PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कथा : फाल्तु



कथा : फाल्तु

  • राजेन्द्र पराजुली
 
सपना सधैँ एक्लै देख्नुपर्दो रहेछ।
निरर्थक रहेछ संयुक्त सपनाको आकाङ्क्षा र प्रयत्न।
हामीले एउटै र उस्तै सपना देख्ने प्रण गर्‍यौँ। असङ्ख्य पटक दुरुस्त सपना देख्ने प्रयास गर्‍यौँ। तर अहँ कहिल्यै सफल भइएन।
 
असमान सपनाले केही समयपछि नै पोल्न थालेको थियो। सपनाहरूका बाटा फरक भएका थिए। फरक बाटोमा हिँडिरहेको सपना मसँग मिसिन आउनाले म बढी पोलिएको थिएँ। यो मेरो दाबी हो। को बढी पोलिएको छ भनेर नाप्ने कुनै यन्त्र भइदिएको भए, त्यसको तुलो मैतिर बढी ढल्कन्थ्यो। यो पनि मेरो दाबी नै हो।

उस्तै सपना देख्ने वाचा गर्ने उसलाई पनि दाबी गर्न मन त लाग्दो हो। दाबी गर्ने अधिकार उसको पनि सुरक्षित छ। तर सपनामा तुषारापात कसले बढी गर्‍यो? उसले कि मैले?
 
लोकतन्त्र छ मुलुकमा।
सार्वभौम छन् जनता, विधानमा उल्लेख छ। त्यसकारण पनि सपनाको अधिकार सुरक्षित छ। तर कसैलाई बेस्सरी कुराएर नआउने अधिकारचाहिँ कसैलाई पनि छैन। मान्छे हिँड्ने बाटोमा अवरोध गरी भाषण गर्ने अधिकार पनि कसैलाई छैन।
 
त्यस दिन शोभनाले मलाई धोका दिई। म कलङ्कीको चौबाटोमा तीन घन्टा उसलाई पर्खिरहेँ। तर ऊ आइन। लामो अन्तरालपछि मेरो सपनामाथि गरिएको ठूलो बलात्कार थियो त्यो। र, बलात्कारी थिई शोभना। मेरो मनको अदालतले उसलाई दोषी करार गरिदिएको थियो।
 
शोभना– अर्थात् मेरी पूर्वप्रेमिका। पुनर्जीवित हुन खोजेको प्रेम। अर्ध शतकको उमेरमा पुनः बौरिन पुगेको थियो हाम्रो प्रेम। उसबेला यो प्रेम ‘फाल्तु’ थिएन, ‘एक्स्ट्रा’ थिएन– अपरिहार्यजस्तै थियो। यसको रूप परिवर्तन भएको थियो। त्यो ‘एक्स्ट्रा लभ’ बन्न पुगेको थियो।
 
एक्स्ट्रा लभ अर्थात् अतिरिक्त मायाको खोजीको उपज थियो शोभनासँगको मेरो पुनः प्रेम। बूढेसकालमा किन आवश्यक परेको होला प्रेम? म आफैँलाई प्रश्न गर्छु। र, गाली पनि गर्छु आफैँलाई, आफ्नो लाचारीलाई।

आफैँलाई गरेको गालीको अवधि ५ मिनेट पनि टिक्दैन। म अलि जिद्दी स्वभावको छु।

त्यसैले अत्यन्तै स्वगाली अल्पकालिक हुन्छ। कतिपय स्वभाव आफैँलाई थाहा हुँदाहुँदै पनि फेर्न नसकिने रहेछ। ‘उसले पनि त एक्स्ट्रा लभ खोजिरहेकी रहिछ, नत्र एकैपटकमा मसँग किन घुम्न जान तयार हुन्थी! घुम्न, त्यो पनि एक रात दुई दिनका निम्ति! साँच्चै उसले घरमा परिवारसँग के भनेर मिलाइहोली? श्रीमान् र दुई छोरालाई कसरी ढाँटेकी होली?

त्यसमाथि उसको श्रीमान् त प्रहरी। झुक्याउन झनै गाह्रो। अपहरण र फिरौती माग्ने अपराधी पक्रनेमा विशेषज्ञता हासिल गरेको छ उसले। ठूल्ठूला अपहरणकारी समातेको छ उसले। सेलिब्रिटी इन्सपेक्टर हो ऊ।
 
मेरो पेसा पत्रकारिताका कारण ऊसँग केही पटक भेट भएको छ। कस्तो अप्ठेरो परिस्थिति! किन शोभनाले प्रहरीसँग बिहा गरेकी होली? मलाई ठ्याम्मै मन पर्दैन यो पेसा।
मेरो र शोभनाको सम्बन्ध उसले थाहा पायो भने! ‘गोली ठोकेर मार्ला बजियाले’ म झसङ्ग हुन्छु। कति गाह्रो होला शोभनालाई श्रीमानसँग ढाँट्न!
 
एक्स्ट्रा लभ खोज्नेले एक्स्ट्रा टेन्सन पनि त झेल्नु पर्‍यो नि! एक्स्ट्रा लभ चाहनेले सबैभन्दा बढी ढाँटछल गर्छन्, हाम्रो देशका नेताले भन्दा पनि बढी। राजनीतिबाट तिनले पनि एक्स्ट्रा फाइदा लिन्छन्, त्यसैले जतिसक्यो बढी ढाँट्छन्। ‘एक्स्ट्रा’ भन्ने विशेषण जोडिँदा ‘ढाँटछल’ पनि जोडिएरै आउँछ कि क्या हो! त्यसैले यो फाल्तु प्रेम नगरुँ भन्ने नै लाग्छ। तर कमजोरी न हो, मानवीय! शोभनासँग भेटेर छुट्टिएपछि ‘अबदेखि भो भेट्दिनँ’ भन्ने लाग्थ्यो। तर केही दिनपछि मेरो मन उत्ताउलो हुन थालिहाल्थ्यो।
 
त्यस दिन शोभनालाई ‘घरमा कसरी मिलायौ त इन्सपेक्टरसाबलाई’ भनेर प्रश्न सोध्न मलाई मनै लागेन। त्यस्तै प्रश्न मलाई पनि उसले गरी भने के भन्नु मैले! तर मलाई पुरुष हुनुको लाभ छ। सायद महिलाहरु पुरुषले लिएको एक्स्ट्रा लाभको विपक्षमा छन्। त्यसकै विरोधमा बेलाबखत आन्दोलन पनि गर्छन्। त्यसमाथि मलाई घरमा बहाना बनाउन पत्रकारिता पेसाले पनि साथ दिएको छ। ‘मिटिङ’ वा ‘रिपोर्टिङ’मा गएको थिएँ भन्दा पुग्छ। अझ ‘अन्तरवार्ता’मा थिएँ भन्दिएपछि टन्टै खलास हुन्छ।
 
मसँग कुर्नुको कुनै विकल्प थिएन। फोन गरुँ भने उसको श्रीमानले उठाउला भन्ने शंका वा डर! त्यसैले कुर्ने उपक्रम चल्यो। एक महिनाजति अघिको हाम्रो भेटको सम्झनालाई मैले कुर्ने बहाना बनाएँ।
 
कुर्ने उपक्रम जारी थियो।

ती दिन सम्झेर नोस्टाल्जिक नहुने हो भने त समय कटाउनै गाह्रो! त्यसमाथि कसैलाई कुर्नुजत्तिको रद्दी काम अरु के हुन सक्ला र! रद्दीमात्रै हो र ‘एक्स्ट्रा’ रद्दी!

झन्डै ३६ घन्टा मैले हामी दुईबीचको दुई दशकअघिको कुर्कुरे बैँसालु प्रेम र कलेज जीवनमा फर्कने प्रयास गरेँ उसको समीपमा रहँदा। हाम्रो प्रेम किन सफल भएन? किन उसले अर्को केटासँग बिहा गरी र किन मैले अर्कै केटीसँग जीवन बसाउने सोचेँ? र, हाम्रो अर्गानिक प्रेमका असफलता केलाउँदैमा त्यो समय बितेको थियो। असफल सपनाबारे ठूलो व्याख्यान साटासाट भयो त्यो समयमा। त्यो ३६ घन्टा मलाई ३६ मिनेटजस्तो पनि लागेको थिएन।
 
उसैलाई तीन घन्टा कुर्नुपर्दा भने मलाई तीन महिनाजस्तो लागिरहेको थियो। त्यस बेला समय किन त्यति नरम भइदिएको होला? सिमलरुपी समयका भुवा कति हल्का ढङ्गमा उडेका थिए त्यस दिन परपर आकाशमा! उज्यालो आकाश कत्ति छिटो अँध्यारो भएको थियो! होटेलको कोठाबाट हामी एक पटक पनि बाहिर निस्केनौँ। उमेर छिप्पिएका दुवै जना भएकाले होटेलवालाले पनि कुनै शंका गरेन। आगन्तुक दर्तापुस्तिकामा मैले हामी दुईको नाता ‘श्रीमान्–श्रीमती’ लेखिदिएको थिएँ।
 
झ्यालढोका बन्द गरेर हामी प्रेम गरिरह्यौँ। एकअर्कालाई सुनिरह्यौँ। सायद म धेरै बोलेको थिएँ। अब फेरि उस्तै सपना देख्न सकिएला कि भनेर उपायको खोज गर्‍यौँ हामीले। र, त्यसको जिम्मा भविष्यलाई छोड्यौँ।
 
मलाई उनीसँग छुट्टिनुपर्दा साह्रै नरमाइलो लागेको थियो। थप ३६ घन्टा दिनका निम्ति मैले आग्रह गरेको थिएँ। तर श्रीमान् रिसाउँछ भनेर शोभना मसँग छुट्टिएकी थिई। छुट्टिने बेलामा उसको पनि अनुहार मलिन थियो। यस्तो लाग्थ्यो, हामी पुनः कलेज जीवनमा फर्किएका थियौँ र हामीबीचको प्रेम भर्खर सुरु भएको थियो। जसरी उसले आफ्नो परिवार बिर्सेकी थिई, मैले पनि उसैगरी श्रीमती र दुई छोरीलाई चटक्कै बिर्सेको थिएँ। सबथोक बिर्सिएर यो एक्स्ट्राको खेतीमा लागेको थिएँ म।

अहिले मलाई लाग्दैछ, त्यो बिर्सनु पनि एउटा सपना नै थियो। केही समयका लागि आफ्नो समीपमा रहेको, नियन्त्रणमा रहेको सपना। क्रमशः सपना टुट्दै गयो, ऊ मसँग छुट्टिएर वास्तविक दुनियाँमा गई, म आफ्नोतिर।

अलि लामो अन्तरालपछि हाम्रो भेट्ने योजना बनेको थियो। अघिल्लो दिन फेसबुक च्याटमा यो योजना तय थियो। झन्डै तीन घन्टा हामीबीच च्याटिङ चलेको थियो अघिल्लो रात। म उसलाई प्रायः फोर्न गर्दैनथेँ। कहिलेकाहीँ उसले भने गर्थी। उसको फोन उठाउन मलाई कुनै रोकतोक थिएन। उही हो कारण, पुरुष हुनुको ‘एक्स्ट्रा’ फाइदा। उसको फोन आएपछि म मोबाइल बोकेर घरबाहिर निस्कन्थेँ।
 
मैले फोन गर्दा श्रीमानले उठाउन सक्ने खतरा छ भन्थी ऊ। त्यसकारण पनि हामी बढी मात्रामा च्याटमा कुरा गर्थ्यौँ। हामीबीचको सम्बन्ध पुनर्स्थापित गर्न पनि फेसबुककै अहम् भूमिका रह्यो।

मैले नै शोभनालाई फ्रेन्ड रिक्वेस्ट पठाएको हुँ। रिक्वेस्ट पठाएको केही मिनेटमै उसले एक्सेप्ट गरेकी थिई। त्यसपछि मोबाइल नम्बर आदानप्रदान अनि भेटघाटको सिलसिला। बितेका जिन्दगीका उकाली-ओरालीबारे अनुभव साटासाट। भोगिसकिएको दुःख पनि कहिलेकाहीँ सम्झँदा सुखजस्तो हुँदो रहेछ। हामी निकै नोस्टाल्जिक बनेका थियौँ।
 
तर, त्यस दिन ऊ किन आइन?

म रनभुल्लमा परेको थिएँ। चौथो घन्टामा चलिरहेको थियो, मेरो कुराइ। मध्याह्न १२ बजे तोकिएको थियो हाम्रो भेटघाटको समय। बितेको तीन घन्टा पनि मेरा निम्ति सुखद रहेको थिएन। ओभरहेड ब्रिजमा बसेर केही नेता भाषण गर्दै थिए। अन्तिम वक्ताले माइक समात्यो। त्यसले भाषणमा प्रयोग गरेका विषय सुन्दा ऊ वामपन्थी थियो भन्ने बुझिन्थ्यो। तर पुरातन वामपन्थी। नववामपन्थीहरु त काङ्ग्रेसभन्दा आधुनिक भइसकेका थिए।

वामपन्थी बुद्धिजीवीहरु आफूले अँगालेको सिद्धान्तलाई ‘उत्तरआधुनिक’ भन्न रुचाउँथे!

भद्दा थियो त्यो युवाको भाषण, उत्तरआधुनिक सिद्धान्तजस्तै।
युवा उमेर भएर पनि कुरा भने अठारौँ शताब्दीको कम्युनिस्टको जस्तो गरिरहेको थियो त्यो नेताले। मान्छे हिँड्ने बाटोमा अवरोध गरिरहेको थियो त्यो। फलस्वरुप बटुवाहरु गाडी गुड्ने सडकबाट हिँडिरहेका थिए। ट्राफिक जाम भएको थियो। वरिपरि झुम्मिएका सर्वसाधारणलाई सपना देखायो त्यसले। कत्ति सिपालु हुन् यी नेता सपनाको व्यवसाय गर्न? म छक्क परेको थिएँ। यति असम्भव सपना वितरण गरेको मैले त्यस दिनसम्म सुनेको थिइनँ। कैयौँ वामपन्थी नेतालाई भेटेको छु, तिनको अन्तरवार्ता गरेको छु। तर यति चर्को कुरा कसैले पनि गरेका थिएनन्।
 
‘यी अग्ला भवनहरु हाम्रा पसिनाले बनेका हुन्। तपाईंहरु झुपडीमा बसिरहनुभएको छ या घरवारहीन हुनुहुन्छ। अब यी अग्ला भवन भत्काएर तपाईंहरु आदरणीय गरिब जनताको जत्रै आकारमा ल्याउनुपर्छ। समान पार्नुपर्छ। खोस्नुपर्छ हाम्रा पसिनाले सिञ्चिएका यी महलहरु। यिनले शोषण गरेर जम्मा पारेको पैसा खोसेर सरकारले लिनुपर्छ र गरिबलाई बाँड्नुपर्छ। मुलुक सङ्घीयतामा गइसकेको छ। अब स्वायत्त प्रदेश भएपछि हाम्रो पार्टीले यो काम गर्नेछ। त्यसैले हामीलाई भोट दिनोस्, देशमा साम्यवाद ल्याउनुछ,’ नेता कलङ्की चोकका अग्ला भवनतिर चोर औँला ठड्याउँदै कुर्लिरहेको थियो, ‘हाम्रो क्षेत्र स्वायत्त प्रदेश भएपछि शासनसत्तामा गरिब जनता पुग्नेछन्। त्यस बेला धनी र गरिबबीचका गहिरा खाडल सबै पुरिनेछन्, सधैँसधैँका निम्ति । धनी र गरिबबीच कुनै भेद हुनेछैन। सबै जातिको हकअधिकार सुरक्षित हुनेछ। जातीय भेदभाव निमिट्यान्न हुनेछ। सबैका हातमा घर र जमिन हुनेछन्। बुर्जुवा शिक्षा हटेर प्रगतिशील तथा जनवादी शिक्षा लागू हुनेछ। त्यसका लागि यी शोषक, सामन्ती, धनी वर्गलाई हाम्रो राज्यबाट धपाउनुपर्नेछ।’
 
उसको भाषण सुनेर बेलाबेलामा थपडी बजाउने जमात ठूलो थियो त्यहाँ। उसले अग्ला घर भत्काउने कुरामात्रै गर्‍यो, तर साना घरलाई अग्लो बनाउनेबारे केही बोलेन।
 
मेरा आँखा भने शोभनातिरै थियो, कानमात्रै भाषणतर्फ गइरहेको थियो। त्यो नेता सपना त बाँडिरहेको थियो, तर वितरित सपनामाथि आफैँ बलात्कार पनि गरिरहेको थियो। त्यसको छनक भने सायद भाषणका अधिकांश स्रोताले पाउन सकेका थिएनन्। नेताहरुको तीन घन्टा लामो पट्यारलाग्दो भाषण सुनेर तिनले देशको अनुहार कस्तो बन्ने सपना देखे होलान्! अथवा ती आफू कुनै सपना देख्दैनन्, सपना पनि अरु कसैले देखाइदिनुपर्छ! जस्तो ओभरहेड ब्रिजमा भाषण गर्ने नेताहरुले तीन घन्टा सपना वितरण गरे, ती सपना कहाँ बनेका थिए भन्ने कुरा स्रोताले भेउ पाउन सकेका थिएनन्। 
 
सन्ध्याकालीन पत्रिका बेच्ने केटो चिच्यायो, 'लौ आयो आजको ताजा खबर। प्रहरी इन्सपेक्टरद्वारा गोली हानी श्रीमतीको हत्या।' उसले चिच्याइचिच्याई सोही समाचारको शीर्षक फलाकिरह्यो। त्यहाँका कतिपयले त्यो पत्रिका किने, धेरैले भने सित्तैमा हेरे। सित्तै पत्रिका हेर्न चाहनेलाई बिक्रेता केटोले आँखा तर्‍यो।

मेरो मनभित्र अनौठो प्रकारको चिसो पस्यो। शोभना आइपुगेकी थिइन। म प्रतीक्षारत थिएँ।

पत्रिका बेच्ने केटो चिच्यायो फेरि।

मैले पाँच रुपैयाँ तिरेर त्यो पत्रिका किनेँ। पत्रिकाको पहिलो पृष्ठमा छापिएको फोटो शोभनाकै थियो। र, श्रीमतीलाई गोली हान्ने इन्सपेक्टर शोभनाको श्रीमान्।

मलाई आफू उभिएको जमिन भासिँदै गएको अनुभव भयो। वरिपरि अन्धकार छाएको देख्न थालेँ। कलङ्की चोकका अग्ला घरहरु हल्लिन थाले। ती तत्कालै भत्किएर मलाई नै पुर्छन् झैँ लाग्न थाल्यो। छेउको रेलिङ नसमाती म उभिन नसक्ने अवस्थामा पुगेँ।

‘कतै यो मेरै कारण त भएको होइन?’ धेरै पटक आफूसँग यो प्रश्न सोधेँ मैले।

र, उत्तर मेरो विपक्षमा मेरै मनले दिइरहेको थियो।

(कथामा प्रयोग भएको स्केच hdwallpapersin.com बाट लिइएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell