PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​बाबुआमा विदेशमा, छोरो फस्यो कूलतमा, यस्तो छ सन्देशको जीवन सन्देश

​बाबुआमा विदेशमा, छोरो फस्यो कूलतमा, यस्तो छ सन्देशको जीवन सन्देश

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : कक्षा ६ मा पढ्दा पढ्दै सन्देश श्रेष्ठको उठ्बस त्यस्ता साथीहरुसँग हुन थाल्यो जो कुलतमा थिए। साथीहरुकै लहलहैमा सन्देशले चुरोटको धुँवासँगै आफ्नो भविष्य र स्वास्थ्य दुवै खरानी बनाउन थाले। १२ वर्षका उनको नरम हातले चुरोटको खिल्ली समाउन थालेपछि उनी बिस्तारै गँजडी बन्न पुगे। दोलखा घर भएका उनी भक्तपुरमा ठूलो बाबुसित बस्दै आएका थिए। उनका आमा बुबा भने इज्राइलमा पसिना बगाइरहेका थिए। वेपर्वाह साथीभाइसँग मस्त थिए उनी।

पढाइ छाडेर गाँजाको खोजीमा गाउँगाउँ जानु उनको दैनिक बन्न थाल्यो। देख्दा उनले गाँजा पिएको भए पनि यथार्थमा गाँजाले उनैलाई पिइरहेको थियो। नशाले गल्दै थिए उनी। चुरोटबाट सुरु भएको उनको दुर्व्यसनी यात्रा त्यहीमात्र रोकिएन। गाँजाबाट उनले पिल्स ट्याव्लेट हुँदै ब्राउन सुगर तान्न थालिसकेका थिए। इज्राइलमा रहेका बाबुआमासँग कपडा किन्ने, खाजा खाने, पढाइ खर्च भनेर लिएको पैसा अधिकांश उनको यस्तै नशामा खर्च हुन थाल्यो।

नशाको नशा यतिसम्म लाग्यो कि विदेशबाट पठाएको पैसाले पुग्न छाड्यो। त्यसपछि उनी खर्च जोहो गर्न चोरीतिर सल्किए।

४ वर्षसम्म लागूऔषधको दुर्व्यसनमा फसेका सन्देश आइतबार सर्मथन नेपालमा भेटिए। उनी यहाँ आएको ८ महिना भइसक्यो। अहिले कक्षा १० मा पढिरहेका पनि छन्। हामीले उनलाई भेट्दा उनी 'विगतलाई सम्झेर पछुतो गरिरहेका' देखिए। अहिले उनी पढ्न चाहन्छन् र चाहन्छन् सफल क्रिकेटर बन्न। कुनै बेला कुलतमा फसेका उनी अहिले आफ्ना साथीलाई कहिल्यै पनि लागू औषध प्रयोग नगर्ने सल्लाह दिन्छन्।
 

भूकम्पले बनायो नशेवाज

३५ वर्षीय विकास श्रेष्ठको कथा झनै डर लाग्दो छ। ५२ सालदेखि उनले चुरोटबाट सुरु गरेको दुर्व्यसनी सिरिन्जसम्म पुगेको छ। आठ वर्षसम्म उनले लागू औषध प्रयोग गरे। त्यसको खर्च जुटाउन चोरी गर्न समेत पछि हटेनन् उनी।

उनले २०६३ सालदेखि सबै छोडेर सादा जीवन बिताउन थाले। गृहस्थ र व्यापारमा नै श्रेष्ठ रमाउँदै थिए। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले उनको घर भत्कायो। पत्नीले एउटा आँखा नै गुमाइन्। केही वर्षदेखि गर्दै आएको व्यवसाय पनि तहसनहन भयो।

दु:खमाथि दु:ख भएपछि उनी फेरि फर्किए पुरानै लततिर। क्षणिक आनन्द दिएपछि उनले दीर्घकालीन सुख भने पाएनन्। त्यसपछि उनी पनि सर्मथन नेपालको रिह्यावमा पुगे। अहिले उनलाई फेरि फर्केर पहिलेकै सुखमय जीवन बिताउने रहर छ।

रिह्याव सञ्चालक नविन श्रेष्ठको कथा पनि उस्तै छ। उनी आफैँ दुर्व्यसनीबाट निस्किएर यसका विरुद्ध जुटेका पात्र हुन्। ड्रग्सकै लागि उनले भान्जीको पैसासमेत चोरेका थिए। समाजको हेलाको पात्र बने उनी। पढाइ बिगारे, शरीर बिगारे, परिवारले हेर्ने दुष्टि फेरियो। अनि मात्र उनको घैटोमा घाम लाग्यो।

सरकारी तथ्याङ्क उनुसार १ लाख ३० हजारभन्दा बढी दुर्व्यसनी छन् मुलुकमा। महिला दुर्व्यसनीको सङ्ख्य झन्डै १० हजार माथि छ। यसमध्ये करिब ४० हजारको हाराहारीमा उपत्यकामा लागू औषध प्रयोग गर्ने रहेको तथ्याङ्क छ। १८ वर्ष देखि २५ वर्ष उमेर समूहका युवाको सङ्ख्या ७० प्रतिशतभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाउँछ। तर राजधानीमा नै रहेका ५० भन्दा बढी रियाज सेन्टरमा रहेको प्रयोगकर्ताको सङ्ख्या हेर्ने हो भने २ लाखभन्दा बढी लागू औषध प्रयोगकर्ता रहेको अनुमान गर्न सकिन्छ।


ट्रेन्डिङ पोस्ट

Ncell