PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​यी हुन् प्रधानमन्त्री ओलीसँग बाँकी रहेका तीन विकल्प



मनोज सत्याल

​यी हुन् प्रधानमन्त्री ओलीसँग बाँकी रहेका तीन विकल्प

काठमाडौँ : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको छ। तर सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री भीम रावल सरकार अल्पमतमा परेको स्वीकार गर्न तयार छैनन्। 

प्रधानमन्त्री ओली र एमाले संसदबाट बहुमत र अल्पमत छुट्याएर अघि बढ्ने मनस्थितिमा छ। २३ बैशाखमा संसदलाई सम्बोधन गर्ने क्रममा समेत ओलीले संसद फेस गर्ने तर्क गरेका थिए। 

उनले भनेका थिए -  'हामी संसदमै बसेर संसदीय अभ्यास गर्छौं तर्किने उम्किने जस्केलाबाट हिँड्ने तरिका प्रधानमन्त्रीले गर्दैन। संसदले जतिबेला जरुरी छैन भन्छ म छोडिहाल्छु, संसदले छोड नभनेसम्म छोड्दिन।'

यस्तोमा के के छन् त ‌ओलीसँग विकल्प?

१)     विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले अब आफ्नो सरकार अल्पमतमा परेको अवस्थामा विश्वासको मतका लागि संसदमा प्रस्ताव लिएर जानुपर्ने हुन्छ। तर प्रधानमन्त्री विश्वासको मतका लागि प्रस्ताव अगाडि बढाउन तयार देखिनन्न। संसदको नियमावली अनुसार उनले संसद सचिवालयका महासचिव वा सचिवलाई २ दिन अघि नै विश्वासको मत सम्बन्धि प्रस्तावबारे जानकारी गराउनुपर्ने हुन्छ। त्यसो भएको छैन।  

२)     अविश्वासको प्रस्ताव सामना गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले अब अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने हुनसक्छ। त्यस्तोमा सरकार अल्पमतमा रहेको भन्दै कम्तिमा संसदको एक चौथाई सदस्यले लिखित रुपमा संसद सचिवालयमा जानकारी दिनुपर्छ। उक्त प्रस्तावमा एक साताभित्र छलफल प्रारम्भ हुन्छ। छलफलपछि प्रधानमन्त्रीले वा उनको तर्फबाट कुनै मन्त्रीले जवाफ दिनुपर्छ। यसरी अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुँदा पारित भएमा सरकार स्वत: ढल्नेछ।

३)     राजीनामा दिने

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर जान सक्छन्। ओलीले सरकार अल्पमतमा परेको स्वीकार गरेर सरकार छाड्न सक्छन्। तर ओली राजीनामा गर्ने मुडमा देखिँदैनन्। सत्ता छाडेको नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीलाई राजीनामा गर्न सुझाव दिएको छ। 

​र, यो पनि

प्रधानमन्त्रीले बजेट पारित भएपछि संसद विघटन गरेर अगाडि जान पनि सक्छन्। तर प्रधानमन्त्री ओलीले आफूले संसद विघटन नगर्ने भनेर यसअघिको संसद बैठकमै स्पष्ट गरिसकेका छन्। बैशाख २३ गते संसदमा प्रधानमन्त्रीले संसद विघटनको हल्ला चलाइएको भन्दै त्यस्तो सोच नभएको खुलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell