PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पूर्वसञ्चारमन्त्री मिनेन्द्र रिजालले भने- 'अनलाइन सञ्चारमाध्यम निर्देशिका खारेज गरौं'



पहिलोपोस्ट

पूर्वसञ्चारमन्त्री मिनेन्द्र रिजालले भने- 'अनलाइन सञ्चारमाध्यम निर्देशिका खारेज गरौं'

 काठमाडौं : पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सरकारले गत जेठ ३० मा जारी गरेको अनलाइन सञ्चारमाध्याम निर्देशिका खारेज हुनुपर्ने बताएका छन्।
 
नेपाल प्रेस युनियनको डिजिटल विभागले आज काठमाडौंमा गरेको 'अनलाइन सञ्चारमाध्यम निर्देशिका २०७३ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता' विषयक अन्तर्क्रियामा नेता रिजालले सरकारले संविधानकै उल्लंघन गरेकाले निर्देशिका खारेजीको अर्को विकल्प नभएको बताए।
 
'सरकारले जारी गरेको यो निर्देशिका तत्काल खारेज हुनुपर्छ,' उनले भने, 'त्यसको एउटा मात्र लजिक के हो भने सरकारले सुशासन ऐनमा टेकेर यो निर्देशिका जारी गरेको छ।' उनले अनलाइन मिडिया हो कि होइन? भनेर प्रश्न गर्दै मिडियालाई सुशासन ऐनले निर्देशित गर्न नसक्ने बताए।
 
अनलाइन बन्द गर्नका लागि तत्कालीन गृहमन्त्रीले सरकारमा छँदा नै पटकपटक दबाब दिने गरेको रिजालले खुलासा समेत गरे। 'एउटा अनलाइनलाई त बन्द गर्नका लागि गृहबाट पत्राचार भइसकेको रहेछ,' उनले भने, 'त्यो कुरा थाहा पाएपछि मिडियालाई बन्द गर्ने शासन व्यवस्थामा हामी छैनौं र संविधानले पनि त्यो अधिकार दिँदैन भन्दै मैले रोकेको थिएँ।'
 
उनले गृहमन्त्री र अनलाइनको नाम नलिए पनि त्यति बेला गृहमन्त्री बामदेव गौतम थिए भने उनले बन्द गर्नका लागि पत्रचार गरेको अनलाइन काठमाडौं टुडे डटकम थियो।
 
'त्यही अनलाइनले मेरैविरुद्ध धेरैपटक समाचार बनाएर प्रस्तुत गरेको थियो,' रिजालले भने, 'तर मैले मेराविरुद्ध पनि अभिव्यक्ति स्वतन्त्रताको संरक्षण आफ्नो कर्तव्य ठानेर त्यस्तो निर्णय लिएको हुँ।' रिजालले त्यसबाहेक पनि पटकपटक नेताहरुले कहिले पत्रिका, कहिले एफएम रेडियो त कहिले अनलाइन बन्द गर्न मन्त्रीले आफूलाई दबाब दिएको बताए।
 
'म कान्तिपुर पत्रिकादेखि इमेज च्यानलसम्म अनलाइनमा हेर्छु, अब कुन मिडिया अनलाइनभन्दा बाहिर छ?' रिजालले भने, 'तर अहिलेको सरकारले अनलाइनलाई सुशासन ऐनमा राखेर छुट्टाउने कदम उठाएर आफ्नो असलियत देखाइरहेको छ।'
उनले पत्रकारिताले कुनै राजनीतिक वादभन्दा पनि निष्पक्षताको अपेक्षा गर्ने भन्दै पत्रकार महासंघको नेतृत्व कसैका लागि भने लागिपर्नु विडम्बना भएको बताए।

'सबै मिडियालाई नियमन गर्ने कानुन ल्याउन लाग्दा तयारीमै अवरोध गर्ने पत्रकार महासंघको नेतृत्वले मेरो नेतृत्वबाट केही अपेक्षा गर्ने नसकिने भनेर फेसबुकदेखि मिडियाको प्रयोग गरे,' उनले भने, 'अहिले आएर प्रस्ट भयो कि उहाँहरुको विश्वास कस्तो नेतृत्वमा रहेछ भनेर।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell