PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डेढ वर्षमा ​मुलपानी क्रिकेट मैदान तयार हुने, साढे १४ करोडमा ठेक्का



डेढ वर्षमा ​मुलपानी क्रिकेट मैदान तयार हुने, साढे १४ करोडमा ठेक्का
निर्माणाधीन मुलपानी क्रिकेट मैदान। फोटोः भावना घिमिरे (फेसबुक)

  • अनन्त कोइराला/पहिलोपोस्ट-
काठमाडौं : राष्ट्रिय खेलकुद परिषदले मुलपानी क्रिकेट मैदान निर्माणको लागि कम्पनी छानेको छ। मुलपानीमा निर्माणाधिन क्रिकेट मैदानको पहिलो चरणको कामको लागि १४ करोड ६३ लाख २४ हजारमा मा प्रेरा/प्रतिष्टा/मुन्ना एण्ड आचार्य जेभी चयन भएको छ। राखेपले मंसिर १८ गते गोरखापत्रमा मैदान निर्माणका लागि टेण्डर आह्वान गरेको थियो। 

टेण्डर प्रकिया अनुसार चयन गरेको कम्पनीको नाममा दाबी विरोध नभएको खण्डमा सूचना प्रकाशित मितिले आठौं दिनमा कम्पनीसँग सम्झौता हुनेछ। सम्झौता भएको १७ महिनामा काम सकिसक्नुपर्नेछ।

ठेक्का र निर्माण प्रक्रिया अवरुद्ध नभएको खण्डमा डेढ वर्षपछि अर्थात् २०७३ जेठसम्ममा नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भइसक्नेछ।

नेपाली टिम जब-जब ठूला प्रतियोगिता जितेर स्वदेश फर्किन्छ, तब-तब क्रिकेट मैदानको निर्माणको रट लाग्ने गर्छ। पछिल्लोपटक मलेसियामा भएको आइसीसी विश्व क्रिकेट डिभिजन ३ जितेर नेपाली टोली फर्किँदा विमानस्थलमा क्रिकेट फ्यानहरुले 'डिभिजन दुई पाइयो, क्रिकेट मैदान चाइयो' भन्दै नारा लगाएका थिए।

मुलपानी क्रिकेट ग्राउण्ड प्रोजेक्ट हेरिरहेका इन्जिनियर विश्वामित्र सञ्जेलले क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको एकदिवसीय क्रिकेट मैदानको स्तरकै निर्माण हुने बताए। 'अहिले पहिलो चरणमा मैदान, मैदानको वरीपरिको नाला र तीनवटा प्यारापिट बन्नेछ,' सञ्जेलले पहिलोपोस्टसँग भने, 'पहिलोचरणको निर्माण सकिँदा यसको क्षमता १५ सय दर्शक अट्ने हुनेछ।'

उनका अनुसार यो क्रिकेट मैदान ७५ यार्डको हुनेछ। उनले अन्तर्राष्ट्रिय गाइडलाइनलाई 'फलो' गरेरै क्रिकेट मैदान निर्माण गरिने बताए। पुर्ण मैदान निर्माणका लागि अझै पनि जग्गा मुआब्जा प्रक्रिया मै छ।

अहिले पनि नेपाल क्रिकेट एसोशियन (क्यान)ले मैदान सम्याउने तथा पिचको काम गरिरहेको छ। मुलपानी मैदानमा तारबार लगाउने काम भइसकेको छ। मैदानको एकभागमा एउटा बिल्डिङ बनिसकेको छ र क्यानको अफिस पनि मुलपानीमै छ।

ठूला प्रतियोगिता जिते पनि देशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान नभएकोमा क्रिकेट खेलाडी र प्रशंसकहरुको गुनासो रहने गरेको छ।नामिबियामा माघको पहिलो हप्ताबाट सुरु हुने आइसीसी डिभिजन दुईको तयारीका लागि यतिबेला नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकामा छ। नेपालमै रहँदा नेपाली क्रिकेट टोलीले किर्तिपुर मैदानमा अभ्यास गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell