PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

होसियार ! फेसबुकबाट यसरी लुटिँदैछन् गृहिणी



सविन ढकाल

होसियार ! फेसबुकबाट यसरी लुटिँदैछन् गृहिणी

काठमाडौं : हस्याङ्फस्याङ गर्दै काठमाडौंको टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको व्युरोमा आइपुगिन् ३५ वर्षीया वर्षा राउत (नाम परिवर्तन)। उनको सास बढिरहेको थियो। एकछिन त बोल्न पनि सकिनन्। अक्क न बक्क परिन्। त्यहाँ अगाडि रहेका एक प्रहरीले उनलाई सोधे, 'के भयो दिदी?'

उनी आँखाभरि आशु पार्दै बोल्न थालिन्। तर स्वर खुलिरहेको थिएन। मतलब, केही समय त बोल्न पनि सकिनन्। उनको हातमा एउटा कागज थियो भने साथमा मोबाइल। 'मलाई एक जनाले पैसा पठाइदिनुपर्यो‍‍ भन्दै कल गरेकोगर्‍यै छ।  कहिले भारतबाट त कहिले युकेबाट फोन आएर हैरान भएँ।'

त्यहाँ रहेका प्रहरी निरीक्षकले सोधे, 'किन माग्छ त पैसा? चिन्नुहुन्छ त?'

उनले भनिन्, 'फेसबुकबाट चिनजान भएको थियो। उसले मलाई केही सामान पठाइदिन्छु भन्यो। त्यसमै फसेँ।'

६ महिनादेखि अपरिचितसँग कुराकानी भइरहे पनि उनले आफ्ना पतिलाई यसबारे सुइँकोसम्म दिएकी थिइनन्। त्यसपछि उनले सामान पाउने आशामा एसबिआई बैकमा रहेको उनको खातामा मागे बमोजिम ४० हजार रुपैयाँ जम्मा गरिदिइन्।

फेसबुकमा कुराकानीको क्रममा उनले आफ्नो सम्पूर्ण ठेगाना ती व्यक्तिलाई दिइसकेकी थिइन्। त्यसपछि ती व्यक्तिले भारत, बेलायत, दुवई लगायतका विभिन्न ठाउँबाट मूल्यवान समान पठाउने भन्दै पैसा माग्न थाल्यो। यसरी पटकपटक पैसा माग्न थालेपछि र सामान नआएपछि उनले थाहा पाइन् - ठगिएछु।

यसपाला भने अन्जानसँगको फेसबुक नाताले ठगिएको भन्दै प्रहरीको शरणमा पुगेकी थिइन् उनी।

उनी मात्र होइन, केही समयअघि दाङकी बिनिता पनि यसरी नै ठगीमा परेकी थिइन्। प्रहरी निरीक्षक गोविन्द पन्थ पछिल्लो समय ठगी गर्नेले नयाँनयाँ शैली अपनाउने गरेको बताउँछन्।
 
महानगरीय प्रहरी अपराध महाशाखमा महिनामा १० वटाभन्दा बढी यस्ता उजुरी आउने गरेको उनले जानकारी दिए। यस्ता अपरिचित व्यक्तिले सुरुमा राम्राराम्रा कुरा गरेर आफ्नो प्रेम जालमा पार्ने गरेका छन् फेसबुकमा झुन्डिनेहरुलाई। फुर्सदिला गृहिणीहरु यस्ताको जालमा पर्छन्।

एसएमएस प्रयोग गरेर पनि ठगी हुन्थ्यो कुनै समय। ठूलै गिरोह समातिएपछि ठगहरुले फरक शैली अपनाउन थालेको प्रहरीको भनाइ छ। यस्ता ठगीमा भारतीय, पाकिस्तानी र नेपालीसमेत सक्रिय छन्।

यसरी ठग्नेले बैक एकाउन्ट पनि अर्काको नै प्रयोग गर्ने गरेको पाइएको छ। बैक एकाउन्टकै आधारमा मात्र पक्राउ गर्दा निर्दोष व्यक्ति पर्ने गरेको प्रहरीको दावी छ। किनकी उनीहरुले बैंक एकाउन्टसमेत ह्याक गरेर रकमान्तर गरिरहेका हुन्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell