प्रतियोगिताको आयोजना गरेको छ।

तपाईहरुलाई म आश्वस्त पार्न चाहन्छु कि तपाईहरु निराश नहुनुस्, कोही दुई चार जना व्यक्तिले कसैको व्यक्तिगत आकाँक्षाले नेपाली क्रिकेट अब रोकेर रोकिँदैन, क्रिकेटको भविष्य अझै राम्रो हुन्छ। क्रिकेट अझै अगाडि बढ्छ। केही समयपछि हेर्नुहोला क्यानको यो निलम्वन पनि फुकुवा हुन्छ, क्रिकेटले असल नेतृत्व पाउँछ। क्रिकेटको आउनुपर्ने बजेट पनि आउँछ। नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदले अझै क्रिकेटमा लगानी गर्छ र क्रिकेटको भविष्य राम्रो पार्नको लागि अझै काम गर्छ। तपाईहरु विश्वासका साथ अगाडि बढ्नुस्।


क्रिकेट कसैले रोकेर रोकिदैँन। कसैको निजी सम्पत्ति होइन। लाखौँलाख युवा लाखौँलाख खेलाडीहरु आबद्ध भएको क्रिकेटले नेपालको गौरव बढाइरहेको छ। 

मैले त धेरै ठाउँमा भन्ने पनि गरेको छु अमेरिकालाई हराउन सक्ने ताकत नेपालको कुनै क्षेत्र वा समुदायसँग छ? पटक पटक अमेरिकालाई हराएन नेपाली क्रिकेटले।

क्यानडालाई चीनलाई हङकङलाई अथवा अन्य खेलमा विभिन्न शक्तिशाली भनिएका देशलाई नेपालले हराएको छ। फुटबलमा इन्डियालाई हराइदेन?

नेपालको कुनै पनि सम्प्रदाय छ, शक्तिशाली भनिएका देशलाई, धनी देशलाई सम्पन्नशाली देशलाई हराउने? ताकत छ भने त्यो नेपालको क्रिकेटमा छ, नेपालको फुटबलमा छ, नेपालको खेल जगतमा छ। त्यो ताकत कोसै सँग छ भने नेपालको खेलाडीसँग छ।

अनि यस्तो समुदायमाथि केही मुठ्ठीभरका मान्छेहरुले बन्धक बनाउने? खबरदार ! 

कोही पनि कानुन भन्दा माथि छैन। कोही पनि नियम भन्दा माथि छैन। र कसैले पनि लाखौ लाख नेपाली खेलाडीमाथि खेलवाड गर्न पाउँदैनन्। यदि पाउँछ भने ऐन कानुन भित्र रहेर, नीतिभित्र रहेर अगाडि बढ्नुपर्छ।

यदि त्यस्तो खालका मानिसहरु यस्तो खालका प्रवृत्तिहरु क्रिकेटभित्र छन् भने तपाई हामी आश गरौं तिनीहरुलाई अब हामीले निमिट्यान्न पार्नुपर्छ। 

त्यस्ता व्यक्तिहरुलाई विस्थापित गर्नुपर्छ। साँच्चै क्रिकेटलाई माया गर्ने साँच्चै क्रिकेटलाई समर्थन गर्ने क्रिकेटलाई आफ्नो जीवन ठान्ने, र क्रिकेटमा जीवन बिताएकाहरुको नेतृत्वमा क्रिकेट आउनुपर्छ जसले नेपाली खेलाडीलाई माया गर्छ। जसले नेपाली खेलाडीको समस्यालाई बुझ्छ, उनीहरुको नेतृत्वमा आउनुपर्छ।

अब खेलाडी भएरै बाँच्न सक्ने, खेलाडी भएरै बाँच्न पाउने। खेलाडी भएरै सम्मानित जीवन बिताउन पाउने त्यस्तो अवस्था हामीले सिर्जना गर्न सक्नुपर्छ। 

खेलाडी अब कसैका हुँदैनन्। आफ्ना निजी सम्पत्ती जस्तो उठ भन्दा उठ, बस भन्दा बस, अनि आसेपासे नजिकका, परिवार वरीपरिका, चिनेजानेका मात्रलाई अनि उनीहरुलाई मात्र अगाडि बढाउने अब समय गयो।

खुल्ला छनोट गरेर, चाहे त्यो दुर्गम क्षेत्रमा बस्ने होस्, चाहे त्यो सहरमा बसेको होस्, चाहे त्यो गाउँमा बसेको होस्, चाहे त्यो सरकारी स्कुलमा पढेको होस्, चाहे त्यो तल्लो जातीको पिछडिएका भनिएको होस् सबैले समान अवसर पाउनुपर्छ। 

यदि प्रतिभा छ भने सबैले समान अवसर पाउनुपर्छ र सबैले खुल्ला छनोटमा सहभागी हुनुपर्छ भन्ने मानसिकताका साथ अहिले हामीले यो जिल्लास्तरबाट छनोट गर्दै आएका छौं।

हामीले किन ढिलो छनोट गर्यौं भन्दा खेरी खेलकुद अब सबैको पहुँचमा हुनुपर्छ। 

चिनेको, फोन गरेको भरमा, कोचले यसो नाता गोताको भरमा, यसो सम्पर्क गरेको भरमा खेलाडीमात्र भेला गरेर अब टीम तयार गर्ने होइन। 
म त भन्छु अब खेलाडी खोज्न जिल्ला भन्दा पनि तल जानुपर्छ। अहिले हाम्रो बजेटको सिमितताले गर्दा खेरी हामीले जिल्लामा मात्र गर्यौ अझ खेलाडीको छनोट गर्ने हो भने दुर्गम बस्तीमा गएर छनोट गर्नुपर्छ।

किनभने प्रतिभा भनेको सहर बजारमा राजधानीमा मात्र हुँदैन। तपाई एउटा मिरा राईको उदाहरण हेर्नुस, भोजपुरको एउटा दुर्गम गाँउबाट मिरा राईले आज अल्ट्राम्याराथनमा वर्ड् मा च्याम्पियन बनेर देखाएको छ। आखिर प्रतिभा त जहाँ पनि हुन्छ।

क्रिकेट भित्र पनि लामो समय एउटा रह्यो। एउटा सिमित मान्छेको सिमित ठाउँको सिमित वर्गको, मान्छेहरुले मात्र क्रिकेटमाथि आधिपत्य जमाउने काम गरेको थियो अब त्यसबाट क्रिकेट मुक्त भएको छ। देशमा प्रजातन्त्र आइसकेको छ। गणतन्त्र आइसकेको छ। सबै ठाउँमा यस्तै हुनुपर्छ अब। 

क्रिकेटको भविष्य अत्यन्तै राम्रो छ। त्यही भएर सरकारले क्रिकेटलाई प्राथमिकता पनि दिएको छ। यो त्रिवि मैदान र मूलपानी क्रिकेट मैदान बाहेक थप ८ वटा क्रिकेट मैदान बन्दैछ। हरेक प्रदेशमा एउटा क्रिकेट मैदान बनाउने हाम्रो लक्ष्य छ। त्यसैगरी प्राक्टिस नोटहरु हरेक क्षेत्रमा, जिल्ला सदरमुकाममा बनाउने लक्ष्य छ।

अहिले अलिकति अन्तर्राष्ट्रिय क्षेत्रमा हामी कलंकित भएका छौं। आइसीसीको विश्वास लिनका निम्ति हामी प्रयत्नशील छौं। मलाई विश्वास छ। त्यो विश्वास केही व्यक्तिले गरेको कारणबाट नेपालको क्रिकेट उन्नतिको लागि प्रगतिको लागि बन्द भएको छ।

आवश्यक छानबिन गरेर सत्यतथ्य के हो, यहाँको घटनाको विश्लेषण गर्दै नेपालको खेलाडीको निम्ति, नेपालको क्रिकेटका निम्ति क्यानको सस्पेन्ड चाँडी फुकुवा गर्नुपर्छ र नेपाललाई दिने अनुदान निरन्तर जारी गर्नुपर्छ। 

त्यसका निम्ति हामी आफ्नो ठाउँबाट प्रयत्नशिल छौं र तपाईहरु विश्वास गर्नुस् केही दिनमै नेपालको सस्पेन्ड पनि फुकुवा हुन्छ। 

र फेरि सबै क्षेत्रबाट प्रजातानित्रक विधिबाट निर्वाचन गर्दै क्रिकेटको लागी काम गर्न सक्ने, विकास गर्न सक्ने सक्षम नेतृत्व तपाईँले पाउनुहुन्छ। अनि क्रिकेटको अविरल यात्रा सुरु हुन्छ र क्रिकेटको स्वर्ण यात्रा सुरु हुन्छ।  

र अन्त्यमा क्रिकेटको सम्भावना राम्रो छ, कुनै पनि प्रकारले निराश हुनुपर्दैन। 

यसका लागि खेलकुद परिषद्ले साथ दिनेछ सरकारले साथ दिनेछ। जुन यो क्रिकेट समन्वय समिति बनेको छ। क्रिकेटको अन्योलता चिर्नको निम्ति, खेलाडीहरुलाई निराश नहुनका निम्ति, खेलाडीलाई साथ दिनका निम्ति यो समिति बनाएका छौं।

 (आइसीसी महिला विश्वकप छनोटका लागि आयोजना भएको महिला राष्ट्रिय छनोट क्रिकेट प्रतियोगिता सुरु हुनुअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दिएको भाषणको सम्पादित अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell