PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

‘अब तिमीले मलाई कहिल्यै भेट्न पाउनेछैनौ’



‘अब तिमीले मलाई कहिल्यै भेट्न पाउनेछैनौ’

काठमाडौं आएको भोलिपल्ट केमो दिनुपर्ने थियो। तर, आइसकेपछि भन्नुभयो, 'एक–दुई दिन ढिलो भएर केही हुँदैन।'
 
यसैबीच, एनआरएनका अध्यक्ष उपेन्द्र महतो पूरै टिमसहित उहाँलाई भेट्न आउनुभयो र सहयोग रकम हस्तान्तरण गर्नुभयो। यस्तै, अन्य केही संस्थाका प्रतिनिधि र कोही व्यक्तिगत हिसाबमा पनि सहयोग दिन आउनुभयो।
 
दुई–तीन दिनपछि हामी जावलाखेलको नेसनल क्यान्सर हस्पिटल जाने भयौं, अर्को डोज केमो थप्न। त्यति बेलासम्म रुपन्देहीको योगीकुटीबाट मेरा बुवा पनि आइसक्नुभएको थियो। मुर्गिया घरबाट पनि कोही दाइ आइदिए राम्रै हुन्थ्यो भन्ने सोचेकी थिएँ मैले, तर त्यस्तो हुन सकेन। दशैंमा घर गएको बेला कुरा राख्दा भन्नुभएको थियो, 'यहाँ बुवा नै बढी सिरियस हुनुहुन्छ। पर्‍यो भने खबर गर्नू। हामीमध्ये कोही मिलाएर आउँछौं।'
 
ट्याक्सीमा जावलाखेल जाँदै गर्दै उहाँले भन्नुभयो, 'गुरूजीको फोन नम्बर राखिराख, यशु। कहिलेकाहीँ बाबु बिरामी भइहाल्यो भने बोलाउनुपर्छ।'
 
बुवाकै अगाडि उहाँ यसरी बोल्नुभयो, मानौं अब आफू छिट्टै जाँदै हुनुहुन्छ।
 
नेसनलमा पहिला रगत जाँच्न दियौं। रिपोर्ट त्यति ठीक थिएन। किड्नी फङ्सन टेस्ट धेरै बढेको देखियो। त्यसलाई नर्मलमा नल्याउँदासम्म केमो चढाउन नमिल्ने भयो। त्यहाँका डाक्टरले उहाँलाई अहिले धेरै च्यापेको कुरा गर्नुभयो। साँझ परेपछि बुवा ग्रीनल्यान्ड फर्किनुभयो। राति म एक्लै भएँ अस्पतालमा। खाना होटलबाट ल्याएर खुवाउन खोजेँ, दुई चम्चाभन्दा बढी निल्न सक्नुभएन।
 
औषधि धेरै दिए डाक्टरले। मर्फिन त झन् छाड्ने कुरै थिएन। यसको डोज बरू बढ्दो थियो। मर्फिनले नै उहाँको होश गुम गराइरहेको छ भन्ने मलाई लाग्दै थियो र भनेँ, 'मर्फिन खाएर बरबाद भो।'
 
उहाँले बेडमा पल्टेरै आँखाको ताल लगाउँदै भन्नुभयो, 'यशु, अब मेरो दुखाइ नै कन्ट्रोल गर्ने हो, उपचार हुँदैन। बिनामर्फिन त म एक मिनेट अडिन सक्दिनँ। तिमीले के बुझेकी छ्यौ र?'
 
म निःशब्द थिएँ। उहाँलाई हेर्ने गरेका डाक्टरले त्यहीताका विदेश जानुपरेकोले मैले कसैसँग पनि सल्लाह गर्न पाएकी थिइनँ।
 
राति उहाँ 'यशु, पिसाब लाग्यो' भन्दै दशदश मिनेटमा उठेर हिँड्न खोज्नुभयो, जबकि पिसाबको लागि नली नै राखिएको थियो। त्यसरी उठ्नैपर्ने थिएन। शायद खटपटी भएको थियो।
 
भोलिपल्ट ‘टफ टक’ वाला दिलभूषण पाठक आउनुभयो नेसनलमा, एक जना सहयोगी मित्रलाई लिएर। दिलभूषणजी पनि निकै भावुक हुनुभयो, उहाँको हालत देखेर। सबै कुरा माया त होला!
 
उहाँले होटलको खाना मुखमै हाल्न नमान्ने र त्यति टाढा घरबाट ल्याउन सम्भव पनि नहुने भएपछि मैले उहाँलाई घरबाट दश मिनेट टाढाको ग्रान्डी अस्पतालमा भर्ना गर्नुपर्‍यो भन्ने सोचेँ। त्यहाँ मेरो भाइको साथी डा. सीमित सापकोटा अङ्कोलोजिस्टको रुपमा हुनुहुन्थ्यो।
 
बालकृष्ण मामा भेट्न आउनुभएपछि मैले यही कुरा भनेँ। उहाँले मान्नुभयो र आफ्ना सहपाठीलाई भन्नुभयो, 'चित्र, अब तिमी यो मोबाइल रिसिभ नगर। यशोदालाई देऊ।'
 
बालकृष्ण मामाले नै एम्बुलेन्स व्यवस्था गरिदिनुभयो, ग्रान्डी अस्पतालसम्म जान। साथमा बुवा हुनुहुन्थ्यो।
 
एम्बुलेन्समा उहाँलाई सुताएर स्लाइन बोतल सँगै राखेर हिँडाइयो ग्रान्डीतर्फ। बाटोमा उहाँ बरबराउँदै हुनुहुन्थ्यो, 'उः, लाश लिएर आएका छन्।' घरी भन्नुहुन्थ्यो, 'घरबाट कोही आएका छैनन्? मरेपछि लाश उठाउन त आउलान् नि!' शायद उहाँलाई दाइहरुसँग केही भन्ने इच्छा थियो। तर, घरमै बुवा सिकिस्त हुनाले होला, त्यतिन्जेल कोही आउनुभएको थिएन।
 
ग्रान्डीमा इमर्जेन्सीमा भर्ना गरियो।
 
उहाँलाई घरी पूरै होश आए जस्तो, घरी बेहोशै भए जस्तो भइरहेको थियो।
 
बीचबीचमा सोध्दै हुनुहुन्थ्यो, 'आरूषी र आशिका कता छन्? के गर्दै छन्? बाबु कता गयो?' छोरीहरुलाई मामाघरमै छाडेर आएका थियौं हामीले । उहाँले यो शायद बिर्सिसक्नुभएको थियो।
 
घरीघरी बेडबाट जुरूक्क उठ्न खोज्नुहुन्थ्यो। स्लाइन झुन्ड्याइएकोले यसरी उठ्न मिल्दैनथ्यो। म सम्झाउन खोज्थेँ, 'पल्टिनु न बाबा! नउठ्नुस्, यो क्यानुला निस्कन्छ नि फेरि!' सिस्टरहरु मलाई 'यसरी उठ्न नदिनुस् है' भन्नु त हुन्थ्यो, तर अब उहाँलाई बेडमा अड्याइराख्न गाह्रो हुँदै थियो। उहाँ बेडबाट निस्कन खोज्नुहुन्थ्यो।
 
उहाँ स्वस्थ हुँदा एक मिनेट पनि बिनाकाम बस्नै नसक्ने मान्छे! बिदाको दिन पनि बासै अस्पतालमा हुने गर्थ्यो बिरामीकै वरिपरि। कोठामा आए पनि 'कति बसिरहेको? यसो बाहिरतिर निस्कनुपर्छ' भन्दै मलाई पनि लिएर जानुहुन्थ्यो। म उहाँसँगै अस्पतालको चक्कर लगाउँथेँ। त्यसपछि बजारतिर एक फन्को मारेर हामी क्वार्टर आउँथ्यौं, बिदाको दिन। केटाकेटी पनि लिएर जान्थ्यौं। बाबु गाडी भनेपछि निकै खुशी हुने। उहाँले आफैं ड्राइभ गर्नुहुन्थ्यो। कुनै समय त्यस्तो थियो र अहिले यस्तो! केको सजाय हो यो भगवान्?
 
डा. सीमित आएपछि उहाँले आफ्नो पूरै हिस्ट्री बताउनुभयो। डा. सीमितले सोध्नुभयो, 'अहिले कस्तो हुन्छ त?'
 
उहाँले भन्नुभयो, 'मलाई पूरै कन्फ्युज भए जस्तो, सबै भुले जस्तो हुन्छ डाक्टर सा’ब!'
 
मैले भनेँ, 'मर्फिन बढी भएर हो कि?'
 
डा. सीमितले भन्नुभयो, 'हुन सक्छ दिदी, अरु पनि हुन सक्छ।'
 
डा. रामचन्द्र पनि आउनुभयो। उज्बेकिस्तानमा एमबीबीएस पढ्दाका सहपाठीसँग फेरि राम्रो कुराकानी गर्नुभयो।
 
डा. रामचन्द्र गएपछि उहाँले अलि खुशी हुँदै भन्नुभयो, 'भोलि त घर जान पाइन्छ नि!'
 
अस्पतालको बसाइले छटपटी गराएको थियो उहाँलाई। भन्नुहुन्थ्यो, 'कहिले आफ्नै बिस्तरामा पल्टन पाइएला जस्तो भा’छ।'
 
त्यो दिनको स्थिति हेर्दा मलाई पनि डिस्चार्ज पाइन्छ कि जस्तो लाग्यो। सोही दिन छातीको एक्स–रे लिइयो। एक्स–रे खिचाउन जाँदा उहाँलाई अक्सिजन मास्क लगाउनुपर्‍यो। नत्र एक्कासि अक्सिजन लेभल घट्थ्यो।
 
साँझतिर रिपोर्ट आयो। डा. सीमितले मसँग कुरा गर्न खोज्नुभएको रहेछ, सिस्टरले बोलाइन्। रिपोर्ट एकदमै खराब आएछ। डा. सीमितले भन्नुभयो, 'भिनाजुले सबैजसो बिर्सेको मर्फिनले नभई रोगले नै हो कि, दिदी? एक पटक सीटी गर्ने हो भने थाहा हुन्थ्यो? ब्रेनसम्म पुगिसकेको हुनुपर्छ।'
 
हे भगवान्, अब कुनै उपाय थिएन! म एक छिन चुपचाप बसेँ र भनेँ, 'डाक्टर सा’ब, ब्रेनको सीटी नगरौं!'
 
ब्रेनको सीटी गरेर कुनै फाइदा थिएन। ब्रेनसम्म पुगिसकेको रहेछ भने कसले पो के गर्न सक्थ्यो र! त्यसको कुनै उपचार हुन सके त ठीकै थियो, नत्र बेकारमा। त्यत्रो राजीव गान्धी क्यान्सर अस्पतालले त नसकेर फर्काइसकेको थियो।
 
डा. सीमितले भन्नुभयो, 'हुन्छ दिदी, नगरौँ।'
 
एक घण्टाको केमो बाँकी नै थियो। उहाँको स्वास्थ्यस्थितिले चढाउनै मिलिरहेको थिएन, दशैंपछिको केमो। ग्रान्डीमा सोही केमो चढाएर डिस्चार्ज दिने कुरा भयो।
 
भोलिपल्ट साँझतिर केमो चढाउने कुरा थियो। त्यसको ठ्याक्कै अगाडि सिस्टरले एक्स–रे रिपोर्ट ल्याएर उहाँको हातैमा राखिदिइन्। म त हेरेको हेर्‍यैं भएँ। मैले त्यो रिपोर्टबारे उहाँलाई नबताउने ठानिरहेकी थिएँ।
 
रिपोर्ट उहाँले खोलेर पढिहाल्नुभयो। डाक्टर मान्छे, नबुझ्ने त सवालै भएन। रिपोर्ट हेर्दै भन्नुभयो, 'बोधनाथ दाइलाई लिएर म अब भरतपुर नै बस्छु। तिमीले यहाँ बच्चाहरु हेर्नू। बिचरा बूढी आमालाई कति दुःख दिने अब! खै, फोन लगाऊ त दाइलाई!'
 
मलाई उहाँको उपचारको दौरान चित्त नबुझेको एउटा कुरा के हो भने, बिरामी डाक्टर नै हो भन्दैमा उसको सामु सबै कुरा खोलिदिनुपर्छ र? उसलाई सहानुभूति आवश्यक पर्दैन र? अरे बाबा, ऊ पनि त मान्छे हो नि! उसका पनि त कति सपना टुटेका छन्! कति रहरहरु ओइलिएका छन्!

बालबच्चा, घरपरिवार छाडेर जाँदै छ! के ऊमाथि सानो वज्रपात परेको छ र? दिल्ली छँदा पनि सबै कुरा खुलेरै भनिदिन्थे डाक्टरहरुले उहाँलाई! उहाँ स्वयं डाक्टर हुनुको ठूलो बेफाइदा यही भइरहेको थियो।
 
केमो चढाउने तयारी भयो। दिउँसोसम्म त नर्मल नै लाग्थ्यो उहाँको व्यवहार, तर एक्स–रे हेरेपछि उहाँलाई एक्कासि खटपटी शुरु भइहाल्यो। म उहाँको अवस्था देखेर होपलेस नै भएँ।
 
यस्तै आठ–नौ बजेतिर जब केमो चढ्दै थियो, म आडमा बसेर हेरिरहेकी थिएँ केमो बोतल। एकएक थोपामा मेरो दृष्टि गइरहेको थियो। आमा–बुवा हाम्रो लागि खाना छाडेर गइसक्नुभएको थियो। अस्पतालमा धेरै बेर भुल्न पनि मिल्दैनथ्यो। घरमा बाबुलाई एक्लै थुनेर आउनुभएको थियो।
 
केमो चढ्दाचढ्दा उहाँ आत्तिनुभयो, 'यशु, अक्सिजन, हाइड्रोकोटेसन... छिटो... छिटो!'
 
मैले दगुर्दै नर्सिङ स्टेसन गएर रूँदैरूँदै भनेँ, 'अक्सिजन, हाइड्रोकोटेसन इन्जेक्सन लोड गरी लगाइदिनु न चाँडो!'
 
सिस्टरहरुले तुरून्तै काम गरिहाले। उहाँको सास जान्थ्यो होला, बेलैमा इन्जेक्सन दिन नपाएको भए। सबैले उहाँलाई हेर्न थाले।
 
मैले आत्तिएर फोन गरेँ आमालाई, 'मलाई एक्लै छाडेर जाने! कस्तो गाह्रो भा’छ उहाँलाई!' योभन्दा बढी बोल्नै सकिनँ। निकै आत्तिएकी थिएँ। अहिलेसम्म कति केमो चढिसकेको थियो; कैयौं पटक म एक्लै बसेकी हुन्थेँ, तर यो पटक किन यस्तो भयो भगवान्?
 
एकै छिनमा कान्छी फुपू र फुपाजु आउनुभयो। मेरा बुवा पनि आउनुभयो।
 
बिरामीको स्थिति अलि नियन्त्रणमा थियो। मैले नजिकै गएर बोलाएँ, 'बाबा!'
 
उहाँले भन्नुभयो, 'अघि त कस्तो गाह्रो भो, यशु! आशिका, आरूषी, दीक्षिता, दिया आएर मेरो काखमा बसेछन्... ।'
 
योभन्दा बढी मैले सुन्नै सकिनँ। आफूलाई सम्हाल्नै सकिनँ। कुदेर बाथरूममा पसेँ।
 
म छेउमा आएपछि फुपूतिर इशारा गर्दै सोध्नुभयो, 'फुपूलाई खाना ख्वायौ? कता सुत्ने व्यवस्था गरायौ त?' फुपूलाई मेरो कुरा लाए जस्तो गर्नुभयो, 'केटाकेटी जस्ती छ। जानेकी नै छैन।'
 
सधैं पाहुना भनेपछि हुरूक्क हुने, असाध्यै ख्याल राख्ने बानी त्यो अवस्थामा पनि कायमै थियो। फुपूले भन्नुभयो, 'हामीले खायौं, ज्वाइँ! हाम्रो चिन्ता नलिनुस्। हजुर आराम गर्नुस्।'
 
एकै छिनमा फेरि बरबराउन थाल्नुभयो, 'मैले आफ्ना केटाकेटी भेट्न नि नपाउने? म जान्नँ!'
 
शायद त्यो बेला उहाँलाई बोलाउन कोही आएको थियो।
 
एकै छिनमा आँखा खोल्दै उठ्न खोज्नुभयो; फेरि डराएझैं गर्नुभयो र भन्नुभयो, 'को हँ?' बाहिर ढोकाको पर्दातिर हेर्दै मलाई भन्नुभयो, 'हेर त को छ ?'
 
मैले हेर्दा कोही देखिनँ र भनेँ, 'कोही छैन, बाबा!'
 
'हैन, छ' भन्दै डराएझैं गर्नुभयो।
 
उहाँलाई खटपटी चलिरहेको थियो । पसीनाले लछ्रप्पै हुनुभएको थियो। अक्सिजन मास्क हातले हटाएको हटायै गरिरहनुभएको थियो। हे भगवान्, एक छिन अड्याउन सकिएको थिएन त्यो मास्क! फुपू र मैले पालो गरीगरी मास्क लगाइदिइराख्यौं।
 
उहाँको अवस्था गाह्रो देखी मैले आईसीयुमा राखिदिन आग्रह गरेँ। ड्युटी डाक्टरले भने, 'उहाँमा एङ्जाइटी डेभलप भएको हो। भनेर आजको रात हेरौं।'
 
डाक्टर गएपछि उहाँले छटपटाउँदै भन्नुभयो, 'यशु, अल्प्राजोलम देऊ न!'
 
उहाँको व्याकुलता हेरिनक्सनु भएकोले मैले दिएँ।
 
त्यो रातभर न बिरामी, न फुपू न त म नै सुत्यौं। उता क्याबिनबाहिर मेरा बुवा र फुपाजु हुनुहुन्थ्यो। त्यस्तो रात पनि भोग्नुपर्ने रहेछ नियतिले लेखिदिएपछि!
 
मेरो हालत आत्मसमर्पण गरेको कुनै कैदी जस्तो भइसकेको थियो। उहाँलाई बचाएरै छाड्छु भन्दै जुन हिम्मत बाँधेर म पाइला बढाइरहेकी थिएँ, आज त्यही हिम्मतमाथि भीषण पहिरो खस्दै थियो। दुवै हात उठाउनुको विकल्प देखिरहेकी थिइनँ मैले।
 
भोलिपल्ट उहाँलाई आइसीयुमा सारियो। तोकिएको समयमा म गएँ भेट्न। उहाँ उस्तै बरबराउँदै हुनुहुन्थ्यो, 'ठूली छोरी आठ वर्षकी, सानी छोरी पाँच वर्षकी, बाबु बाह्र वर्षको लाटो छ। मैले यिनीहरुलाई भेट्न पनि नपाउने?' आवाज मधुरो थियो, स्वर भासिए जस्तो। मलाई पुलुक्क हेर्दै भन्नुभयो, 'यशु, आस्थालिन पफ दिन भन न मलाई।'
 
म गएर सिस्टरलाई भनेँ र रूँदै भागेँ त्यहीँबाट।
 
राजकुमार दाजुले योगीकुटीबाट नानीहरु लिएर आउनुभयो। उता, मुर्गिया घरतिरबाट पनि दाइहरु आउनुभयो।
 
आइसीयुमा हामीले जाउलो बनाएर लैजाने, तर खुवाउने काम सिस्टरहरुले गर्थे।
 
भोलिपल्ट बिहान म पुग्दा एउटी सिस्टरले भनिन्, 'सरले खाना नै खान मान्नुहुन्न। ‘मेरी बूढीले खुवाए मात्र खान्छु’ भन्नुहुन्छ। हजुर आउनुस् र खाना खुवाउनुस्।'
 
म बिस्तारै भित्र गएँ। उहाँको हालत हेर्नै नसक्ने भएकी थिएँ। मलाई देख्नेबित्तिकै सासले भन्नुभयो, 'तिमी कता गा’को र? यहीँ बस न!'
 
मैले भनेँ, 'यो आइसीयु हो नि! कहाँ बसिरहन पाइन्छ र?'
 
उहाँले सोध्नुभयो, 'घरतिरबाट आएका छैनन् पाका मान्छे?'
 
'आउनुभा’छ।'
 
त्यतिन्जेलमा सिस्टरले जाउलो तातो गराएर ल्याइदिइन्। मैले रिसाए जस्तो गर्दै उहाँलाई भनेँ, 'खाना किन नखाएको? हजुरलाई त थाहा छ नि भोकै बस्नु हुँदैन भनेर!'
 
मुख आँ गर्न लगाई एक चम्चा हालिदिएँ। मुखभित्र पूरै रातो भएको रहेछ; घाउ भएको रहेछ। कुनै चीजको एलर्जी जस्तो। शायद उहाँले खाइरहनुभएको क्याप्सुल केमोका साइड इफेक्ट थियो। मैले भनेँ, 'यस्तो भा’को रैछ त!'
 
उहाँले भन्नुभयो, 'तिमी आत्तिन्छ्यौ भनेर नभनेको मैले!'
 
मैले जडीबुटीहरु थिचेर बनाएको झोल दिनहुँ पिउन लगाउँथेँ। उहाँले आँखा चिम्लेरै पिउनुहुन्थ्यो। आमासँग चाहिँ भन्नुहुन्थ्यो, 'यिनकै खुशीको लागि जे भन्यो त्यही खाइदिन्छु म। तर मलाई थाहा छ, अब जे गरे पनि जे खाए पनि हुनेवाला केही छैन।'
 
अर्को चम्चा जाउलो मुखमा के राखिदिएकी थिएँ, उहाँले निल्नै सक्नुभएन। सर्के जस्तो भयो र ख्वाक्कखुक्क गर्न थाल्नुभयो। म ‘सिस्टर’ भन्दै चिच्याएँ। सिस्टरले अलिकति पानी पिलाइदिनुभयो। अलि बिसेक भयो। म भागेँ रूँदै।
 
छोरीहरु आए बाबालाई भेट्न। ठूली छोरीसँग 'आई एम इन ट्रिटमेन्ट छोरी' भनेर एक छिन कुरा पनि गर्नुभएको रहेछ, तर पछि गएर मैले 'आशिकालाई भेट्नुभयो?' भनेर सोध्दा उल्टै प्रतिप्रश्न गर्नुभयो, 'खै, कहिले आई र?'
 
आफन्त, इष्टमित्र, शुभचिन्तकहरु भेट्न आउने क्रम चलिरहेकै थियो। दिनभरि कोही न कोही आइरहेकै हुन्थे। मिडियाका शुभचिन्तकहरुको आगमन पनि बाक्लै थियो। मलाई केके सोधिएको हुन्थ्यो, म केके भन्थेँभन्थेँ! होशै थिएन। के दिन के रात, म एकसुरकी हुन थालेकी थिएँ। अरुले जे भन्यो, त्यही गर्थें। अब मेरो कोही थिएन। जीवनको एउटा बलियो आधार यसरी लडेपछि के नै बाँकी रहन्थ्यो र!
 
म उहाँको नजिक पर्न पनि सक्न छाडेँ। सिसाबाहिरैबाट हेरी रूँदै फर्कने गर्न थालेँ। उहाँको छेउ गएर हात समाती, ‘चिन्ता नलिनुस्, म छु नि, म सबै सम्हाल्न सक्छु’ भनिदिएकी भए उहाँको छटपटी शायद अलि कम हुने थियो। बुवाले त मलाई अह्राउनु पनि भएको थियो, 'गएर ज्वाइँलाई सान्त्वना देऊ।' तर, ममा त्यत्रो आँट आएन। म नजिक पर्नै सकिनँ। मलाई माफ गर्नुहोला बाबा, आई एम सरी!
 
बालकृष्ण मामाले आइसीयुभित्रै गई भेटेर भेन्टिलेटरबारे सोध्नुभएछ; उहाँले नराख्न भन्नुभएछ। भन्न त मसँग पनि यस्तै भन्नुहुन्थ्यो।
 
उहाँको अवस्थालाई लिएर ग्रान्डीमा डाक्टरहरुको मिटिङ बस्यो। हामीलाई पनि सामेल गरिएको थियो। स्थिति बिग्रँदो छ, बचाउने अब कुनै उपाय छैन, बिरामीलाई सजिलो बनाउने मात्र हो भन्ने कुरा भयो। उहाँलाई छटपटी कम गराउन सुताउने औषधि दिने डाक्टरहरुको सल्लाह भयो।
 
मृत्यु त निश्चित नै थियो, तर यति छिटो हुँदै छ भन्ने उहाँलाई पनि लागेको थिएन शायद। बेलाबेला आफ्नो पेट हातले ठकठक हान्दै चेक गर्नुहुन्थ्यो, कतै पानी भरिएको छ कि भनेर। हामीलाई लागेको थियो— अन्तिम अवस्थामा पानी जम्न थाल्छ। तर, स्थिति अर्कै भइदियो।
 
बालकृष्ण मामाहरु, उहाँका डाक्टर साथीहरुलाई थाहा भइसकेको रहेछ अन्तिम अवस्था सङ्घारमै छ भनेर। त्यसैले मामा पाटन अस्पतालको आफ्नो ड्युटी छाडी दिनहुँ आएर बस्नुहुन्थ्यो। तर, मलाई सत्य कुरा भनिएको थिएन।
 
अब बिस्तारै मुटु, किड्नीले काम गर्न छाड्दै छ भन्ने सुनेँ। दगुर्दै भित्र गई बाहिरैबाट हेरेँ— उहाँ निदाउनुभएको रहेनछ। पुलुक्क मतिरै हेर्दै हुनुहुन्थ्यो। म रूँदै लुकेँ। सक्दै सकिनँ आँखा जुधाउन। म टुटिसकेकी थिएँ।
 
कुनै समय थियो, उहाँले मलाई सोध्नुभएको थियो, 'तिमी कोसँग बिहे गर्छ्यौ?' मैले 'हजुरसँग' भनेकी थिएँ! आज त्यही व्यक्ति मलाई अलपत्र छाडी यो संसारबाट बिदा लिँदै छ! आफ्ना केटाकेटीलाई अनाथ बनाउँदै छ! कसरी सहन सक्छु र म यो वज्रपात!
 
यसैबीच, थिरकुमारी मेमोरियल ट्रस्टले सहयोग दिने भयो। जय नेपाल सिनेमाहलमा कार्यक्रम राखिएको थियो। म कसरी पुगेँ केही याद छैन। त्यहाँ नायक राजेश हमालले चेक तथा फूल हस्तान्तरण गर्दै भन्नुभएको थियो, 'म हजुरको श्रीमानलाई फलो गरिरहेको छु।'
 
सोही रात घरमा सुतेको बेला सपनामा मेरा श्रीमानको मोबाइल नम्बरबाट एउटा मेसेज आयो। लेखिएको थियो— ‘अब तिमीले मलाई कहिल्यै भेट्न पाउनेछैनौ।’
 
म जुरूक्क उठेर रून थालेँ। रूनुको विकल्पै थिएन अगाडि। त्यसपछि आँखा बन्द नै भएनन्।
 
(क्यान्सर रोगका कारण जीवन गुमाएका डा. चित्रप्रसाद वाग्लेकी पत्नी पूजा पराजुली वाग्लेको स्मृति-अंश। यो अंश फिनिक्स बुक्सद्वारा भरखरै प्रकाशित 'डाक्टर चित्र'बाट लिइएको हो। पुस्तकमा वाग्ले दम्पती दुवैको अनुभूति, संस्मरण र डायरीलाई समेटिएको छ, जसलाई पारसप्रकाश नेपालले सम्पादन गरेका हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell