PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युरोको अर्को संस्करण १३ देशमा हुने, फाइनल लण्डनको वेम्बलीमा



पहिलोपोस्ट

युरोको अर्को संस्करण १३ देशमा हुने, फाइनल लण्डनको वेम्बलीमा

पोर्चुगलले आयोजक फ्रान्सलाई पराजित गर्दै पहिलो पटक युरोकपको उपाधि जितेसँगै १५ औं संस्करणको युरोकप २०१६ औपचारिक रुपमा सकिएको छ।
 
सन् १९६० बाट सुरु भएको युरोपको महादेशीय फुटबल प्रतियोगिता हरेक चार-चार वर्षमा हुने गर्छ। अहिलेसम्म एक संस्करणको प्रतियोगिता एकै देशले मात्र आयोजना गरेको थियो। तर अबदेखि आयोजनाको संरचना फरक हुने भएको छ।
 
सन् २०२० मा हुने १६ औं संस्करणको युरोकप एक देशमा मात्र नभएर १३ फरक देशमा सञ्चालन हुनेछ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको कार्यकारी समितिले यसअघि नै यसबारे निर्णय गरिसकेको छ।
 
सन् २०२० को युरोकपको सेमिफाइनल र फाइनल गरी कुल ३ खेल बेलायतको वेम्बली स्टेडियममा हुनेछ। वेम्बलीमा यसअघि सन् १९९६ को युरोकप फाइनल पनि आयोजना भएको थियो। अजरबैजानको बाकु, इटलीको रोम, जर्मनीको म्युनिख र रसियाको सेन्ट पिटरसवर्गले क्वाटरफाइनलका एक-एक र समूह चरणका तीन-तीन खेल आयोजना गर्नेछन्। यस्तै बेल्जियमको ब्रसेल्स, डेनमार्कको कोपनहेगन, हंगेरीको बुढापेस्ट, नेदरल्याण्ड्सको आम्सरडम, आयरल्याण्डको डब्लिन, रोमानियाको बुखारेस्ट, स्कटल्याण्डको ग्लास्गो र स्पेनको विल्वाओले प्रिक्वाटरफाइनलका एक-एक र समूह चरणका तीन-तीन खेल आयोजना गर्नेछन्।
 
सन् २०१४ को अप्रिलमा युइएफएले आयोजनाको दाबेदारी दिएका १९ देशको नाम सार्वजनिक गरेको थियो। त्यसबाट सेम्टेम्बरमा १३ देशको छनोट गरिएको हो। यस्तै यसअघि एक देशले मात्र आयोजना गर्दा आयोजक स्वत: युरोकपको अन्तिम चरणका लागि छनोट हुने प्रावधान थियो। तर अब आयोजक १३ वटै देशले छनोट चरणमा सहभागिता जनाउनुपर्ने व्यवस्था छ। छ समूहको अन्तिम प्रतियोगितामा छनोट भएका मध्ये बढीमा दुई आयोजक एउटै समूहमा पर्न सक्छन्। र, छनोट हुन सफल आयोजकले समूह चरणको दुई खेल होम ग्राउण्डमा खेल्न पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell