PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्रीले बोल्छु भन्दा कांग्रेस नेताहरुले दिएनन्, आज पनि संसद अवरुद्ध



पहिलोपोस्ट

प्रधानमन्त्रीले बोल्छु भन्दा कांग्रेस नेताहरुले दिएनन्, आज पनि संसद अवरुद्ध

काठमाडौं : भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद अवरोध गरेको छ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले अब प्रधानमन्त्रीको सम्बोधनबाट पनि विश्वस्त हुन नसकिने भएकाले प्रतिपक्षको सहमतिमा नीतिगत आधार तयार गरेर घोषणा नगरेसम्म संसद चल्न नदिने बताए। भूकम्पपीडितलाई चार किस्तामा दुई लाख दिने निर्णय कांग्रेसको पालामा नभई १४ महिनाअघि नै भएको केसीले जिकिर गरे।

अफगानिस्तानको काबुल हमलामा मारिएका नेपाली र भूकम्पपीडितबारे बोल्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समय माग गरेका थिए। तर, कांग्रेसका सांसदहरु सदन अवरुद्ध गर्दै बाहिरिएपछि सभामुख ओनसरी घर्तीले एक घन्टाका लागि बैठक स्थगित गरेकी छन्।

'काबुल घटनाबाट हामी पनि निकै दु:खी छौं,' कांग्रेस नेता केसीले भने, 'तर लाखौं भूकम्पपीडितलाई अन्याय भइरहँदा हामी चुप लागेर बस्न सक्दैनौं।' काबुल घटनाप्रति सहानुभूति प्रकट गर्न खोजेर प्रधानमन्त्रीले आफूहरुको मागलाई बेवास्ता गर्न खोजेको उनले आरोप लगाए।

शुक्रबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैठकले भने निजी आवास अनुदान कार्यविधिमा आवश्यक संशोधन गरी पीडितलाई ५० हजार रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिसकेको छ। आंशिक क्षति भएका घरधनीलाई सो रकम दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell