PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आसाममा महाकवि देवकोटामाथि अन्तर्राष्ट्रिय गोष्ठी



आसाममा महाकवि देवकोटामाथि अन्तर्राष्ट्रिय गोष्ठी
फोटोः मदन पुरस्कार पुस्तकालय/फ्लिकर

  • संजीव दाहाल- 
आसामः महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि भारतको आसाममा अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना हुँदैछ। आसाम राज्यको राजधानी सहर गुवाहाटीमा ‘ह्युमानिज्म् अफ महाकवि देवकोटा’ अर्थात् महाकवि देवकोटाको मानवतावाद शीर्षकमा गोष्ठी हुने भएको हो।

गोष्ठीको आयोजना गुवाहाटीको सामाजिक सांस्कृतिक संगठन ‘सयपत्री संक्रीत्यकला संगम’ले गर्दैछ। संगठनका अध्यक्ष तथा गुवाहाटीका उद्योगपति कृष्ण भुजेलकाअनुसार नेपालीभाषी मात्रै नभएर गैर नेपाली भाषीहरूबीच पनि महाकवि देवकोटाको मानवतावादी दृष्टिकोण प्रकाश पारेर उनलाई यस भूमिमा पनि परिचित गराउनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा नेपालबाट समालोचक डा. गोविन्दराज भट्टराई उपस्थिति हुनेछन्।
 
पुस २६ मा सुरु हुने कार्यक्रमको अध्यक्षता सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख डा. कविता लामाले गर्नेछिन्।

प्रख्यात नेपाली उपन्यासकार बसाईंका लेखक लिलबहादुर क्षत्रीले गोष्ठीको उदघाटन गर्नेछन्। कार्यक्रममा भारतीय गोर्खा जगतका जातीय चिन्तक, नाट्यभुषण सीके श्रेष्ठको कविता संकलन ‘वनमारा’ पनि विमोचन गरिनेछ।
 
पहिलो सत्रको कार्यक्रममा दार्जिलिंग जिल्लाको कलेबुंगको बसिबियाँलो टोलीका  लगभग ३५ जना सहभागीहरूले मञ्चमा सामुहिक गीत, कविता वाचन गर्नेछन्। त्यस्तै डुवर्सका गजल गीत गायक अजय थापा, कलेबुंगकी लोक गीत गायिका निर्मला पौड्याल, नवोदित गायिका ज्योति गजमेर, संजु गजमेर आदिले जातीय रागको गीत प्रस्तुत गर्नेछन्।

कार्यक्रमको दोस्रो चरणको अध्यक्षता काशी हिन्दु विश्वविद्यालयका रिडर डा. दिवाकर प्रधानले गर्नेछन्। यसमा नेपालका अतिथि साहित्यकार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्दराज भट्टराई तथा डा बलराम अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्।

सयपत्री संक्रीत्यकला संगमले गुवाहाटी सहरको देवकोटा नगरमा सन् २०१० मा महाकवि देवकोटाको शालिक पनि स्थापना गरिसकेको छ। संस्थाले प्रत्येक वर्ष भव्य रूपमा देवकोटा जयन्ती मनाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell