PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'बिकिनी बेब' हयात यसरी बनिन् फ्रान्सकी मोस्ट वान्टेड



'बिकिनी बेब' हयात यसरी बनिन् फ्रान्सकी मोस्ट वान्टेड

काठमाडौं : पारदर्शी बिकिनीमा प्रेमीको कम्मर समाइरहेकी २६ वर्षे यी युवती यतिबेला फ्रान्सको सुरक्षा निकायको 'मोस्ट वान्टेड' अपराधी हुन्। हिजोआज बिना बुर्का नहिँड्ने यी 'खतरनाक' युवतीको बिकिनीदेखि बुर्कासम्म र सामान्य क्यासिअर पेसादेखि जिहादी लडाकुसम्मको यात्रा कम्ति भयानक छैन। ‍

फ्रान्सको राजधानी पेरिसबाट ३४ किलोमिटर दूरीमा रहेको एक सुपरमार्केटमा पसलेहरुलाई बन्धक बनाउने हयात बोउमेड्डिएने जब कडा सुरक्षा घेरा तोडेर फरार भइन्, प्रहरीसमेत चकित बन्यो। बन्धक बनाउनेहरु साँझको प्रार्थना गरिरहेको मौका छोपेर गरिएको प्रहरी कारबाहीमा मारिएका आफ्ना प्रेमीको शव छोडेर उनी प्रहरीलाई छक्याउँदै सुरक्षा घेराबाट उम्किएकी थिइन्।

त्यतिमात्र हैन, बिहीबार नै उनले एकजना महिला प्रहरीको हत्या गरेकी थिइन्। सुपरमार्केटमा बन्धकमा रहेका चारजनाले पनि ज्यान गुमाएका छन्।

प्रहरी अहिले यी २६ वर्षकी आतंककारीलाई खोजिरहेको छ, जो आफ्ना प्रेमीका लागि मार्न र मर्न तयार भइन्। फ्रान्सको राजधानी पेरिसमा तीन दिनसम्म आतंक मच्चाउने मध्ये तीनजना प्रहरी कारबाहीमा मारिए पनि बोउमेड्डिएनेलाई खोज्ने प्रहरीको मिसन जारी छ।  

बोउमेड्डिएनेका ३२ वर्षीय प्रेमी एमेडी कोउलीबलीसहित तीन आतंककारी प्रहरी कारबाहीमा मारिएका छन्। कोउलीबली तिनै तीन आतंककारी मध्येका एक हुन्, जसले ४८ घण्टासम्म राजधानी पेरिसमा रक्तपात मच्चाए र पुरै फ्रान्सलाई आतंकित बनाइदिए।

'खतरनाक र हातहतियारसहित'

प्रहरीले उनी खतरनाक र हातहतियारसहित भएको विश्वास गरेको छ। अमेरिकी अधिकारीहरुका अनुसार उनी शंकास्पद आतंककारीको लिस्टमा थिइन्।

गोली हानाहान र विष्फोटका बीच फ्रान्सको सुरक्षा निकायले राजधानी पेरिसको सेरोफेरोमा भएको तीन दिन लामो आतंकको अन्त्य गरे पनि अवस्था अझै सामान्य छैन। अल्पसंख्यक मुसलमानहरुमाथि समेत आक्रमणहरु सुरु भएका छन्। शुक्रबार एक मुसलमानको हत्या भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

४ वर्षको प्रतिक्षा

सन् २००९ अघि कोउलीबली जेलमा थिए। कहिल्यै बिना बुर्का नदेखिने बोउमेड्डिएनेले उनलाई चार वर्षसम्म कुरेर बसेकी थिइन्।
हातहतियारसहित लुटापाटको घटनामा जेल पुगेका कोउलीबली जब जेलमुक्त भए, उनीहरुको धार्मिक परम्पराअनुसार 'विवाह' समेत भयो। त्यतिबेला बोउमेड्डिएने क्यासियर थिइन्।

सार्वजनिक समारोहमा हुने विवाहलाई मात्र फ्रान्समा कानुनी मान्यता दिइन्छ तर यो आतंककारी जोडीको त्यसखालको विवाह भएको छैन।

शान्त मुहारमा लुकेको विद्रोह


त्यसो त उनी सन् २०१० मा प्रहरीको केरकारमा परेकी थिइन्। तर शान्त मुहारकी उनी सजिलै छुटिन्। प्रहरी सोधपुछका क्रममा उनले श्रीमानको प्रेरणाबाट आफूले प्रशस्त धार्मिक पुस्तकहरु पढ्ने गरेको बताएकी थिइन्।

'जब अमेरिकाले आफ्ना बम्बरहरु पठाएर प्यालेस्टाइन्, इराक, अफगानिस्तान लगायतका देशमा निर्दोषहरुको नरसंहार गर्छ, म आफैलाई सोध्छु, खासमा आतंककारी को हो?', आतंकवादका बारेमा सोधिएको एक प्रश्नमा उनले प्रहरीलाई जवाफ दिएकी थिइन्, 'अमेरिकाले निर्दोषलाई मारिरहँदा आफ्ना महिला र बालबालिकाको सुरक्षा गर्नु मान्छेहरुको अधिकार हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell