PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

झण्डा बोकेका आन्दोलनकारीले खुट्याए प्रचण्डका गल्ती



झण्डा बोकेका आन्दोलनकारीले खुट्याए प्रचण्डका गल्ती

  • रविराज बराल -
उसलाई जीवनमा सबैभन्दा धेरै कसैसँग गुनासो छ भने प्रचण्डसँग छ। आउन त ऊ पनि आएको छ आन्दोलनमा झण्डा बोकेर तर आन्दोलन आन्दोलनजस्तो छैन, आन्दोलनले आन्दोलनकारीमा आक्रोश भर्न सकेको छैन, आशा जगाउन सकेको छैन, विद्रोह ल्याउन सकेको छैन।

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबार गरेको बन्दमा ऊ काठमाडौंको रत्नपार्कमा भेटियो। रत्नपार्क उसको आर्क रहेछ।

पातलो तर फुर्तिलो शरीर। ७-८ वर्ष पहिला देख्दा जस्तै। उमेर करिब २८-३०। बरु अनुहारमा धर्काधर्की बढेछन्।

देख्ने बित्तिकै हात उठाउँदै आइपुग्यो, ‘सलाम कमरेड।’

‘सलाम।‘

‘अनि बन्दको रिपोर्टिङमा?’, प्रश्न तेर्स्यायो।

‘बिहानैदेखि काममा निस्केर बन्द बहिस्कार गरियो भन्नुस्’, मैले वर्ष दिन अघि उसको पार्टी फुटाएर नयाँ पार्टी बनाएका नेता मोहन वैद्यको लवजमा ठट्टा गरेँ।

‘ठीक गर्नुभो’, एकछिन अघि मिलेका हाम्रा हात छुटेका थिएनन्।

विभिन्न दल आबद्ध ऊ जस्तै सयौँ नेता कार्यकर्ता काठमाडौंका विभिन्न चोकमा बिहानैदेखि भेला भएका थिए बन्द ‘सफल’ बनाउन।

बन्द भए पनि मान्छेहरुलाई कतै न कतै पुग्नु थियो। मोटरसाइकलहरु हुरुरु आउँथे। आन्दोलनकारीहरु होहल्ला गर्दै उतै कुद्थे। कतिपय मोटरसाइकल बीचबाटै फर्किन्थे, भाग्थे भनौँ। अगाडिसम्म आउनेसँग आन्दोलनकारी परिचय र बन्दका दिन हिँड्नुको प्रयोजन खोज्थे।

‘ए नछोड् नछोड्। फोड्दे’, कोही कराउँथे।

ऊ आन्दोलनकारीलाई शान्त बनाउँथ्यो। ‘बन्दका दिन किन चलाउने?’ भन्दै ऊ मोटरसाइकल चालकहरुलाई फिर्ता पठाउँथ्यो वा कतिपयलाई गन्तव्यतिर पठाउँथ्यो।

‘कार्यकर्ता सम्हाल्न गाह्रो छ बुझ्नुभो’, उसले सुनायो।

‘अँ। हो’, अनुभवी झैँ सहमति जनाएँ।

काठमाडौंका मुख्य चोकहरुमा आन्दोलनकारी जम्मा भएका थिए। ६२/६३ को जनआन्दोलनसँगै सुरु भएको ‘सहमतीय राजनीति’ का पक्षहरुबीच भएका सहमतिका आधारमा पहिचानसहितको राज्यपुनर्संरचना उनीहरुको माग थियो।

तर मलाई चासो मेरो कमरेडमा थियो। घरीघरी म उसैलाई नियालिरहेको थिएँ।

‘आन्दोलन जारी रहोस्। एकछिन कतै चियामा बसौँ’, मैले प्रस्ताव राखेँ।

उसले बिना कुनै हिचकिचाहट स्वीकार्यो। बागबजारको एउटा गल्लीको चिया पसलमा छिर्यौँ हामी।

‘अनि माघ ८ मा संविधान आउँछ त?’, सहरको पपुलर प्रश्न तेर्स्याएँ।

‘कसरी बन्छ माघ ८ मा? उ भनिसके त अन्तरिम संविधानबाट ‘अन्तरिम’ शब्द हटाऊँ र संविधान जारी गरौँ’, केही दिनअघि सत्तारुढ कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको अभिव्यक्तिप्रति उसले संकेत गर्‍यो।

‘उनीहरु त ४७ कै संविधान पुनर्स्थापना गर्न पाए सबैभन्दा खुसी हुन्छन् बुझ्नुभो?’, ऊ रोकिएको थिएन।

कुरैकुरामा ऊ नेपाली राजनीतिको ‘ओपन सेक्रेट’मा केन्द्रित भयो। बहसको केन्द्रमा थिए उसैका अध्यक्ष पुष्पकमल दाहाल अर्थात प्रचण्ड।

ऊ कुनै बेला प्रचण्डलाई आफ्नो सर्वोच्च कमान्डर मान्थ्यो। ‘सुप्रिम कमान्डर। तर आज के भयो भन्नुस् त?’, ऊ उल्टो मलाई प्रश्न गर्दै थियो।

ऊ ८ कक्षामा पढ्थ्यो जब उसले माओवादीका बारेमा सुन्यो। उनीहरुलाई आँखै अगाडि देख्यो। छापामारहरु। कमान्डरहरु। जनवादी शिक्षा, गणतन्त्र, समानता, साम्यवादका नारा। ‘जाली फटाहा’ माथि हुने कारबाहीहरु। ऊ बिस्तारै आकर्षित भयो। एसएसलसीसम्म जसोतसो पास गर्‍यो। अन्ततः चुम्बकले फलाम ताने झैँ २०५८ सालतिर ऊ पार्टीमा ‘होलटाइमर’ भयो र युद्धमा होमियो।

‘देशमा केही परिवर्तन होला भनेर अहिलेसम्म लागेको हो तर खै नेताहरुले बुझेका?’, फेरि उसले अर्को प्रश्न गर्‍यो, ‘कांग्रेस एमालेलाई आवश्यकता भन्दा बढी विश्वास गरेर जब प्रचण्डले जनसेना विघटन गरे र जनयुद्ध सकिएको घोषणा गरे, त्यो इतिहासकै ठूलो धोका थियो।‘

उसको विचारमा जुन दिन प्रचण्डले सेना विघटन र जनयुद्ध समाप्तिको घोषणा गरे, त्यही दिनबाट पार्टी, आन्दोलन र सपनाहरुको विघटन सुरु भएको थियो।

‘प्रचण्ड जत्तिको नेता अब दसौं वर्ष जन्मिदैन बुझ्नुभो?’, चियाको सुर्को लगाउँदै उसले भन्यो, ‘सबैभन्दा बढी आशा हामीले प्रचण्डबाट गर्‍यौँ तर अहिलेसम्मको स्थिति हेर्नुस् त, निराशा बाहेक हात लाग्यो शून्य।‘

ऊ बेलाबेलामा ८/९ वर्ष पहिला विघटन भएको आफ्नो सेना र सरकार सम्झिरहेको थियो।  

उसको विचारमा सुप्रिम कमान्डर प्रचण्डले यो १० वर्षे शान्तियुद्धमा दुईओटा भूल गरे- एउटा जनयुद्ध समाप्तिको घोषणा गरे, जनसेना विघटन गरे। अर्को, आफ्नो सीमित घेराबाट निस्कन सकेनन्, जसको कारण जनता आफूसँगै छन् भन्ने गलत भ्रममा परे।

‘जनयुद्ध समाप्तिको घोषणासँगै पार्टीमा खण्डिकरण सुरु भयो। दोश्रो संविधानसभामा हारको प्रधान कारण नै यही हो’, उसले भन्यो, ‘त्यस्तो अवस्थामा पनि नेताहरुले प्रचण्डलाई गलत रिपोर्टिङ गरे। जहाँबाट चुनाव लडे पनि जितिन्छ भनिदिए।‘

चुनावअघि कार्यकर्तालाई कहाँ काम गर्न पठाउने भन्ने नै तय भएको थिएन रे। ‘ग्राउन्डमा संगठनको संरचना थिएन। कार्यकर्ताको व्यवस्थित परिचालन भएन। जनतालाई मुद्दा बुझाउन सक्ने अवस्था भएन। तैपनि नेताहरु दुई तिहाइ आउँछ भन्न छाड्दैनन्’, उसले सुनायो।

उसको विचारमा नेताहरुका आसेपासेले हारिन्छ भन्ने थाहा हुँदाहुँदै पनि साखुल्य बन्न जितिन्छ भन्ने भ्रम फैलाए।  

पार्टीलाई कमजोर बनाउने अरु कारण पनि छन् उसको विचारमा। ‘अभियानकै रुपमा प्रचण्डको आवश्यकता भन्दा बढी आलोचना भयो’, उसले भन्यो, ‘गोयबल्स शैलीमा भएको दुष्प्रचारले आमजनता र न्युट्रल मास मात्र हैन, कार्यकर्तालाई पनि भ्रममा पारियो कि प्रचण्ड खतमै मान्छे हो।‘

उसको विचारमा माओवादी आन्दोलन कमजोर बन्नुमा माओवादी पार्टीका नेता कार्यकर्ताको ‘पैसा मोह’ पनि एउटा प्रमुख कारक हो। ‘माओवादी आन्दोलन कमजोर भए पनि माओवादीमा लाग्ने धेरै जनाको उत्थान भएको छ’, उसले सुनायो, ‘पार्टीले हिजो युद्धमा लागेका र पछि जोडिएका कार्यकर्ता परिचालनका कार्यक्रम नल्याउँदा धेरै मानिस कमाउ धन्दातिर पनि लागे। कोही सही तरिकाले त कोही ‍औँलो टेढो पारेर।‘

ऊ भन्छ, उसको पार्टीमा इमान्दार मान्छे कम छन्। ‘इमान्दार कार्यकर्ताको मूल्यांकन नै हुँदैन। सत्यका पछाडि लाग्नेको होइन, शक्तिका पछाडि लाग्नेको चर्चा हुन्छ, काम बन्छ’, उसले सुनायो।

उसले दुईओटा घटना सुनायो। पहिलो, २०६५ सालमा स्ववियु चुनावमा काठमाडैंको एउटा क्याम्पसमा सभापतिसहित प्यानलै जित्ने एकजना विद्यार्थी नेता रोजगारीका लागि साउदी अरब गए। दोश्रो, एकजना पूर्व लडाकू साथी गोन्जाओमा व्यापार गर्दैछन्। ‘उनीहरु पार्टीप्रति प्रतिबद्ध कार्यकर्ता थिए तर टिक्न सकेनन्, कारण इमान्दारिता बिक्दैन, चाकडी बिक्छ’, ऊ आक्रोसित देखियो।

नेताहरुले सन्तानको बिहेमा करौडौँ खर्चेको ऊ सुन्छ। विगतमा निजी विद्यालयविरुद्ध आन्दोलन गरेका नेताले आज निजी विद्यालय र कलेजमा लगानी गरेको उसले देखेको छ। एउटा मध्यमस्तरको नेताले पनि आफ्ना बालबच्चा महँगो स्कुलमा पढाएको उसलाई थाहा छ। सँगै हिँडेकाहरुको जीवनशैली बलदिएको उसले देखेको छ।  

‘पार्टी यसरी नै जाने हो भने धेरैजसो इमान्दार कार्यकर्ता आउँदा केही वर्षभित्र पलायन हुन्छन्’, उसले अनुमान गर्‍यो।  

पार्टीले आवश्यकता भन्दा बढि सपना देखाएको जस्तो उसलाई लाग्छ। ‘जब नेताहरुले सहर पाए, सत्ताको छेउछाउ पाए, नयाँ साथी, पैसा र अवसर पाए, नेताहरुले सपना बिर्सिए’, उसले निरासा पोख्यो।

‘के प्रचण्डले यी कुरा बुझेकै छैनन् त?’, धेरै बेरसम्म उसको श्रोता बनेर बसेपछि मैले प्रश्न गरेँ। 

‘प्रचण्डले यो अवस्था बुझेका छैनन् जस्तो त लाग्दैन। तर बुझे पनि के गर्नु? सीमित घेराभन्दा बाहिर उम्कनै सकेनन् उनी’, उसले जबाफ दियो, ‘घेरा तोड्न गाह्रो छ। तर नेतृत्वको परीक्षा त यस्तै बेलामा हुने हो नि।‘

‘अनि संविधान?’

‘नेताहरुले बुझ्नुपर्‍यो कि एउटाले अर्कोलाई पेलेर संविधान आउँदैन। अघिल्लो संविधानसभामा ४२० सभासद्को हस्ताक्षर प्रचण्डको हातमा थियो। तर उनले मार्सल त लगाएनन्’, उसले प्रचण्डको बचाउ गर्‍यो, ‘किनकी उनलाई थाहा थियो संविधान कुनै दलको घोषणापत्र हैन।‘

छुट्ने बेलामा उसले आफ्नो सेक्रेट खोल्यो, ऊ जापानी भाषा पढ्दैछ। संविधान बनोस् नबनोस्, ऊ जापान जाने सोचमा छ।  

‘गोजाइमास र सायोनारा त बल्ल सिकिँदैछ। तर भिसा लाग्यो भने जापान उडिन्छ’, उसले सुनायो। १३-१४ वर्ष पार्टीमा खटिएको उसलाई बिस्तारै पारिवारिक सामाजिक अपेक्षाले थिच्दै लगेको छ, कमजोर बनाउँदै लगेको छ।

कहिले साथीभाइसँग हारगुहार गरेर त कहिले रोजगारी गरेर त कहिले पार्टीको होलटाइमर भएर करिब १० वर्ष ऊ काठमाडौं बस्यो। विद्यार्थी राजनीति गर्‍यो। एमए पास गर्‍यो। पार्टी पार्टीमात्र भनेर नहिँडेको भए व्यक्तिगत जीवनमा सफल बन्न सकिन्थ्यो भन्ने उसलाई लाग्छ।

‘के तपाईँलाई पार्टीले बिगार्‍यो?’

‘अलिअलि पार्टीले, अलिअलि आफैले।‘  

दोश्रो लटको चिया सक्नुअघि ऊ सोचमग्न देखियो। ‘पार्टीलाई दोष दिन्नँ। मेरो आफ्नै निर्णयले मलाई यहाँसम्म ल्याएको हो’, उसले कुरा फेर्‍यो, ‘तर पार्टी भन्दै नहिँडेको भए आर्थिक रुपमा सम्पन्न हुने अवस्था थियो, जसरी कतिपय मान्छेहरु भए।‘

उसले दह्रोसँग हात मिलायो। ‘जे पायो त्यही लेखिदिनुहोला नि। परिचय नखोलिदिनुहोला। मेरोमात्र कुरा होइन, माओवादी आन्दोलनमा लागेका अधिकांशको कथा यस्तै हो’, छुट्नुअघि उसले भन्यो।

मैले सहमति जनाएँ।

ऊ रत्नपार्क आर्कतिर अघि बढ्यो आफ्नो आन्दोलनमा। म आफ्नो आन्दोलनमा अघि बढेँ दरबारमार्ग आर्कतिर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell