PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इयुबाट बेलायत बाहिरिने जनादेश, पाउन्ड ३१ वर्षकै तल, नेपालमा के असर?



इयुबाट बेलायत बाहिरिने जनादेश, पाउन्ड ३१ वर्षकै तल, नेपालमा के असर?

काठमाडौँ: २८ देशको समूह युरोपियन युनियनबाट बेलायत बाहिरिने लगभग तय भएको छ। बिहीबार भएको जनमत संग्रहमा बेलायत इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भयो भने रहनुपर्छ भन्ने पक्षमा ४८ प्रतिशतले मतदान गरे।

लण्डन र स्कटल्याण्डमा इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान भए पनि उत्तरी बेलायतबाट भने इयुमा रहनु हुँदैन भन्ने पक्षमा मतदान भएको थियो। वेल्सले पनि इयुमा रहनु हुँदैन भन्ने पक्षमा मतदान गरेको थियो।

जनमत संग्रहको नतिजापछि बेलायत युरोपबाट बाहिरिने प्रक्रिया सुरु हुनेछ। कुल मतदातामध्ये एक करोड ५५ लाख ८० हजारले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक करोड ६६ लाख ८० हजारले बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए।

प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा धुँवाधार प्रचार गरेका थिए। युके इन्डिपेन्टेन्ट पार्टी (युकिप) का नेता नाइजेल फारजले इयु छाड्ने पक्षको लिड गरेका थिए। जुन क्याम्पेनमा उनलाई सफलता समेत हात लाग्यो।

युकिपले पछिल्लो २० वर्षदेखि बेलायतलाई युरोप छाड्न पर्ने पक्षमा आवाज उठाउँदै आएको छ।

पाउण्डमा गयो भुँइचालो

बेलायत इयुमा रहनुपर्छ र रहनु हुँदैन भन्ने पक्षमा कडा टक्कर थियो। परिणाम आउनु अघिका सबै एक्जिट पोलले बेलायत इयुमा रहने पक्षमा देखाएका थिए।

एक्जिट पोलको परिणामका कारण बेलायती मुद्रा पाउण्डमा खास असर परेको थिएन। तर जब परिणामहरु सार्वजनिक हुँदै गए तब बेलायती पाउण्डमा ठूलो भूँइचालो गयो। शुक्रवार पाउण्ड डलरको तुलनामा ११ प्रतिशतले अवमूल्यन भएको छ। पाउण्ड पछिल्लो ३१ वर्षको सबैभन्दा तल्लो तहमा पुगेको हो।

बिहिवार ब्रेक्जिटको परिणाम सार्वजनिक हुनु पहिले डेढ डलरबराबर एक पाउण्डको सटही दर थियो तर अब एक डलर ३५ सेन्टमै एक पाउण्ड साट्न सकिन्छ। पाउण्डमा आएको ठूलो गिरावटलाई ध्यानमा राख्दै त्यहाँको केन्द्रिय बैंक बैंक अफ इग्ल्याण्डले हस्तक्षेप गर्ने सम्भावना छ।

लेबर पार्टीका सांसद जाँन मैकडोनलले मुद्रा बजारलाई बैंक अफ इग्ल्याण्डले हस्तक्षेप गर्नुपर्ने बताए। सुरुवाती नतिजामा पाउण्ड युरोको तुलनामा तीन प्रतिशत मात्रै घटेको थियो तर अहिले भने यो साढे छ प्रतिशतसम्म गिरावट आएको छ।

भारतीय रुपैयाँ पनि झर्‍यो 

बेलायत युरोबाट बाहिरिएपछि त्यसको सिधा असर भारतीय मुद्रामा पनि परेको छ। परिणामपछि डलरको तुलनामा भारु ६६ पैसा तल झरेको छ। अब एक डलर खरिद गर्न ६७ रुपैयाँ ९१ पैसा खर्च गर्नुपर्ने हुन्छ। भारतीय केन्द्रीय बैंकले भारुको गिरावट रोक्न डलरको बिक्री बढाएको छ।

केन्द्रीय बैंकले सार्वजनिक क्षेत्रका बैंकमार्फत् डलर बेच्न थालेको हो। मार्च महिनापछि भारुमा आएको यो ठूलो गिरावट हो।

नेपाली रुपैयाँ पनि झर्‍यो 

ब्रेक्जिटको परिणाम आउनु अघि नै नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि एक डलरको रिफ्रेन्स दर १०७ रुपैयाँ ९६ पैसा तोकेको थियो। तर शुक्रवार परिणाम आएपछि एक डलर खरिद गर्न १०९ रुपैयाँ २० पैसासम्म खर्च गर्नुपर्ने भएको छ।

डलरको कारोवार गर्ने अधिकांश ठूला नेपाली बैंकले केन्द्रीय बैंकले तोकेको रिफ्रेन्स दरभन्दा एक रुपैयाँ २४ पैसाभन्दा बढीमा कारोवार गरिरहेका छन्।

विश्व बजारमा व्ल्याक फ्राइडे इयुबाट बेलायत बाहिरिएपछि विश्वको सेयर बजारमा हाहाकार मच्चिएको छ। बजार नखुलेका कारण बेलायतको सेयर बजारको रेस्पोन्स अहिलेसम्म आएको छैन् तर एसियाली बजार भने कालो शुक्रवारको रुपमा देखिएका छन्।

जापानको बेञ्चमार्क इन्डेक्स निक्केई आठ प्रतिशतले झरेको छ। निक्केइमा १२ सय अंकको गिरावट आएको छ भने हङकङको बेञ्चमार्क इन्डेक्स दुई प्रतिशत झरेर २०४५४ अंकमा आएको छ। हैंगसैंगमा एक हजार अंकको गिरावट आएको छ।

त्यसैगरी चीनको बेञ्चमार्क इन्डेक्स ०.५० अंकको गिरावटसहित २८७७ अंकमा झरेको छ। भारतको सेसेक्स पनि ९४० अंकको गिरावटसहित खुलेको थियो। तर पछि २१५ अंक रिकभर गरेको छ। त्यसैगरी निफ्टी पनि ३०० अंकको गिरवाटसहित खुलेको थियो अहिले त्यसमा ७० अंकको रिकभर भएको छ।  

सुन चाँदीको भाउ बढ्यो

​युरोपेली संघबाट बेलायत बाहिरिने मतादेश प्राप्त भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुन महँगिदा नेपालमा पनि तोलामा ३ हजार रुपैयाँ बढेको छ। चाँदीमा पनि भारी वृद्धि भएको छ।   

सुन तोलाको ३ हजार रुपैयाँ बढेर ५९ हजार रुपैयाँ पुगेको छ। चाँदी पनि ३० रुपैयाँ बढेर ८२० रुपैयाँ तोला पुगेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell