PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भ्यागुताको धार्नी बनाउन हामी लाग्दैनौं : प्रकाशशरण महत



भ्यागुताको धार्नी बनाउन हामी लाग्दैनौं : प्रकाशशरण महत

काठमाडौँ : सत्ता परिवर्तनको विषयले मुलुकको राजनीतिक सरगर्मी ह्वात्तै बढाएको छ। सत्तासाझेदार नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई सरकार छाड्ने विषयमा निर्णय लिन जिम्मेबारी दिएको छ। प्रचण्डको हातमा सत्ताको चावी रहे पनि त्यसको पृष्ठभूमिमा सक्रिय छ सबैभन्दा ठूलो दल तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस। कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुबीचको सम्वादमा सक्रिय गराएका छन् नेता प्रकाशशरण महतलाई। महतले विभिन्न राजनीतिक दलहरुसँगको छलफल र वार्ता अघि बढाइरहेका छन्। सरकार परिवर्तनका लागि के भइरहेको छ त? महतसँग सरोज काफ्लेमनोज सत्यालको अन्तर्वार्ता
 

सरकार परिवर्तनका लागि माओवादीहरुले तपाईँहरुसँग पक्कै छलफल गरेको होला। चाँडै परिवर्तन हुन्छ भनिएको छ। कहिले हुन्छ?

सरकार परिवर्तनको कुरा आएपछि जेठ पहिलो साता कांग्रेससँग प्रचण्डजीले छलफल गर्नुभएको हो। उहाँले त्यसबेला 'हामी यो सरकारसँग सन्तुष्ट छैनौँ। काम कारवाही चित्त बुझिराखेको छैन। यसको विकल्प जरुरी छ र म यसको नेतृत्व गर्न चाहान्छु। केपी ओलीजीले भन्दा म राम्रो गर्छु एकपटकलाइ मलाई अवसर दिनुहोस्,' भन्नुभयो।

हामी विपक्षी दल ओली सरकारको काम कारवाहीबाट सन्तुष्ट छैनौँ। त्यो अवस्थामा उहाँलाई समर्थनको संकेत दियौं। त्यसको भोलिपल्ट उहाँ पछि हट्नुभयो। के कारणले पछि हट्नुभयो उहाँलाई नै थाहा होला। नेकपा एमाले र उहाँहरुबीच गोप्य सम्झौता भएको बाहिर आयो। 'असार १५ सम्म सरकार चलाउन दिनुहोस् अनि तपाइलाईँ दिउँला भनेको थियो,' भनेर माओवादी नेताहरु भन्छन्।

हामी सरकारसँग असन्तुष्ट छौँ। भूकम्प पीडित, महङ्गी तथा परराष्ट्र सम्बन्ध ह्याण्डल गर्ने र मधेस केन्द्रीत दलले उठाएका विषयमा सम्बोधन गर्ने सवालदेखि संविधान कार्यान्वयनको विषयसम्म प्रधानमन्त्री ओलीका कुरा धेरै आउँछन् तर काम केही हुँदैन। तर हाम्रो असन्तुष्टिले मात्रै यो सरकार रहने र नरहने होइन। संवैधानिक व्यवस्था अनुसार जसले बहुमत हासिल गर्छ त्यो सत्तामा रहिरहन्छ।
सरकारको विकल्पको कुरा त्यतिबेला हुन्छ जतिखेर ओलीजीले आफैँ महसुस गर्नुहुन्छ कि 'मेरो नेतृत्वमा संविधान कार्यान्वयन हुँदैन, अरु काम पनि हुन्न म नेतृत्वबाट पछि हट्छु' भन्नुपर्‍यो। दोश्रो त्यसलाई समर्थन गर्ने दलहरुले उहाँलाई 'तपाईँ नहट्दा हामी हट्छौ' भनेको अवस्थामा यो सरकार बहुमत गुमाउँछ। त्यतिखेर विकल्प खोजिन्छ। त्यस्तो बेलामा कांग्रेसले नेतृत्व गर्ने वा अरुको नेतृत्वमा जाने अथवा सहमतिको सरकारको बनाउने वा बहुमतीय सरकार बनाउने कुरा आउँछ।
 

कांग्रेससँग सहमति नभई माओवादीले सत्ता परिवर्तनको कुरा त उठाउन सक्दैन नि?

हामीले त उहाँहरुलाई जेठ पहिलो साता पछि फेरि सार्वजनिक रुपमा र व्यक्तिगत रुपमा पनि अब हिजोको जसरी समर्थन कसैलाई दिन वा लिन सक्दैनौँ भनिसक्यौं।

प्रचण्डको समर्थनमा पनि हामी तयार हुदैनौं। न उहाँ वा अरु कसैलाइ समर्थन गर्न सक्छौं। जब यो सरकार नरहने अवस्था स्वभाविक रुपमा बन्छ त्यो अवस्थामा यो विषयमा छलफल गर्न सकिने विषय भनिराखेका छौँ।
 

सरकार छाड्ने विषयमा माओवादीले सरकारसँग जुन कुरा गरेको छ त्यो त कांग्रेसको पनि अजेण्डा हो। सत्ताबाट बाहिरिन कांग्रेसले दिएको बटमलाइनमा माओवादीले कुरा अगाडि बढाएको हो?

हामी यो सरकारसँग असन्तुष्ट भएर विपक्षमा छौँ। यो सरकारमा ज्वाइन गर्न सक्दैनौँ। ‌ओलीजीले भनिराख्नुभएको छ 'यही सरकारमा आउनुस् सहमतिको गरौँ' भनेर। हामी त्यसो गर्न सक्दैनौं।

अब सरकारमा बसिराखेको पार्टी त माओवादी हो। सरकारबाट बाहिरिएको स्थितिमा हामीले विकल्पको कुरा गर्छौं। हामी जेठ पहिलो साताको स्थितिपछि आफैँ धुँवादार पहल गरेर हट्नुस्, निस्कनुस् या यो दिउँला र त्यो दिउँला भन्ने परिस्थितिमा छैनौँ। उहाँको पहलमा यसरी जाउँ भन्ने प्रस्ताव आए हामीले सोच विचार गर्न भने सक्छौं।
 

माओवादीले सरकार छाड्न सक्ने निर्णय गरेको छ। तपाईँहरुलाई कति विश्वास छ?

उहाँहरुको निर्णय त सहमतिको सरकार बनाउने भन्ने छ। ओलीजीले पनि सहमतिको सरकार बनाउने भन्नुहुन्छ, प्रचण्डजीले पनि भन्नुहुन्छ। सहमतिको सरकारका लागि पहल गर्ने भन्ने नौलो कुरा भएन। जबसम्म उहाँहरु त्यहाँ (सरकार) बाट निस्कनहुन्न सहमतिको सरकारको विकल्प खोज्ने परिस्थिति नै बन्दैन। तर, माओवादीको जुन निर्णय छ, त्यो नयाँ कुरा होइन।
 

के त्यसो भए केपी ओलीलाइ दबाद दिने रणनीती मात्र हो त?

जेठ पहिलो साता त त्यस्तै देखियो। कांग्रेससँग मिलेर सरकार बनाउने कुरा गर्नुभयो। हामीले प्रधानमन्त्रीको सम्म संकेत गरेको थियौँ। असार १५ गतेपछि ओलीजीले नै बनाउँछु भन्नुभयो। तर बनाएनन्। धोका भयो भनिरहनु भएको छ प्रचण्डले। त्यतिबेला एमाले र ओलीजीकै समर्थनमा प्रचण्ड बन्ने कुरा भएछ। अहिले पनि त्यही नभएर होला।
 

अहिले सरकार ढल्दा कांग्रेसले के जेठ पहिलो साता प्रचण्डलाइ दिने भनेको पोजिसन यथावत रहन्छ?

स्वभाविक रुपमा सबैभन्दा ठूलो पार्टी भएकाले देशमा स्थिरता र जति पनि समस्य छन् तिनको समाधान गर्न कांग्रेस नेतृत्व आवश्यक छ। यद्यपि नेतृत्वले वैकल्पिक परिस्थितिमा अन्यथा निर्णय गर्‍यो भने मैले भन्न नसक्ने कुरा हो। सामान्यतय सबैभन्दा ठूलो पार्टी हुनु, सबैभन्दा धेरै सांसद जनताबाट निर्वाचित हुनु दुर्भाग्य जस्तो भयो। जति सानो दल, जति कम संख्या उति सत्तामा सेयर भइरहेको छ। यसरी समस्या समाधान हुँदैन। स्वभाविकरुपमा नेतृत्व भनेको कांग्रेसकै हुनुपर्छ। समस्या समाधान गर्न कांग्रेस नेतृत्व आवश्यक छ।
 

कांग्रेसले नेतृत्व दिन्छ कि दिँदैन भन्ने डरमा प्रचण्ड देखिन्छन् नि?

यो उहाँले बुझ्ने कुरा हो। उहाँकै मुल्याङ्कनको विषय। मुल कुरा डर वा खुसी भन्दा पनि कसरी देशको समस्या समाधान हुने र कसरी संविधान कार्यान्वयनमा लैजाने भन्ने हो। प्रधानमन्त्री बन्ने मात्र मुल मुद्दा बनाएर जानु हुँदैन।

ओली सरकारले ठीक गरेनन् भन्दाभन्दै पनि 'तेश्रो ठूलो दललाई ल बन्नुस् गर्न सक्नुहुन्छ भने गर्नुस्' भन्नुको कारण समस्या समाधान नै थियो। उहाँले पनि अहिले त्यहि मानसिकताबाट हेर्नुपर्‍यो। आफू नै हुनुपर्नेलाई प्रमुख विषय नबनाएर समस्या समाधान गर्ने विषय केन्द्रबिन्दुमा राख्न जरुरी छ।
 

कांग्रेसको टार्गेट ओली सरकार ढाल्ने हो कि कांग्रेस नेतृत्वमा बनाउने हो?

ढलाउने भन्ने शब्दमा नजाउँ। ढल्छ भने आफ्नै कारण सत्ता समिकरणले ढल्ने हो। कांग्रेसले ढाल्न कुनै प्रयास गरिरहेको छैनौँ। यो सरकार ढल्छ भने सरकारमा बसेका दल बीचको कन्ट्र्याडिक्सनले ढल्छ। अकर्मण्डयताले ढल्छ। हामी हतारमा छैनौं। कसरी र कसलाई के आश्वासन दिएर ढाल्न सकिन्छ वा आफ्नो पक्षमा ल्याउन सकिन्छ भन्नेमा हामी छैनौं।
 

एमाले र माओवादी केन्द्रले राष्ट्रिय सहमति भनिराखेको छ। तर, कांग्रेसले भने सहमतिमा जोड दिइराखेको छैन नि?

यसअघिको सरकार पनि राष्ट्रिय सहमतिको थिएन। माओवादी बाहिर थियो। विपक्षमा रहनु राम्रो पनि हो। तर सहमति सरकार हुँदै हुँदैन भन्ने कांग्रेस मान्यता छैन।

अहिले त्यसको सम्भावना छैन। २०६२ साल पछि एमालेको मान्यता जसरी पनि सत्तामा रहनुपर्छ भन्ने छ। हाम्रो त्यो मान्यता छैन। हामी पटकपटक बाहिर छौँ। एमाले कांग्रेस, माओवादी र आफ्नै नेतृत्वमा सधै सत्तामा छ। सत्ता बाहिर हुनुपर्ने अवस्था बन्यो भने उहाँहरु सरकारमा जाने कुरा गर्नुहुन्छ। सहमति सरकार भन्नुहुन्छ। उहाँहरु सत्तामा रहने अवस्था हुन्छ भनेमात्र यस्ता दृष्टिकोण आउँछन्।

यद्यपि हामी यो पनि भनेका छैनौं कि सहमतीय सरकार हुनै सक्दैन या हुनै पर्दैन। संविधान कार्यान्वयन जटिल भएकाले सबै मूख्य पार्टीको सहयोग जरुरी छ, सत्ता साझेदारीले सहज हुन्छ भने त्यो प्लस पोइन्ट हो भन्ने हामी सबैले स्वीकार गरेको हो।

सहमतीय सरकारमा पर्खाल लगाएको छैन। तर, विकल्प खोज्दा बहुमत सरकार बन्यो भने पनि बहमुत सरकार बन्न हुँदैनथ्यो भन्नेमा हामी छैनौं। जसरी हामी बहुमत सरकारलाई संविधान कार्यान्वयमा सहयोग गर्ने पक्षमा छौँ त्यसैगरि जो विपक्षमा रहन्छ त्यसले पनि सहयोग गर्नुपर्छ।
 

देउवाको दिल्ली भ्रमण लगत्तै जेठ पहिलो साता सरकार परिवर्तनको विषय आयो। माओवादी केन्द्र यु टर्न हुनुमा चिनियाँ भूमिका छ भनियो। अहिले किन अन्तर्राष्ट्रिय रुपमा सरकार परिवर्तन खेलमा संलग्नता र चासो छ?

सभापति शेरबहादुर देउवाजी श्रीमती आरजु देउवाको अपरेसनका कारण भारत पुग्नु भएको हो। त्यो 'को इन्सडेन्ट' थियो। बजेट नआउँदै सरकार हटाउने भनेर प्रचण्डजी अगाडि सर्नुभयो। त्यो कुनै भारतले भनेर भएको कुरा थिएन। अब प्रचण्डजी किन सरकार परिवर्तनको पोजिसनबाट परिवर्तन हुनुभयो त्यो त उहाँले ज्यादा जवाफ दिन सक्नुहुन्छ। हल्ला आएको छ तर त्यसको अवस्था भन्न सकिन्न।

अहिले पनि बाहिरको चासोको कुरा केही छैन। हामी आफैंले सरकार गिरोस् भनेर लागेकै छैनौं। त्यसैले कसले भनेर, के भनेर भन्ने कुरा आउँदैन नि। त्यसको पक्षमा पनि छैनौं। प्रचण्डजी आफैँले 'ओलीजीले मेरो सहमति पूरा गरेनन्' भनेर छोडनु भयो भने उहाँको आफ्नो निर्णय हुन्छ। त्यो अवस्थामा विकल्प कसरी खोज्ने ? ठूलो दल भएकाले हामी हात बाँधेर बस्छौँ भन्ने छैन।
 

माओवादीले सरकार छाड्न विगतमा द्वन्द्वकालीन घटनाको विषयको साहारा लियो। कांग्रेसको पनि चासो त्यसमा देखिन्छ। दुवैलाई मिलनबन्दु कतै द्वन्दवकालीन विषयले त गराएको त होइन?

 
द्वन्द्वकालीन विषयमा हामी लामो समय देखि 'इन्फरमल गुप्रिङ'मा छौँ। काम गरिराखेका छौँ। बेपत्ता छानविन र सत्य निरुपण आयोग बनेको छ, यसमा जघन्य अपराध टालटुल गरेर छोपछाप गर्न सकिन्न। उनीहरु सजायको भागी हुनुपर्छ। दोश्रो जो युद्धमा सहभागी भए, क्षति भएकालाई मेलमिलाप र न्युनतम क्षतिपूर्तिको मान्यतामा समझदारी र मेलमिलाप श्रृजना गर्ने हो। आयोगले काम गरिराखेको छ, हाम्रो एप्रोच र दृष्टिकोण यहि नै हुने हो। दोषी को देखिन्छ अन्तर्राष्ट्रिय र आयोगले पनि हेरिराखेको छ। यही सिन्द्धान्तभित्र रहेर माओवादीसँगको सम्बन्ध परिभाषित हुने हो।

के द्वन्दवकालीन विषयलाई लिएर दुवै पार्टीको गठबन्धन त बन्दैछैन? किनभने एमाले यो विषयबाट बाहिर छ।

सत्ता साझेदार हुन् भनेर हामी नहुने कुराको आश्वासन गर्न सक्दैनौँ। तर जानाजान 'हामीलाई दु:ख दिएका थिए सिध्याउँ' भन्ने मानसिकतामा हामी छैनौँ। यो द्वन्द्वको च्याप्टर बन्द गर्नुपर्छ तर जघन्य घटनामा सजाय दिएर जानुपर्छ।
 

यो सरकारको आयु कति देख्नुहुन्छ?

आयु तोक्न मैले सक्दिन। यो सरकारले जति समय समर्थन जुटाएर राख्न सक्छ त्यति यसको आयु हो। हामीले तोक्ने कुरा होइन। हामी विपक्षमा छौँ र विपक्षमा मतदान गरेका पार्टी हौँ। बहुमत प्राप्त गर्न सहयोग गर्ने पार्टीको इन्ट्याक्ट रहँदासम्म आयु रहन्छ।  
 

किन सत्ता प्राप्तिको कांग्रेसको इच्छा घटेको हो र?

मान्छेहरुले भन्छन् सत्तामा धेरै बस्यो कांग्रेस। तर पछिल्लो समय आफ्नै कारणले सत्ता पाउने अवस्थामा समेत छाड्छ भन्ने आरोप छ। सायद नेपाली कांग्रेसलाई सत्तामा रुची नै नभएकाले ढाल्न वा आफू सामेल हुन वा सरकार हटाउन कोसिस गर्दैन भन्ने पनि छन्।
 

अब कांग्रेसले ओली सरकार हटाउन माओवादीसँग छलफलको पहल चाहिँ कसले गर्छ त?

माओवादीले 'इन्डिपेन्डेन्ट डिसिजन' गर्नुपर्छ। हामी कुनै विशेष प्रस्ताव लिएर यो पनि दिउँला त्यो पनि गरौंला भनेर अप्राकृतिक किसिमबाट खेल गर्नुहुन्न।
 

कांग्रेससँग एमाले र एमाओवादीबाहेक पनि सरकार बनाउन सक्ने समीकरण त बाँकी छ नि?

त्यो भ्यागुताको धार्नी बनाउन हामी लाग्दैनौं। त्यसमा लाग्ने भए हामी हिजै लागिसक्थ्यौँ।
 

विगतमा प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री स्वीकार गरेको कारण त यथावत् छ। तर आज पनि प्रचण्डको चाहना छ प्रधान्मन्त्री हुने। तपाईँहरु मानसिक रुपमा नेतृत्व दिन तयार हो कि हैन?

हामी पहिले नै यसो गर्छौं छाड्नुस् भन्दैनौं। स्वभाविक रुपमा ठूलो पार्टीका हिसाबले कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयनका काम र कार्यभार सहज हुन्छ। हामी अहिले वैकल्पिक सत्तामा बस्नका लागि यो गर्छौ र त्यो गर्छौ भन्ने अवस्थामा छैनौं।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell