PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बेकह्यामको डाइहार्ड फ्यान सिर्जना भन्छिन्- 'युरोमा भने स्पेनको समर्थक'



गोविन्दराज नेपाल

बेकह्यामको डाइहार्ड फ्यान सिर्जना भन्छिन्- 'युरोमा भने स्पेनको समर्थक'

काठमाडौं : पेसाले उनी इभेन्ट म्यानेजर र कोअर्डिनेटर हुन्। तर यति मात्रै भन्दा उनीमाथि न्याय नहोला। उनी डकुमेन्ट्रीहरुमा आर्टिस्टको रुपमा काम गर्छिन्। विभिन्न माध्यमबाट विज्ञापनमा देखिन्छन्। विशेषगरी फेसन इभेन्ट म्यानेजमेन्ट उनको मुख्य रोजाइ हो।
 
यति धेरै काममा व्यस्त हुँदाहुँदै पनि सिर्जना पोखरेल खेलकुदको समेत पारखी रहिछिन्। अहिले फ्रान्समा जारी युरोकपले खेलाडी र खेलकुद पारखीलाई जस्तै उनलाई पनि तानेको छ।
 
युरोकपको प्राय: खेलहरु रातको समयमा भइरहेको छ, तर सिर्जना आफूलाई मन परेको खेल मध्यरातमै भएपछि छुटाउँदिनन्। समय मिलाएर मुख्यमुख्य खेल हेरिरहेको उनी बताउँछिन्।

'प्राय: खेलहरु हेरिरहेको छु, घरमा हुँदा ड्याडी र भाइसँगै हेर्छु भने साथीहरुसँग भएको बेला ठमेलमा रहेको जर्सी स्पोर्टस् रेस्टुराँमा हेर्न जान्छु,' उनले सुनाइन्। राति हेर्न नभ्याएका खेलबारे भने हाइटलाइट्स हेरेर, इन्टरनेट वा फेसबुकमार्फत अपडेट हुन्छिन् उनी।
 
यस पटक युरोमा भने स्पेनको समर्थन गरिरहेको बताउने उनी इंगल्याण्डका पूर्व स्टार डेभिड बेकह्यामको फ्यान हुन्। 'स्पेनले र जर्मनीले राम्रो खेलिरहेको छ, मेरो समर्थनचाहिँ स्पेनलाई,' यी डाइहार्ड फ्यानले भनिन्, 'जिते पनि स्पेन हारे पनि स्पेन।' उनलाई मन पर्ने स्पेनका खेलाडीमा भने आन्द्रेस इनेस्टा हुन्।


खेलाडीमा भने डेभिड बेकह्यामको डाइहार्ड फ्यान रहिछिन् उनी। 'बेकह्याम आफ्नो जमानाका चर्चित खेलाडी हुन्,' उनले पहिलोपोस्टसँगको युरो विशेष कुराकानीमा कारण खुलाइन्, 'तर मलाई उनी खेलाडी मात्र नभएर एज ए ह्युमन बेकह्यामको व्यक्तित्व समेत मन पर्छ।'
 
यस संस्करणको युरो फाइनल गेम साथीहरुसँगै हेर्ने रहर छ उनको। 'सबै साथीहरुसँग रेस्टुराँमा गएर फाइनल हेर्दा झनै मजा हुन्छ,' सिर्जना भन्छिन्, 'बाहिर ठूलो पर्दामा हेर्नुको मज्जा नै बेग्लै।'

उनले त विगतका संस्करणमा साथीहरुसँग बेट पनि लगाएकी रहिछिन्।

'सन् २०१२ को युरो फाइनलमा स्पेन र इटलीको गेम हुँदा स्पेनको पक्षमा बेट लगाएको थिएँ,' उत्साही हुँदै उनले भनिन्,'उता स्पेनले जित्यो, यता मैले दुई हजार जितेँ।'

तर यो पटक भने अहिलेसम्म कोही आएका छैनन्, बेट लगाउने। 'अब आए भने निश्चय नै बेट लगाउनेछु र जित्नेछु,' उनमा विश्वास छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell