PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पतिको प्रतीक्षामा जेनिसा : विस्फोटमा घाइते अमृतले अघिल्लो दिन गरेका थिए फोन



मनोज सत्याल

पतिको प्रतीक्षामा जेनिसा : विस्फोटमा घाइते अमृतले अघिल्लो दिन गरेका थिए फोन

अमृत रोकाया क्षेत्रीले आइतबार साँझ फोन गर्दै पत्नी जेनिसासँग पारिवारिक कुराकानी गरेका थिए। भोलिपल्ट बिहानै ड्युटीमा जाने जानकारी दिँदै उनले सोधे, ‘घरमा सबैले खाना खएको हो?’

परिवारको अवस्थाबारे अघिल्लो दिन जानकारी लिएका उनी भोलिपल्ट भने अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलाका घाइते हुन पुगे।

सात वर्ष अफगानिस्तान बसेपछि एक वर्ष नेपालमै रहेका उनी पाँच महिना अघिमात्र अफगानिस्तान उडेका थिए। डायन कर्प कम्पनीमा सुरक्षा गार्डको जागिरको अवसर आएपछि उनी ८ वर्षको छोरा र पत्नीलाई छाडेर असुरक्षित गन्तव्यको रुपमा रहेको अफगानिस्तान उडेका थिए।
 
सोमबार बिहान ५ बजेर ४० मिनेटमा काममा जाँदै गर्दा रोकाय आत्मघाती हमलाको निशानामा परे। उनी अहिले अफगानिस्तानको अस्पतालमा उपचाररत छन्। घटनामा परी १२ जना नेपालीले ज्यान गुमाएका छन्। रोकाय भने भाग्यले बाँचेका छन्।
 
उनले अमेरिकी समाचार संस्था एपीलाई भनेका छन्, 'म ठीक छु । म घर फर्कनेछु।'
 
पति आत्मघाती बम हमलाबाट घाइते बनेको समाचार पत्नी जेनिशाले भने दिउँसो १२ बजे मात्र थाहा पाइन्। उनले स्थानीय रेडियोमा खबर सुनेपछि विश्वास नै नलागेको बताइन्। तर नाम नै सार्वजनिक भएपछि भने उनले पत्याइन्।

पहिलोपोस्टसँग उनले भनिन्, 'अझैसम्म कुराकानी भएको छैन। घाइते हुनु भएको छ रे भन्ने मात्रै सुनेको छु।'
 
रोकायसँगै ५ नेपाली घटनामा घाइते छन्। परराष्ट्र मन्त्री समेत रहेका उपप्रधान मन्त्री कमल थापाले मृतक र घाइतेका परिवारसँग समन्वयका लागि  सम्पर्क व्यक्ति तोक्ने संसदमा बताएका छन्।

तर रोकाय सरकारी निकायबाट कुनै खबर नपाएकोमा दुखित् छिन्।

'खै सरकारको तर्फबाट त कुनै सम्पर्क भएको छैन सर',’  उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell