PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राष्ट्रपतिले माफी दिइन् ज्यान मुद्दामा दोषी ठहरलाई



राष्ट्रपतिले माफी दिइन् ज्यान मुद्दामा दोषी ठहरलाई

काठमाडौँ : अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा चार वर्षअघि एक व्यापारीलाई गोली हानी हत्या गर्न खोजेको भन्दै ज्यान मुद्दामा दोषी ठहर भएका एक अपराधीलाई राष्ट्रपति विद्या भण्डारीले आज माफी दिएकी छिन्। 

हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद फैसला भएकोमा आधा सजाय मात्र भुक्तान गरी हाल अर्घाखाँची कारागारमा रहेका रुद्रप्रसाद पराजुलीलाई बाँकी कैद सजाय प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार माफी भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ। 

राष्ट्रपतिले सामान्यतया दशैँ, गणतन्त्र दिवस आदि अवसरमा कैदीहरुको बाँकी सजाय माफ गर्ने प्रचलन भए पनि असार २० गते बिना कुनै अवसर र पर्व माफीको निर्णय गरेको हो। 

को हुन् पराजुली?

२०६९ फागुनमा सन्धिखर्कमा सुनचाँदी व्यवसायी संघका सचिवसमेत रहेका व्यापारी ताराबहादुर सुनारमाथि सन्धिखर्क गोरुसिंगे सडक अन्तर्गत नरपानीको जंगलमा गोली प्रहार भयो। 

सुनारको बायाँ छातीको तल्लो भागमा गोली लाग्यो। सन्धिखर्क बजार पूरै सनसनी मच्चियो। प्रहरीले घटना भएको दुई घण्टाभित्र  कपिलवस्तु तिलौराकोट वर्मेली टोलका २५ वर्षीय सागर भन्ने राजु आचार्य र सँगै गएका अर्घाखाँची पोखराथोकका २४ वर्षीय विमल भन्ने लक्ष्मण सुनारलाई पक्राउ गर्न सफल भयो।   

राजु र लक्ष्मणले रुद्रले पेस्तोल दिएको र तारामाथि आक्रमण गर्न लगाएको प्रहरीको बयानमा बताए। त्यसपछि प्रहरीले रुद्रलाई पनि पक्रेर अनुसन्धान अगाडि बढायो।  

रुद्र र तारा दुवै  सन्धिखर्क मिडिया चोकमा एउटै घरको जोडिएको दुई वटा सटरमा व्यापार गर्दै आएका थिए । तारासँग लिएको ऋणका कारण रुद्रले उनको हत्या गर्ने षड्यन्त्र गरेको प्रहरी अनुसन्धानको ठहर थियो। 

घटनास्थलबाट प्रहरीले इटालियन ९९ एमएस न पेस्तोल, एक गोली, २ मिस फायर गोली र एक खोका, नगद ४ लाख ६५ हजार सहित सुन तौल्ने मेसिन र धातुकाटने औजार बरामद गर्योे। 

यो घटनाको मुख्य योजनाकार रुद्रप्रसाद पराजुली रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। अदालतले त्यसलाई सदर गर्दै कैद सजाय सुनाएको हो।

रुद्रसँगै पक्राउ परेका दुई जना यतिखेर जेलमै छन् भने नेताहरुको नेक्सस प्रयोग गरी योजनाकार राष्ट्रपतिबाट माफी पाउन सफल भए। 

कार्यकर्ता कारबाही गर्नुपर्छ भन्ने, सरकार माफी दिने 

घटनालगत्तै नेकपा एमाले अर्घाखॉचीका अध्यक्ष चेतनारायण आचार्यले एक प्रेस विज्ञप्ती जारी आफना पार्टीका कार्यकतालाई हत्या गर्ने योजनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको थियो। तर अहिले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिश अनुसार राष्ट्रपति विद्या भण्डारीले माफी दिएकी छिन्। (फोटो साभार : अर्घाखाँची डट कम)





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell