PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साउनभित्र नआउने भयो फोरजी, टेलिकम र एनसेलले मागे दुई महिनाको अवधि



उमेश पौडेल

साउनभित्र नआउने भयो फोरजी, टेलिकम र एनसेलले मागे दुई महिनाको अवधि

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले साउन महिनाभित्र फोरजी सेवा चलाइसक्ने रोडम्याप बनाए पनि निर्धारित समयमा यो सेवा सुरु नहुने भएको छ। नेपाल टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न केही समय लाग्ने प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए। 
 
रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यसम्वन्धि नीति संसोधनसहित पास गरेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई सेवा अगाडि बढाउन बाटो खुलेको हो।
 
पुरानै फ्रिक्वेन्सी ब्याण्डमा टेक्नोलोजी न्युट्रल गरेर नयाँ प्रविधिको फोर जी सेवा चलाउन मिल्नेगरी नियम संसोधन सहित पास भएको छ।

टेलिकम र एनसेलले पहिलेदेखि नै फोर जी सेवा सञ्चालनका लागि फ्रिक्वेन्सीको माग गर्दै आइरहेका छन्। पहिले टेलिकम र एनसेलले १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा थ्रिजीको सुविधा दिइरहेका थिए। अब उनीहरुले त्यहि फ्रिक्वेन्सीमा फोरजीको सेवा दिन सक्नेछन्। फ्रिक्वेन्सीका लागि भने पहिलेको भन्दा दोब्वर शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ।

दुरसञ्चार प्रदायकहरुले अब १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी को सेवा दिन सक्नेछन्। नेपाल टेलिकमले २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी पाउने व्यवस्था समेत गरेको र त्यसका लागि उसले पहिले भएको बोलकवोलको पैसा तिर्नुपर्ने भएको छ। 
 

के छ टेलिकमको तयारी?

रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले फोरजीका लागि बाटो खुल्ला गरेसंगै नेपाल टेलिकमले तत्काल फोरजीका लागि काम कार्वाहि अगाडि बढाउन लागेको टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले बताए।

'हामीलाई टावर, व्यकअप र अरु इन्फ्रास्टक्चरमा कुनै समस्या छैन' अधिकारीले भने 'टेक्नोलोजी न्युट्रल गरेपछि हामीलाई धेरै समस्या पर्दैन सफ्टवेयर अपग्रेड र प्रत्येक टावरमा एउटा चिप्समात्र थप्दा हुन्छ।'
 
अधिकारीले नेपाल दुरसञ्चार प्राधिकरणवाट फोरजीका लागि पत्र पाउनासाथ टेन्डरमा जाने बताए। जतिसक्दो चाँडो सेवा प्रवाहमा जोड दिने र चाँडोभन्दा चाँडो सर्वसाधारणका लागि फोरजीको सुविधा उपलब्ध गराउने तयारी गरिरहेको बताए।

टेलिकमले थ्रीजीका लागि टावर र यसमा लाग्ने सामाग्री खरिद गर्दा नै नयाँ प्रविधिसंग पनि अपग्रेड गर्दा काम गर्ने सामाग्रि खरिद गरेको थियो।

टेलिकमले विटिएस टावरका लागि धेरैमात्रामा चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हुवावेका सामाग्रिहरु धेरै प्रयोग गर्ने गरेको छ। यो कम्पनीले टुजी, थ्रिजी र फोरजी एकै टावरबाट चल्ने सुविधा रहेको हुन्छ।

अधिकारीले फोरजीका टावरमा इलेक्ट्रोनिक्स कम्पोनेन्टको सफ्टवेयर अपग्रेड गर्ने र फोरजीको चिप्स मगाउनका लागि प्राधिकरणबाट पत्र प्राप्त हुनासाथ टेन्डरमा जाने जानकारी दिए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell