PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अविरल वर्षासँगै आएको बाढीले बाँध भत्काउन थाल्यो, जोखिम बढ्न थालेपछि स्थानीय त्रसित



पहिलोपोस्ट

अविरल वर्षासँगै आएको बाढीले बाँध भत्काउन थाल्यो, जोखिम बढ्न थालेपछि स्थानीय त्रसित

लहान : अविरल वर्षासँगै तराईका विभिन्न ठाउँ प्रभावित भएका छन्। कतिपय ठाउँमा बाढीमा फसेका स्थानीयलाई उद्धार गरिएको छ भने कतै बाढीले निम्त्याउने जोखिमका कारण स्थानीय त्रासमा छन्।

अविरल वर्षापछिको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन्।

एक सातादेखिको वर्षाका कारण बिहानैदेखि घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेको हो। गाउँमा बाढी पस्ने भएकाले स्थानयवासी त्रसित बनेको गाविस सचिव हरिकृष्ण मैनालीले जानकारी दिए।
 
'बाढीले घुर्मी खोलाको बाँध टुटेको छ,' सचिव मैनालीले भने. 'जसका कारण गाविसको वार्ड नं ७ मा ठूलो क्षति पुर्‍याउन सक्ने सम्भावना देखिन्छ।'
 
सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले भने जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियरसहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिएका छन्।

अविरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ। सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालय लगायतका कार्यालयमा पानी जमेका कारण त्यहाँ आवतजावत प्रभावित बनेको छ।
 
यसअघि हिजो सिरहाको लहानस्थित बलान खोलाबाट प्रहरीले तीन जनालाई उद्धार गरेको थियो।
 
लहान नगरपालिका ४ स्थित सुकुम्बासी टोलछेउ बलान खोलामा आएको बाढीमा प्रवेश राम, छोटु अन्सारी र बैधनाथ पासमान फसेका थिए।
इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरीक्षक राजकुमार केसीको कमाण्डमा गएको टोली र सशस्त्र प्रहरी नायव उपरीक्षक लिलाराम पुनको नेतृत्वको टोलीले उनीहरुलाई उद्धार गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell